लोकसेवाको विज्ञापनविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षणविरोधी रहेको भन्दै आरक्षण बचाऔं आन्दोलनले मंगलबार कामठाडौंमा प्रदर्शन गरेको छ । माइतीघमरमा आयोजित प्रदर्शनमा दलित, जनजाति, थारु, मधेशी, महिला, मुस्लिम, अपांगता भएकाहरुलगायतका समुदाय सहभागी थिए ।

माइतीघरमा भेला हुनुअघि सुन्धारा, बानेश्वर र थापाथलीबाट र्‍याली निकालिएको थियो । संविधानअनुसार लोकसेवाले विज्ञापन सच्चाएर समावेशी विज्ञापन जारी नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने आन्दोलनले बताएको छ । यदि अटेर गरी परीक्षा सञ्चालन गरे परीक्षा केन्द्रमा प्रदर्शन गर्ने र प्रश्नपत्र च्यात्नेसम्म उनीहरुले धम्की दिएका छन् ।

यसअघि आन्दोलनले सिठी जुलुस, राके जुलुस, पर्चा पम्प्लेट वितरण, माइतिघर मण्डलामा धर्नालगायतका कार्यक्रम गरिसकेको छ । स्थानीय तहमा कर्मचारी भर्नाको लागि लोक सेवा आयोगले नौ हजार १६१ जना कर्मचारीको लागि विज्ञापन जारी गरेको थियो ।

उक्त विज्ञापनमा संविधानअनुसार आरक्षणको व्यवस्था नगरिएको भन्दै सर्वोच्चमा समेत रीट दायर भएको छ । सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा सडक प्रदर्शन पनि भइरहेको छ ।

तस्बिर : नारायण महर्जन/सेतोपाटी

Leave a Reply

Your email address will not be published.