कमलाको पूर्वी तटबन्ध भत्कियो, सयौं घर डुबानमा

Flood

सिरहा- जिल्लाको पश्चिमवर्ती गाविस सारश्वर डुबानमा परेका छन्। दुई दिनदेखि परेको वर्षाका कारण कमला नदीमा आएको बाढीले पूर्वी तटबन्ध भत्काएपछि सारश्वर डुबान परेका हुन्। सारश्वर–१ र २ का करिब ६० घर डुबानमा परेको स्थानीय विमल गुप्ताले जानकारी दिए। उनका अनुसार स्थानीय बौका दफाली, चन्द्रकुमार ठाकुर, सञ्जय साहलगायतको घरमा पानी पसेको छ। उनीहरू सबै विस्थापित भएका छन्।
स्थानीय विमल गुप्ताले भने– ‘आज बिहान ६ बजे आएको बाढीले गाउँ डुबायो। अहिले यहाँ भागाभाग भएको छ। सबै सुरक्षित स्थान खोज्न थालेका छन्।’ गाउँ डुबानमा परे पनि चारजना प्रहरी मात्र आएकाले उनीहरू केही गर्न नसकेको उनले गुनासो गरे।
मन्दिरमा पूजा गर्न शिवमन्दिर पुगेकी स्थानीय शिव साहको नाम नखुलेको ६० वर्षीया आमा गम्भीर घाइते भएकी छन्। उनलाई बाढीले बगाएको र स्थानीयले देखेपछि उद्धार गरिएको स्थानीय देवेन्द्र यादवले जानकारी दिए।
यता जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बाढीले गाउँ बगाएको सूचना पाएको र प्रहरी परिचालन गरिसकेको बताए।
उनले भने, ‘कमलाको पूर्वी तटबन्ध नै भत्काएको सूचना पाएकाले चिकना, विष्णुपुर प्ररा, भोक्राहा लगायतका गाउँ पनि डुबानमा परेको हो। सबै ठाउँमा उद्धारका लागि प्रहरी परिचालन गरिसकेका छौं।’ रासस

Leave a Reply

Your email address will not be published.