दोस्रो चरणको चुनाव असार ९ गते गर्ने सरकारको निर्णय

आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ। यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो।

आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझदारी भएको थियो।

लगतै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेर नयाँ मिति प्रस्ताव गरेका हुन्। पहिलो चरणको निर्वाचनमा भाग नलिएका राजनीतिक दलहरुको सहभागिता सुनिश्चित गर्न पनि दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ९ गते सार्ने निर्णय लिनु परेको सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ प्रदेशका ४६१ स्थानीय तहमा हुनेछ। प्रदेश नम्बर ३, ४ र ६ का ३८१ स्थानीय तहमा बैशाख ३१ गते निर्वाचन सम्पन्न भइसकेको छ।

Leave a Reply

Your email address will not be published.