तीन मधेसी दल एकीकरण हुँदै

काठामडौं- सद्‍भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान सभाको पहिलो बैठक संविधानमा उल्लेख भएअनुसार नै हुनुपर्ने बताए। ‘अन्तरिम संविधानमा व्यवस्था भएअनुसार संविधान सभाको पहिलो बैठक मन्त्रिपरिषद् अध्यक्षले नै बोलाउनुपर्छ,। उनले संविधान सभाको पहिलो बैठक कसले बोलाउने भन्ने विषयमा विवाद गर्नुभन्दा पनि एक वर्षभित्र संविधान जारी गर्नेतिर दलहरुको ध्यान जानुपर्ने बताए। ‘मधेसी मोर्चाको स्पष्ट अडान छ पहिलो बैठक अध्यक्षले बोलाउने र संविधान जारी नभएसम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नगर्ने, उनले थपे, ‘अहिले राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्न आवश्यक छैन। यो बेमौशमको बाजा हो।‘ उनले कांग्रेस ठूलो दलका हैसीयतले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने पक्ष्मा मधेसी मोर्चा रहेको बताए।
सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनाधिकार फोरमनेपाल र सद्‍भावना पार्टीबीच छिट्टै पार्टी एकीकरण हुँदैछ।‘ यसका लागि तीन पार्टीका अध्यक्षको बीचमा सहमति भइसकेको छ। हामी संविधान सभाको पहिलो बैठकमा जानुभन्दा पहिले नै पार्टी एकीकरण गर्ने पक्षमा छौं। त्यसका लागि एकहप्ता भित्र  मोडालिटी बनाउने सहमति भएको छ।

महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोमध्ये जो पनि अध्यक्ष बन्न सक्नुहुन्छ। तीनै जना नेतालाई नेतृत्वको टुगो लगाउने जिम्मेवारी दिएका छौं। उहाँहरु बसेरगर्ने निर्णय हामीलाई स्विकार्य हुन्छ। उनले पार्टी एकीकरण छिट्टै घोषणा हुने बताए।

तीन मधेसी दलबीच एकीकरण हुन लागेको भन्दै त्यसको सम्पुर्ण जिम्मा तीनवटै दलका अध्यक्षलाई दिएको बताए। उनले तमलोपा, फोरम नेपाल र सद्भासवना पार्टीबीच एकीकरण हुन लागेको बताए। विगतमा पनि एकीकरणको प्रयास भए पनि त्यो सफल भएको थिएन। ‘अहिले भएको प्रयास सार्थक हुनेछ, उनले भने, ‘हामी सानो दलको ठूलो नेता हुनुभन्दा ठुलो दलको सानो नेता हुन तयार छौं।

एकसाताभित्र पार्टी एकीकरणको ठोस प्रस्ताव आउने उनले बताए ।

Leave a Reply

Your email address will not be published.