दुई दिनभित्र सहमति गर्न राष्ट्रपतिको आग्रह

Sital Niwasकाठमाडौं- राष्ट्रपति रामवरण यादवले मुलुकको राजनीतिक सङ्कटको दुई दिनभित्र निकास निकाल्न प्रमुख दलका नेताहरुलाई आग्रह गरेका छन्। प्रमुख दलका शीर्ष नेताहरुसँग शनिबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा राष्ट्रपति यादवले सो आग्रह गर्नुभएको बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीलाई जानकारी दिए। 
अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि प्रधानन्यायाधीश मात्र होइन, बहालवाला वा पूर्व न्यायाधीश वा स्वतन्त्रमध्ये जो भए पनि आफ्नो पार्टीको सहमति रहनेछ भन्नुहुँदै यस विषयमा सञ्चार माध्यमहरुले प्रधानन्यायाधीशको कुरालाई मात्र अगाडि ल्याएर विवाद सिर्जना गरेकामा दुःखेसो गरे।
उनले हालै हेटौंडामा सम्पन्न पार्टीको महाधिवेशनमा प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषय पारित गरेको भन्ने कुरामा कुनै सत्यता नभएको पनि स्पष्ट गरे। अध्यक्ष दाहालले जेठभित्र संविधान सभाको निर्वाचन गर्न बैठकमा सबै दल सहमत भएको पनि बताए।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले दलहरु जेठभित्रै संविधान सभाको निर्वाचन गर्ने सहमत भएको बताए। उनले बैठकमा एमाओवादी अध्यक्ष दाहालले प्रधानन्यायाधीश मात्र नभई विभिन्न विकल्पहरु पनि खुला राख्‍न सकिने बताउनुभएको उल्लेख गरे।
उपसभापति पौडेलले राष्ट्रपतिले दिनुभएको दुई दिनको समयसीमामा आफ्नो दलले दुईपक्षीय र बहुपक्षीय छलफल गर्ने जानकारी दिए।
नेकपा एमालेका नेता केपी ओलीले प्राधानन्याधीशलाई प्रधानमन्त्री बनाउँदा व्यवस्थापिका, कार्यपालिका र न्यायापालिकाबीच सन्तुलन नहुने मात्र नभई अन्य कानुनी जटिलतासमेत आउने बताए। उनले दलहरुबाटै सहमतीय प्रधानमन्त्री खोज्न सकिने बताउँदै दलहरुलाई निषेध गरेर निर्वाचन हुन सक्दैन भने।
छलफलमा नेपाली कांग्रेसका तर्फबाट सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल, एनेकपा (माओवदी)का तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमाले)का तर्फबाट अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता केपी ओली र मधेसी मोर्चाबाट संयोजक विजयकुमार गच्छदार र तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए। रासस

Leave a Reply

Your email address will not be published.