एमालेले बारामा २० हजार जनता उतार्दै

नागेन्द्र चौधरी/बारा।

नेकपा एमालेको बारा कमिटीले मेची-महाकाली अभियानअन्तर्गत जिल्लाको जितपुरमा हुने आमसभामा २० हजार बढी जनता उतार्ने निर्णय गरेको छ। कलैयामा भएको कमिटीको बैठकले ‘फागुन २७ गते जितपुर जाउँ मेची महाकाली अभियान सफल पारौं नारासहित विशाल आमसभा गर्ने निर्णय गरेको हो।

बैठकले संविधान कार्यन्वयनका लागि तत्काल स्थानीय निर्वाचनको मिति घोषण गर्न सरकारसँग माग गर्दै सरकारले अघि बढाएको काठमाडौं निजगढ द्रूतमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण, हुलाकी सडक लगायतका राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्याइएको बजेट खर्च गर्न र निर्माणकार्य तत्काल सुरु गर्न माग गरेको एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले जानकारी दिए।

बैठकले नेकपा एमालेले उठाएका एजेन्डा मधेसको पक्षमा रहेको निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले मधेसको विकासका लागि दिएको ५० करोड रकम र सीमासँग जोडिएका गाविसहरुको विकासका लागि सीमा विशेष कार्यक्रमसहित सामाजिक सुरक्षा भत्ता वृद्धिजस्ता जनप्रिय कार्य गरेको भन्दै पार्टी तराई मधेसका जनताका पक्षमै रहेको निर्णय गरेको छ।

नेकपा एमाले बाराका अध्यक्ष सुन्दर विकको सभापतित्वमा सम्पन्न बैठकमा पोलिटब्युरो सदस्य एवम प्रदेश नं २ का सहसंयोजक नागेन्द्र चौधरी, बारा जिल्ला इन्चार्ज सांसद बलवीर चौधरी, केन्द्रीय सदस्य दिनेश राई, सांसद पुरुषोतम पौडेल, केन्द्रीय सलाहकार सदस्य अच्युत मैनाली, प्रदेश नं २ का सदस्य भरत खड्का, सुरेन्द्र यादव, पलट चौधरी, कल्याणी चौधरी, विक्रम महरालगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published.