प्रधानमन्त्री दाहालद्वारा राजीनामा, नैतिकताको खडेरी तोड्ने दृढ संकल्प

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । आफूले सफल प्रधानमन्त्रीका रुपमा विदा लिन पाएको भन्दै उनले खुसी समेत व्यक्त गरे । 

उनले नेपाली राजनीतिमा लामो समयदेखि विद्यमान नैतिकताको खडेरी तोड्ने दृढ सङ्कल्प गरेको बताए। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँग भएको समझदारीअनुसार आज उनले बिना हिच्किचाहट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै राजीनामाको घोषणा गरे। उनी गत साउन १९ गते नेपाली कांग्रेससँग आलोपालो सत्ताको नेतृत्व सम्हाल्ने समझदारीअनुसार प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।

दाहालले सम्बोधन गरेर राजीनामा दिन चाहेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने चेतावनी दियो । दुई दिनसम्म चलेको सहमतिको प्रयास असफल भएपछि प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने निर्णय लिए ।

राजनीतिको सबैभन्दा ठूलो समस्या इमानको कमी र उपयोगको संस्कृति भएको भन्दै उनले भने, ‘दलहरु र नेताहरुबीच भएका लिखित र अलिखित सहमतिहरु थुप्रै पटक च्यातिएका थुप्रै उदाहरण हामीसँग छन् । सत्ता साझेदारीका हकमा त अहिलेसम्म कुनै पनि समझदारी पालना भएका छैनन् ।’

उनले दोस्रो चरणको चुनाव आफ्नो नेतृत्वको सरकारले नै गराओस् भन्ने सिंगो देश र प्रतिपक्षको सदिक्षाप्रति आभार प्रकट गरे ।

सत्ता छाड्नुपर्दा अहिलेसम्म देखिने गरीको पीडा, आक्रोस र छटपटीको परम्परा तोड्दै अवका दिनमा राजनीतिज्ञ, सांसद र नागरिकका रुपमा मुलुक र जनताको उत्थानमा क्रियासिल रहने प्रतिवद्धतासहित आजै र अहिले नै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्छु ।’

Leave a Reply

Your email address will not be published.