पद्मनारायण चौधरीलाई सिरहाको स्थानीय तहको संख्या तय गर्ने जिम्मेवारी

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सम्बन्धमा प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले आज सिरहा, धनुषा र महोत्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ । सिंहरबारस्थित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा भएको उक्त छलफलमा स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनका सम्बन्धमा जिल्लामा देखिएका गुनासो हल गर्ने बारेमा कुराकानी भएको थियो ।

छलफलमा अधिकाँश सांसदले स्थानीय तहको सङ्ख्या थप गरेर भए पनि जनताका गुनासो समाधान गर्नुपर्ने आवश्यकता औंल्याए । स्थानीय तह पुनःसंरचनाबारे स्थानीयस्तरमा व्यापक छलफल गर्न नसक्दा समस्या देखिएको बताउँदै उनीहरुले जनसङ्ख्या र भूगोलका आधारमा पुनःसंरचना हुनुपर्नेमा जोड दिए ।

छलफलमा सिरहाबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद् एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादव, नेकपा (माओवादी केन्द्र)का सांसद एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायक, नेपाली कांग्रेसका सांसदहरु पद्ममनारायण चौधरी र अमियकुमार यादव तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धानो महरा सहभागी थिए।

त्यस्तै धनुषाबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद दिनेशप्रसाद परसैला यादव, रामकृष्ण यादव, प्रेमकिसोर प्रसाद साह तेली, महेन्द्र यादव र मुक्ताकुमारी यादव, नेकपा (माओवादी केन्द्र)का प्रतीक्षा तिवारी मुखिया र रामसिंह यादव तथा नेकपा (माले)का शिवचन्द्र चौधरी छलफलमा सहभागी थिए।

यसैगरी छलफलमा महोत्तरीबाट नेपाली कांग्रेसका सांसद किरण यादव, सीताराम भण्डारी र सङ्गीता मण्डल (धानुक), नेकपा (एमाले)का दीपनारायण साह, नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेल, लालेन्द्रकुमार मण्डल र निशा कुमारी साह, सङ्घीय समाजवादी फोरमबाट डा शिवजी यादव तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुशीलकुमार श्रेष्ठ सहभागी थिए।

विकल्पसहितको सुझाव दिनोस्ः मन्त्री पाण्डे
सो अवसरमा समितिका संयोजक एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आ आफ्ना जिल्लाका गुनासा समाधान गर्न सहयोग पुग्ने विकल्पसहितको सुझाव दिन सांसदलाई आग्रह गरे। समितिका सदस्य एवम् उद्योगमन्त्री नवीन्द्रराज जोशीले सबै सांसदले छलफल गरेर दिएको सुझावले गुनासा सम्बोधन गर्न सहयोग मिल्ने बताए।

छलफलले प्रत्येक जिल्लाको पुनःसंरचनासम्बन्धी गुनासाको हल गर्नका लागि विकल्पसहितको सुझाव दिन जिल्लास्तरीय संयोजक तोकेको छ। सिरहाबाट पद्ममनारायण चौधरी, धनुषाबाट आनन्दप्रसाद ढुङ्गाना र महोत्तरीबाट सीताराम भण्डारीलाई संयोजक तोकिएको छ। उनीहरुलाई भोलि अपराह्नभित्र जिल्लाका गुनासा समाधान गर्ने विकल्पसहितको सुझाव दिन अनुरोध गरिएको समितिका संयोजक एवम् स्थानीय विकासमन्त्री पाण्डेले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.