प्रधानमन्त्री कोइरालाद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं- राष्ट्रपति रामवरण यादवले नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन्। सो समारोहमा उपराष्ट्रपति परमानन्द झा, कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र सभाध्यक्ष सूर्यबहादुर थापा उपस्थित थिए।
समारोहमा पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्दको पनि उपस्थिति थियो। समारोहमा मन्त्रिपरिषद्का निवर्तमान अध्यक्ष खिलराज रेग्मी, पूर्वमन्त्रीहरू, सभासद्हरू, नेपाली काँग्रेसका उपसभापति, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारीहरू, कूटनीतिक नियोगका प्रमुखहरू, सरकारी उच्च पदस्थ अधिकारीहरू, सेना तथा प्रहरीका प्रमुख तथा पदाधिकारीहरू, वरिष्ठ पत्रकारहरू, विभिन्न राजनीतिक दलका प्रमुखहरू पनि उपस्थित थिए।
सोही समारोहमा नवनियुक्त प्रधानमन्त्री कोइरालाले नवनियुक्त मन्त्री डा रामशरण महतलाई पद तथा गोपनीयताको शपथ गराए।
समारोहमा पूर्व प्रधानमन्त्रीहरू, पूर्व अध्यक्ष तथा मन्त्रीहरू, विभिन्न पार्टीका अध्यक्षहरू, संवैधानिक अङ्गका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका पदाधिकारीहरूले नवनियुक्त प्रधानमन्त्रीलाई शुभकामना तथा बधाई ज्ञापन गर्नुका साथै आ–आफ्नो परिचय दिएका थिए। रासस

Leave a Reply

Your email address will not be published.