कांग्रेस महाधिवेशनमा मधेसी मोर्चाका नेता गएनन्

Madheshi-morchaप्रधानमन्त्री चुनावमा कांग्रेसलाई भोट हाल्न गएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सोही दलको १३ औं महाधिवेशन भने बहिष्कार गरेको छ । ‘मधेसविरोधी संविधान बनाउने’ कांग्रेसको निम्ता आफूहरुलाई प्राप्त भए पनि आफूहरु नगएको मोर्चा नेताहरुले बताए । ‘मधेसको भोट लिएर पहिलो पार्टी बनेको कांग्रेसले मधेसी जनताकै विरोधमा संविधान बनायो,’ सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने, ‘कांग्रेसले मधेसलाई माया गरेको भए हामी पनि उसलाई माया गर्थ्यौं । अबदेखि ठूला दलले हामीलाई जति माया गर्छन्, त्यति मात्रै माया गर्छौं ।’
कांग्रेससँगको चित्त दुखाई पोख्न भए पनि कम्तीमा महाधिवेशनमा गएको भए हुन्थ्यो नि भन्ने जिज्ञासाको जवाफमा मोर्चाका अर्का एक नेताले आफूलाई प्राप्त निम्तो पत्रमै ‘सुशीलको नेतृत्वमा बनायौं संविधान’ भन्ने भाषाले रिस उठेको प्रतिक्रिया दिए । ‘अरुको शुभ काममा गएर किन अशुभ जस्तो लाग्ने कुरा गर्नु भनी नगएको,’ ती नेताले भने, ‘संविधान बनाएको जस लिनेले त्यसकै नाममा मधेसमा ५० मधेसी मारिएको कुरा चाहिँ लेख्नुपर्दैन ? हामीले शुभकामना दिने ठाउँ कहीँ पनि राखिदिएन कांग्रेसले ।’

संविधान र त्यसको नेतृत्वकर्ता दल कांग्रेसको विशेष निम्तो बहिष्कार गर्ने मधेसी मोर्चा गत असोज २४ गते भएको प्रधानमन्त्री चुनावमा भने तिनै कांग्रेसका उम्मेदवार सुशील कोइरालाको पक्षमा भोट हाल्न पुगेको थियो । मोर्चाको माग सम्बोधन गर्नेगरी कांग्रेस नेतृत्वकै सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो । सोही प्रस्तावका आधारमा माघ ९ गते संविधानको पहिलो संशोधनसमेत भएको थियो । सीमांकनको मूख्य मुद्दा त्यस संशोधनमा छुटेकाले आफूलाई अस्वीकार्य रहेको मोर्चाले बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published.