थारु मुद्दा बलियो बनाउन नयाँ शक्तिसँग एकीकरण गरेकी हुँ : सांसद गंगा चौधरी

भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी परित्याग गरी थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गरेकी सांसद गंगा चौधरी अन्ततः नयाँ शक्तिमा समाहित भएकी छन्। नयाँ पार्टी खोलेको ५२ दिनपछि सांसद चौधरीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेकी छन्। एकीकरणसँगै नयाँ शक्ति नेपालले संसदमा प्रतिनिधित्व जनाउने भएको छ। चौधरी नयाँ शक्तिको संसदीय दलका नेतासमेत भएकी छन्।

सोमबार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यलय बबरमहलमा गरिएको कार्यक्रममा नयाँ शक्ति पार्टी र थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक)का केन्द्रीय सदस्यहरूले संयुक्तरुपमा हस्ताक्ष गरी दुई पार्टी एकीकण भएको घोषणा गरेका थिए। एकीकृत पार्टीको नाम नयाँ शक्ति पार्टी नेपाल नै रहने भएको छ।

गंगा चौधरीले नयाँ शक्तिका संयोजक भट्टराईले थारुको मुद्दा उठाउने प्रतिबद्धता गरेकाले पार्टी एकीकरण गरेको खुलाइन्। ‘थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) र नयाँ शक्ति पार्टीबीच एकीकण भएको छ । हामीले उठाउँदै आएको मुद्दा अब नयाँ शक्तिले उठाउने भएको छ,’ चौधरीले भनिन्।

उनले आफ्नो पार्टीको अवधारणा पनि साझा मुद्दा भएको पार्टीहरुसँग सहकार्य गरेर अघि बढ्ने रहेको हुँदा एकीकरण गरेको बताइन्। एकीकरण हुनुको अर्को कारण थ्रेस होल्ड पनि रहेको उनले बताइन्। न्युनतम थ्रेसहोल्डले पनि साना पार्टीको अस्तित्व नरहने हुँदा साझा मुद्दा मिल्ने नयाँ शक्तिसँग सहकार्य गर्न पुगेको उनले बताइन्। ‘नयाँ शक्ति पार्टीसँग एकीकरण गरेर कुनै नराम्रो काम गरेको छैन,’ सांसद चौधरीले थारुवानसँग भनिन्, ‘बरु थारुका मुद्दालाई उठान गर्न यसले थप बल पुग्नेछ।’

उनले वर्तमान सरकार निर्माण गर्न सहयोगसमेत गरेकी थिइन्। संसदमा प्रधानमन्त्रीको चुनाव हुँदा उनी पुष्पकमल दाहालको पक्षमा उभिएकी थिइन्। ‘अब नयाँ शक्ति पार्टी सत्ता पक्षीय पनि भएको छ,’ चौधरीले भनिन्, ‘यो सरकार निर्माण गर्न मैले सहयोग गरेकी छु।’

नयाँ शक्ति पार्टीसँग एकीकरण भएसँगै थरुहट पार्टीका ९ केन्द्रीय सदस्य अब नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी परिषद्को सदस्यमा मनोनय भएका छन्। चौधरी पनि कार्यकारी परिषद्को सदस्य भएकी छन्।

थरुहट तराई पार्टी नेपालले गत पुस १० गते केन्द्रीय उपाध्यक्षसमेत रहेका सांसद चौधरीलाई पार्टीबाट निष्काषन गरेको थियो। पार्टीको विधि, विधान, नियमावली, घोषणापत्र, निर्णय, नीति निर्देशन विपरित कार्य गरेको भन्दै पार्टीबाट निष्काषन गरेको अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा उल्लेख थियो।

लगत्तै उनले नयाँ पार्टी गठन गरेकी थिइन्। थारुवानसँगको कुराकानीमा उनले पार्टीले आफूमाथि विभेद् गरेको आरोप लगाएक थिइन्।

Leave a Reply

Your email address will not be published.