नारायणी र राप्ती नदीमा बाढीको सतह बढ्यो, सतर्क रहन प्रशासनको आग्रह

Narayani Pool

चितवन- लगातारको भारी वर्षाका कारण चितवनको राप्ती र नारायणी नदीमा बाढीको सतह अहिले चेतावनी नजिक पुगेको छ। जिल्ला विपद् व्यवस्थापन समिति चितवनका अनुसार बाढी बढ्ने क्रममा रहेकाले सतर्क हुन र हरेक सूचनाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरिएको छ।  जिल्ला विकास समितिका विपद् व्यवस्थापन स्रोत व्यक्ति बलराम लुइँटेलका अनुसार अहिले नारायण नदीमा बाढीको सतह ६ दशमलव ६६ मिटरमा पुगेको छ। नारायणीमा ६ दशमलव ८० मिटर आएमा चेतावनी तह मानेर सबैमा सूचना प्रवाह गरिन्छ भने आठ मिटर नाघेपछि खतराको सङ्केत मानिन्छ।

यस्तै चितवनको राप्ती नदीमा अहिले बाढीको सतह २ दशमलव ५ मिटर पुगेको जल तथा वर्षा मापन केन्द्र राप्तीका कर्मचारी बद्री ढकालले बताए। यहाँ पनि चेतावनी तह नजिक भएकाले विपद् व्यवस्थापन समितिलाई खबर गरिसकिएको उनले बताए।

यो नदीमा २ दशमलव ७ मिटर बाढीको सतह पुगेपछि चेतावनीको सङ्केत दिइन्छ भने ३ दलशमल ६९ मिटर बाढीको सतह पुगेपछि खतराको सङ्केतमा आपतकालीन कार्यक्रम सुरु गरिन्छ। अहिले पनि बाढीको सतह बढ्ने क्रममै रहेको वर्षा मापन केन्द्र देवघाटका कर्मचारी कृष्ण अधिकारीले बताए।

चितवनमा अहिले पनि भारी वर्षा जारी छ। बुधबार साँझदेखि चितवनलगायत आसपास क्षेत्रमा वर्षा रोकिएको छैन। जिल्ला विपद् व्यवस्थापन समितिले सबैतिर विपद् व्यवस्थापनसम्बन्धी विभिन्न उपसमितिलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जनाएको छ। गएको असार अन्तिम साता बाढीका कारण चितवनको माडीमा एक जनाको ज्यान गएको थियो। सो क्रममा यहाँ ६५० घर डुबानमा परेको थियो भने ४०० बिघा जमिन डुबाएको थियो। रासस

Leave a Reply

Your email address will not be published.