होमस्टे चलाउँदै कपिलवस्तुकी थारु किशोरी

१६ वर्षे सरिता थरुनी सिँगारेको कलश हातमा समातेर उभिन्छिन् । १५ वर्षे सुनिता थरुनी टाउकोमा सजाएको ढकिया लिएर उभिन्छिन् । अर्की १७ वर्षे महाराजी थरुनी फूल, माला र रातो टीका लिएर बसेकी हुन्छिन् । पाहुना आउनेबित्तिकै फूल दिन्छन्, माला लगाइदिन्छन् र टीकाले निधार सिँगार्छन् । अनि लिएर जान्छन् होमस्टेतिर ।

टिनएज युवती सक्रिय भई कपिलवस्तुको जगदीशपुरमा होमस्टे चलाइरहेका छन् । घरमा पाका उमेरका अभिभावक भए पनि किशोरकिशोरीले नै सञ्चालन गरेका छन् होमस्टे ।

चराको स्वर्ग मानिने जगदीशपुर ताल छेउमा होमस्टे सञ्चालनमा छ । गाउँका ४० मध्ये १० थारू निवासमा होमस्टे छ । घरमै भएको खाट, लत्ताकपडा र भाँडाकुँडालाई उपयोग गरेर सेवा दिन थालिएको हो । शौचालय चिटिक्क छ । आँगन सरसफाइ र घरको भित्रै सजावटमा थारू कला छ ।

पाहुनालाई थारू परिकार ढिकरी, घोंगी, उसिनेको भात, माछा, चिचर र लोकल कुखुराको मासुको स्वाद दिने गरिन्छ । अवधि परिकार बरिया, सोहनी र बुकनी पनि अर्डर गरे बनाइन्छ । भुजिया भातसँग निहुरो, बेथे, झिठाको साग र सिन्की झोलको मज्जा पनि राम्ररी लिन पाइन्छ । अनारा सर्प र गंगटाको झोलको स्वाद लिन सकिन्छ । थारू परिकार डार्खी झोटी, रिकोच, केर्वा र कचरी बरिया पनि पाइन्छ । त्यस्तै महुवा र कोदोको रक्सी तथा जाँड पाहुनाको रुचिअनुसार उपलब्ध हुन्छ ।

विश्व सिमसार क्षेत्र जगदीशपुर ताललगायतका पर्यटकीय स्थल घुम्न आउने पर्यटकलाई बस्न समस्या भइरहेको थियो । ‘तालको विकास गर्ने भनेर धेरै कार्यक्रम आए,’ स्थानीय अगुवा गयाप्रसाद थारूले भने, ‘तर स्थानीय कहिल्यै पनि लाभान्वित हुन सकेनन् । त्यही भएर यहाँ आउने स्वदेशी विदेशी पर्यटकलाई लक्षित गर्‍यौं । अहिले निकै राम्रो आम्दानीको स्रोत बनेको छ । महिनामा मुस्किलले ५/७ दिन खाली हुन्छ । नभए पाहुना आएको आई गर्छन् ।’

थारू समुदायको उत्साह देखेपछि जगदीशपुर ताल बहुसरोकार मञ्चले पनि उनीहरूलाई सहयोग गरेको छ । १० होमस्टेलाई ८ हजार बराबरको घरायसी सामग्री प्रदान गरेको छ । मञ्चले उनीहरूलाई कसरी पाहुरालाई स्वागत सत्कार गर्ने भनेर नवलपरासीको अमलटारी होमस्टे लगेर भ्रमण गरायो ।

होमस्टे सञ्चालित क्षेत्र सदरमुकाम तौलिहवादेखि ११ किमि उत्तर पर्छ । पूर्वपश्चिम राजमार्ग कोइली वनगाईदेखि ९ किमि दक्षिण पर्छ । एउटा कोठाको ३ सय र सय रुपैयाँमा सादा खाना दिइने गरिएको छ । मासु र अन्य परिकार खाए थप लाग्छ । थारू संस्कृति देखाएर पर्यटकलाई मनोरञ्जन पनि दिने गरिएको छ । साँझका बेला लाठी नाच, झुमरा, कर्रा, सजनी विरहनी र सोङ नाचको जीवन्तता देख्न पाइन्छ । सांस्कृतिक कार्यक्रममा किशोरीलाई युवाले साथ दिने गरेका छन् ।

नेपालमा एकै स्थानबाट सबैभन्दा बढी चरा देखिने जगदीशपुर ताल हेर्न खुबै मानिस आउँछन् । १५७ हेक्टर क्षेत्रफलको तालमा दिनैभरि सजिलै ६० बढी प्रजातिका चरा देखिन्छन् ।

मनोज पौडेल/कान्तिपुर

Leave a Reply

Your email address will not be published.