टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव

टीकापुरमा भइरहेको थरुहट/थारुवान राष्ट्रिय सम्मेलनमा संविधान संशोधनसहित थरुहट प्रदेशका लागि फेरि आन्दोलन गर्नुपर्ने मुद्दा प्रस्ताव गरिएको छ ।

आइतबार सुरु भएको बन्दसत्रमा अधिकारका लागि शान्तिपूर्ण आन्दोलनको प्रस्ताव गरिएकाे हो। बन्दसत्रमा मुलुकभरीका एक हजार थारु अगुवाहरु सहभागी छन्। बन्दसत्रमा थरुहट प्रदेशका लागि आन्दोलनको विकल्प नभएकोमा एकमत देखिएका छन्।

आन्दोलनका लागि आवश्यक पर्ने संगठनको नामाकरणका लागि पनि प्रस्ताव गरिएको छ। त्यससँगै आन्दोलनका लागि आवश्यक पर्ने जनशक्ति, आवश्यक पर्ने संगठन र आन्दोलनका चरणका बारेमा पनि छलफल भइरहेको छ।

०७२ भदौ ७ गते थरुहट आन्दोलनका क्रममा एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएपछि थरुहट आन्दोलन सेलाएको थियो। उक्त दिनलाई थरुहट बिद्रोहका रुपमा मान्दै टीकापुरमा सम्मेलन गरिएको हो।

सम्मेलन तयारी संयोजक मीनराज चौधरीले थरुहट आन्दोलन, अबको बाटो र आन्दोलनका चरणबारे प्रस्ताव पेश गरेका छन्। उनले पहिलो चरणमा थरुहट प्रदेशका लागि शान्तिपूर्ण आन्दोलन गर्ने प्रस्ताव पेश गरेका छन्।

दोस्रो चरणमा थारु बहुल क्षेत्रमा शान्तिपूर्ण प्रर्दशन, आमसभा लगायतका कार्यक्रमहरु गरिने उनले बताए। तेस्रो चरणमा थरुहट बिरोधीहरुलाई सामाजिक बहिष्कारदेखि संघर्षका कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ।

उक्त प्रस्तावमा बन्दसत्रमा सहभागी थारु अगुवाहरुले आफ्नो धारणा राखिरहेका छन्। बन्दसत्रले पास गरेको निर्णयका आधारमा थरुहट आन्दोलनको बाटो तय हुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published.