दहितको पिएचडी शोधले भन्छ- ‘बुद्ध थारु समुदायको कुलमा जन्मिएका हुन्’

गौतम बुद्ध, कुन समुदायका थिए र हुन्? भन्ने लामो र अप्ठयारा बिबादहरुलाई टुंगाउँदै थरुहट तराई पार्टीका सांसद गोपाल दहितले हालै बिद्याबारिधी (पिएचडी) सम्पन्न गरेका छन्। सांसद दहितले शाक्य मुनी ‘सिदार्थ गौतम थारु समुदायका पुत्र’ भएको विभिन्न कोणबाट प्रमाणित गरेकाले उनले बिद्याबारिधि अर्थात पिएचडी प्राप्त गरेका हुन्। गत असोज ६ गते सांसद दहितले लुम्बिनी विश्वबिद्यालयबाट बिद्याबारिधीको प्रमाण पत्र लिइसकेका छन्।

‘बुद्ध र बौद्ध धर्मसँग थारु जातिको ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्बन्ध’ विषयक शोधपत्रमार्फत् ‘बुद्धको कुल थारु समुदाय’ को हो भनी प्रमाणित गरेपछि पछिल्ला महिनादेखि आफ्नो नाममा उनले ‘डा. गोपाल दहित’ लेख्न सुरु पनि गरेका छन्। सांसद हुदाँहुदै बिद्याबारिधी गर्ने उनी नेपालको राजनीतिक इतिहासमा पहिला र एक्ला पनि हुन्।

‘गौतम बुद्ध थारु समुदायका हुन भनेर मैले बिभिन्न कोणबाट शोध पत्रमार्फत प्रमाणित गरेको छु,’ दहितले भने, ‘त्यो प्रमाणित गरेपछि मलाई लुम्बिनि बिश्वबिद्यालयले बिद्याबारिधी प्रदान गरेको हो।’ गौतम बुद्ध थारु समुदायको हुन् भनेर प्रमाणित गर्नका लागि उनले बिभिन्न दृष्टीकोण, तर्क, ऐतिहासिक दस्तावेज, तथ्यांक र तथ्यहरु आफ्नो शोधपत्रमा उल्लेख गरेका छन्।

उनका अनुसार कपिलबस्तुमा भेटिएका गहनाका बनावट र घोडाघोडीको मुर्तीहरुको वनावट हालको थारु समुदायले प्रचलनमा ल्याउने गरेका मौलिक गहना र घोडाघोडीको मुर्तिको रुप र बनोटसँग मिलेकाजस्ता प्रमाण र अनेकौं तथ्यहरु अघि सारेका छन्। कपिलबस्तु उत्खनन हुदाँ भेटिएका माटाका भाडाकुँडा, गरगहना र घोडाघोडीका मुर्तीहरुमध्ये गरगहना र घोडाघोडी थारु समुदायको धर्म र संस्कृतिसँग मिल्दोजुल्दो हुन पुगेको उनको शोधपत्रमा उल्लेख छ।

यसैगरी, हाल नेवार समुदायभित्र पर्ने शाक्य र कोलिय समुदाय थारुभित्र पर्ने बिभिन्न अध्ययन अनुसन्धानले प्रमाणित गरेको बिषयलाई आधार मानेर उनले त्यसमा थप अनुसन्धान गरेका छन्। ‘हालको शाक्यका उच्चारण शैली दन्त्य नभई तालब्य छ, थारुको पनि तालब्य नै भएकाले मिल्न पुगेको यो एउटा प्रमाण हो,’ सांसद दहितको जिकिर पेस भएको छ, ‘त्यसैगरी, हाल नेवार बनाइएका शाक्य र कोलियहरु संस्कृति र परम्परा थारुसँग मिल्दोजुल्दो भएको अनुसन्धानदेखि ब्याहारिकरुपमा नै त्यो देखिन्छ।’ उनका अनुसार शाक्य, कोलिय र थारुहरु बीचमा शारीरिक बनोट र उच्चारण शैली मिल्ने पनि उनको शोधपत्रमा उल्लेख छ।

कपिलबस्तुमा राजा शुद्धोधनले चलाउने गरेको बाली पूजा अर्थात् ‘हरोट पूजा’लाई अहिले पनि थारुहरुले नै निरन्तरता दिइरहेको उनको भनाइ छ। ‘बौद्ध ग्रन्थहरुमा उल्लेख भएअनुसारको बर्खे बाली लगाउनुअघि सोमबारको दिनमा बिशेष पूजा कपिलबस्तु दरबारमा हुन्थ्यो, त्यो पूजाको विधिअनुसार अहिले पनि थारुहरुले नै बर्खे बाली लगाउनुअघि पनि पूजा गरिरहेका छन्।’

त्यतिमात्रै होइन, डा. दहितले बौद्ध धर्मको सबैभन्दा पुरानो सम्प्रदाय ‘थेरवादी’, जो तन्त्रमन्त्र र चमात्कारिक अवधारणामा विश्वास गर्दैन, त्यसको अनुसरण थारुहरुले नै स्थापित गराएको दाबी शोधपत्रमा उल्लेख गरेका छन्। ‘सो सम्प्रदायले चैत्य गुम्बा र स्तुपामा निमार्ण नगरी बिहारहरु बनाउने गर्दथे, जो बिहारहरु हाल पनि भारतको बिहार राज्यमा, उत्तर प्रदेशसहित नेपालमा सुर्खेतको काँक्रेबिहार त्यसका उदाहरणहरु हुन्, जो त्यतिबेलाका थारुहरुले बनाएका हुन्’ दहितको भनाई छ।

बौद्ध धर्मालम्बीहरुले पछिल्लो समय महायानी र बज्रयानी सम्प्रदायले बनाउने चैत्य, गुम्बा, स्तुपाको निमार्ण शैलीमा थारुहरुले अहिले पनि मूल देउता थानको रुपमा ‘पाटा’ बनाएर घरभित्र राख्छन्।  ‘बौद्धधर्मालम्बीहरुले गुम्बा, चैत्य र स्तुपा निमार्णको बनोट अनुसार हरेका थारुहरुका घरभित्र ‘पाटा’ बनाएर पूज्ने चलन छ,’ दहितले भने, ‘धमिराले बनाएको ढिस्कोको माटो, कपास र तेल हालेर घर भित्र त्यस्ता पाटाहरु बनाइन्छ, जो चैत्य गुम्बा बनाउने शैलीमा निमार्ण भएका हुन्छन्।’ उनका अनुसार मुस्लिम नवाजहरुले बौद्धधर्ममा आक्रामण गरेपछि थारुहरुले घरभित्र कसैले नदेख्ने गरी निमार्ण गर्न थालेको दहितको तर्क छ।

‘बौद्धधर्म मान्नेहरुलाई लाखौंका संख्यामा मुस्लिमहरु आक्रामण गरी धर्म परिवर्तन गराउन थालेपछि थारुहरु धर्मविहीन हुन पुगेका थिए। जसले गर्दा १ हजार वर्षभन्दा बढी थारु समुदाय धर्मविहीन अवस्थामा रहयो,’ उनले भने। उनका अनुसार मुस्लिम नवाजहरुको आक्रामणवाट बच्न सुंगुर पालन गर्न चलन भने चलेको उनको भनाई छ।

उनका अनुसार भौगलिक रुपमा पनि तराईका भू-भागमा अत्याधिक मलेरिया लाग्ने भएकाले त्यहाँ थारुबाहेक अरु समुदाय बस्ने अवस्था त्यतिबेला नभएको बुद्धको पालामा थारुहरु नै रहेको जिकिर उल्लेख गरेका छन्। ‘मलेरियासँग लडन सक्ने क्षमता थारुबाहेक अरुसँग छैन, त्यसैले तराईका भूभागमा थारुहरु मात्रै रहेको यसै प्रमाणित भइसकेको रहेछ,’ दहितले थपे।

तराईको पूर्व-पश्चिम भूभागमा रहेको एउटामात्रै जाति थारु भएको उनको भनाइ छ। ‘हामी मधेसी होइन, नेपालका पूर्वदेखि पश्चिमसम्मका थारुहरु मधेसीलाई ‘बजिया’ भन्छन, यसो भन्नुको पछाडि उनीहरु हाम्रो भाग खोस्न आएकाले त्यसो भनिएको छ र अहिलेका पहाडीयाहरु भारत सभ्यतामा मुस्लिम आक्रामण भएपछि आएका धेरै कोणबाट प्रमाणित भइसकेका छन।’

उनका अनुसार थारुले बुद्धको पञ्चशिलको सिद्धान्तअनुसरण पनि गरिरहेको उनको तर्क छ। ‘अहिले पनि भनिन्छन्- ‘थारुहरु सोझा र इमान्दार हुन्छन्, त्यो पञ्चशिलको सिद्धान्त अनुसरण गरेका कारण हुन्’ दहितको शोधपत्रमा उल्लेख गरेका छन्।

सामाजिक, साँस्कृतिक, धार्मिक, मनोवैज्ञानिक, समाजशास्त्रीय र ऐतिहासिक दस्तावेजका आधारमा ‘सिद्धार्थ गौतम’  थारु कूलमा जन्मेको उनको बिद्याबारिधले प्रमाणित गरेको उनको भनाई छ। ६ वर्ष लगाएर उनले सो बिद्याबारिधी गरेको दहितले करिब दर्जन पुस्तक पनि लेखेका छन्।

-प्रकाश तिमल्सिना/नागरिक दैनिक

Leave a Reply

Your email address will not be published.