सम्मेलनमा ३८ गोरु

त्रिशुली- माघेसङ्क्रान्तिमा जुधाइने गोरु छनोटका लागि भन्दै आइतबार तारुकामा गोरु सम्मेलन भएको छ। सम्मेलनमा किसानले ३८ वटा गोरु ल्याएर प्रदर्शन गरे पनि गोरुको अन्तिम छनोट भने हुन सकेन। गोरुको क्षमता, लडाकुपन र जोस हेर्नका लागि जुधाउनुपर्ने भएकाले गोरु हेरेर मात्र छनोट गर्न नसकिएको माघेसङ्क्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुङ्गानाले बताए। 
काठमाडौं ज्ञानेश्वरस्थित सानोगौचरणमा आउँदो माघ १९ र २० गते गोरु जुधाउनका लागि उत्कृष्ट गोरु छान्ने भन्दै गोरु सम्मेलन गरिएको थियो। गोरुको लडाकुपन हेरेर मात्र छनोट गर्नुपर्ने भएकाले माघे सङ्क्रान्तिमा गोरु जुधेको हेरेपछि मात्र काठमाडौँ लैजान गोरुको छनोट गरिने समितिका अध्यक्ष ढुङ्गानाले बताए।
नेपाल ओलम्पिक सङ्ग्रहालयको आयोजनामा तारुकाका गोरुहरू ज्ञानेश्वरको सानो गौचरणमा जुधाइन लागेको हो। ‘प्रथम राष्ट्रिय गोरु जुधाइ प्रतियोगिता’ नाम दिइएको मेलामा छ हल गोरु जुधाइने सम्झौता भएको अध्यक्ष ढुङ्गानाले बताउनुभयो। विजेता गोरुधनीलाई रु २५ हजारसहित प्रशंसापत्र एवम् उपविजेततालाई रु १५ हजारसहित प्रशंसापत्र प्रदान गरिने छ। प्रतियोगितामा जुधाइने गोरुको बिमा तथा औषधोपचार गरिने पनि सम्झौता भएको समितिले जनाएको छ।
गोरु जुधाउने पुरानो परम्परालाई व्यवस्थित गर्दै तारुका–५ चन्दनीमा पछिल्लो आठ वर्षदेखि बारीको एउटै पाटामा माघेसङ्क्रान्तिको दिन गोरु जुधाएर मनोरञ्जन लिने चलन छ। यहाँ गोरु जुधाएको हेर्नका लागि हजारौँ मानिसको भिड लाग्ने गर्छ। पछिल्लो पाँच वर्षदेखि नुवाकोटको बेत्रावतीमा पनि गोरु जुधाउन थालिएको छ। चन्द्रशम्शेरका ज्वाइँ मानवतावादी जयपृथ्वीबहादुर सिंहको सम्मानमा सो गोरुजुधाइ गर्न थालिएको बताइँदैआए पनि सोको पुष्टि भने भइसकेको छैन। रासस

Leave a Reply

Your email address will not be published.