शान्ता चौधरीज्यू, तपाईँ कहिलेसम्म एमालेमा कमलरी बस्नुहुन्छ ?

Shanta Chaudhary

पूर्व मानीनय शान्ता चौधरीज्यू,

तपाईंलगायत केही एमालेवादी थारु अगुवा, नेता, पत्रकारको अगुवाइमा दाङमा सदभाव र्‍याली निकालेको खबर पाउँदा ज्यादै दुःखी लाग्यो। यो पत्र सबैको लागि भए पनि तपाईँको लागि विशेष भनेर कोर्दैछु। किनभने तपाईं अरुभन्दा थारुको पीडा बढी बुझेको र भोगेका मेरो बुझाइ छ। त्यो सदभाव र्‍याली केका लागि थियो? थारुले समाजमा सदभाव बिगारेको हो? थरुहट आन्दोलनले कतै कुनै समुदायमाथि आक्रमण गरेको छ?

जवाफ चाहियो शान्ताजी। थारुले आफ्नो पहिचान, अधिकार र हक माग्दा कसरी सदभाव बिग्रन्छ?

यो सदभाव र्‍याली गर्नुको कुनै तुक छैन। यो र्‍याली थरुहट आन्दोलन विरुद्धको र्‍याली हो भन्ने मेरो बुझाइ छ। इतिहास नै केलाउने हो भने दाङ त थारु राजाको राज्य हो। यदि तपाईँले आन्दोलन भाँड्न सदभाव र्‍याली निकाल्नुभएको हो भने तपाईँ थारुको सपूत होइन।

यो र्‍यालीलाई मैले थारुभित्रका कपूतहरुको र्‍याली भनेर चित्रण गरेको छु। यो र्‍याली थारुको पहिचान, हक र अधिकार माग्नेहरुको कदापि हुन सक्दैन।

तपाईँ पहिलोपटक सभासद हुनुभयो। त्यतिबेला लागेको थियो, एमालेले सही ब्यक्तिलाई सभासद बनायो। तर सभासद् भइसकेपछि कमलरीका निम्ति के गर्नुभयो? जसको परिणाम चुनावमा पछारिनु पर्‍यो। बल्ल बुझ्न थालेको छु। सायद त्यो पद एमालेको चाकरीबाट पाउनुभएको होला। त्यो पनि एमालेमा कमलरी बन्ने सर्तमा।

हामी ठूलो भ्रममा थियौं, शान्ता चौधरीज्यू अब कमलरी मुक्त हुनुभएको छ भनेर। बल्ल बुझ्दैछौं, शान्ता चौधरीज्यू त एमालेमा कमलरी बन्न पो गएकी रहिछन्। एमालेबाट थारुको भोट ठेक्का पो लिनुभएको रहेछ, जस्तै बैजनाथले लिएका छन्।

सरकारले घोषणा गरेपनि थारुका चेली अर्थात् कमलरी अझै मुक्त भएका छैनन्। तर तपाईँले सबै थारुलाई नै कमलरी बनाउन लागिपर्नु भएको रहेछ। अच्चम्म लाग्दैछ मलाई, थारुलाई कमैया र कमलरी बनाउनहरुलाई कसरी साथ दिँदै हुनुहुन्छ। उसको आदेशमा कसरी थरुहट आन्दोलन बिथोल्दै हुनुहुन्छ।

सम्पूर्ण थारुलाई कमलरी र कमैया बनाउन खोज्दै गर्दा तपाईं आफू कमलरी हुँदाको पीडा कसरी भुल्नुभयो? प्रश्न गर्न मन लागिरहेको छ मलाई। के थारु र थरुहट आन्दोलन सम्प्रदायिक आन्दोलन हो? थरुहट आन्दोलनले थारुको छुट्टै राज्य मागेको छ? थरुहट भनेको त थारुको ऐतिहासिक भूमि हो। थारु पुर्खाले बनाएको जमिन हो। थारुको घर हो। थारुको पहिचान हो।

वर्षौंदेखि पहिचान गुमाएका थारुलाई आफ्नो पहिचान माग्ने हक छ कि छैन? थारुले थरुहट प्रदेशमा अरु समुदायलाई बस्न नदिने गरी आन्दोलन गरेको छ र? जातीय राज्य भनेको एउटै जात बस्ने, एउटै जातको मान्छे हरेक पदमा रहने हो। तर थारुहरुले त्यस्तो प्रदेशक कहिल्यै मागेको छैन।

थारु-मधेसीलाई बिहारी भन्नेहरु सम्प्रदायिक नहुने तर हक, अधिकार र गुमेको पहिचान माग्नेलाई सम्प्रदायिक देख्‍ने? थारुको सीमाको बाँध फुट्दा तपाईँले उनीहरुलाई कसरी अपराधि देख्‍नुभयो?

तपाईँको बोली किन बन्द थियो, जब तपाईँका जमिन्दार झलनाथ खनालले थारु-मधेसीलाई धोती प्रदेश भन्दा, ओलीले थारुलाई आतंककारी भनिरहँदा? तिनीहरु जेभन्दा पनि राष्ट्रवादी अनि हक, अधिकार माग्दा थारुचाहिँ आतंककारी?

Sanjay Tharuथारुको अस्तित्व धरापमा पर्दा आन्दोलनले तपाईँजस्ता अगुवाको खाँचो महसुस गरेको थियो। तपाईँको साथ-समर्थन चाहिएको थियो। तर तपाईँले समर्थन गर्नुको साटो उल्टै विरोधमा उत्रिनुभयो। तपाईँका हर्कत, तपाईँका अभिब्यक्ति देखेर ममात्र होइन, थारु समुदाय नै अच्चम्मित भएका छन्।

तपाईँका व्यक्तिगत कुरा गर्न मन थिएन। तर तपाईँ आफैं त्यसबारे सार्वजनिक अभिब्यक्ति दिइसक्नुभएको छ। र, पनि यसले तपाईँका मन दुखाउँदा माफी चाहन्छु। सौता आउँदाका पीडा म बुझ्न सक्छु। तर तपाईँले थारु आन्दोलनमा सौता राख्‍ने प्रयास गर्दै हुनुहुन्छ।

फेरि पनि प्रश्‍न गर्न मन लाग्छ- तपाईँ कहिलेसम्म एमालेमा कमलरी बस्नुहुन्छ? त्यसैले थारुको इतिहासमा दलालको भूमिका निर्वाह गर्न छोड्नुस्। कसैको इसारामा चलेको तपाईँलाई सुहाउँदैन। पैसा र पदको लोभले थारुको भविष्य अन्धकार नपार्न अनुरोध गर्छु। वास्तविकरुपमा कमलरी मुक्त हुनुस्।

सन्जय थारु

थारु विद्यार्थी समाज

Leave a Reply

Your email address will not be published.