मुसहर वस्तीमा बास बसेका प्रधानमन्त्रीले घोंघी खाए

प्रधानमन्त्रीका लागि खाना तयारी गर्दै मुसहर महिला। तस्बिर : सन्तोष सिंह/नागरिक

वीरेन्द्र कर्ण- फुलकहा- शनिबार साँझ महोत्तरी जिल्लाको फुलकहा गाविस–६ मनहरवाको मुसहर वस्तीमा प्रधानमन्त्री डा बाबुराम भट्टराई पुग्दा ६३ वर्षीय विसुनी सदा मुसहरलाई भ्याइनभ्याइ भएको थियो। रुखोसुखो जीवनयापन गर्दै आएका विसुनीले प्रधानमन्त्री भट्टराईको आतिथ्य सत्कार गर्न गाउँकै साहुबाट व्याजमा रु छ हजार ऋण लिएर विशेष प्रकारको खाना बनाएका थिए।

प्रायः गरी मुसहर समुदायमा लोकप्रिय रहेको कोदोको रोटी, माछाको चट्नी, धोकी (घद्दौरी)लगायतका परिकार प्रधानमन्त्रीका लागि बनाइएको थियो। प्रत्येक महिना जनताको घरदैलोमा गई जनतासँग प्रत्यक्ष कुराकानी गर्ने र त्यहाँको समस्या बुझ्ने आफ्नो नियमित कार्यक्रमका क्रममा प्रधानमन्त्री भट्टराई गाउँ पुगेका हुन्।

सदरमुकामबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको सो वस्तीमा १ सय ५० मुसहर परिवार छन्। यहाँका मुसहरहरुले वन फडानी गरी वस्ती बसाएका हुन्। नेपाली कांग्रेस समर्थक स्थानीय उपेन्द्र यादवले उनीहरुमध्ये कतिपयको जग्गा झुक्याएर पास गरी लिएको बताइएको छ।

उपेन्द्र यादवले यहाँका मुसहरसँग रु तीन लाखका दरले प्रतिकठ्ठा जग्गा दिने नत्र खाली गराउनुपर्छ भन्दै दबाब दिँदै आएको विसुन मुसहरले बताए। उनले भने, ‘प्रधानमन्त्रीसँग हामीले पुर्खाको जमिन फर्काई दिन अनुरोध गरेका छौं।’

एकीकृत नेकपा (माओवादी) गाउँ कमिटीका सदस्यसमेत रहेका विसुनले प्रधानमन्त्रीलाई फूसको छाप्रोको भुइँमा सुत्ने व्यवस्था मिलाएको बताए। शौचालय नै नभएको सो गाउँमा प्रधानमन्त्रीका लागि माओवादी कार्यकर्ताले एउटा अस्थायी शौचालयसमेत निर्माण गरेका थिए।

प्रधानमन्त्रीले रात बिताएको फूसको सानो तर चिटिक्क परेको घरमा घेरा हाली रातभर सुरक्षाकर्मीले व्यापक सुरक्षा दिएका थिए। सोर्‍ह नातिनातिनासहित २४ जनाको परिवार सम्हाल्दै आएका विसुनीले प्रधानमन्त्रीसँग बस्नका लागि घरजग्गा माग्नुभएको थियो। मुसहर समुदायका महिलाले आफ्नो समुदायलाई जग्गाको व्यवस्था, बालबालिकाका लागि शिक्षा तथा युवाका लागि पशुपालन व्यवस्थाको माग गरेका थिए।
प्रधानमन्त्री जानेभएपछि वर्षौंदेखि खाल्डाखुल्डी रहेका सडकलाई डोजर लगाएर मर्मत गरिएको थियो भने बिजुलीविहीन सो गाउँमा एकारातका लागि भए पनि जेनेरेटरबाट मुसहर वस्ती झिलीमिली बनाइएको थियो।

सो वस्तीमा प्रधानमन्त्री डा भट्टराई पुग्दा मुसहर महिलाले मिथिलाञ्चलको प्राचीन जटजटिन र झिझिया नृत्यले स्वागत गरेका थिए। तीन वर्षअघिदेखि आसपासका झारथान, जैपुर, सोनमा, जमुनियामा बिजुली बले पनि दलित वस्तीमा बिजुलीको नाउँमा सात महिनादेखि खम्बामात्र गाडिएको छ।

स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री भट्टराईले फुलकहा गाविसलाई खुला दिसामुक्त पार्न मुसहर वस्तीमा सरकारले शौचालय निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरे। ‘संविधानको वास्तविक अर्थ तब नै सार्थक हुन्छ जब मधेसमा दलित, महिला, मजदूर र किसानको अधिकार सुनिश्चित हुन जान्छ”, प्रधानमन्त्री डा भट्टराईले भने, ‘माओवादी जहिले पनि सङ्घीयताको पक्षधर भएकाले सङ्घीयताभित्रको वास्तविक लोकतन्त्र चाहिन्छ।’
उनले पूर्ण बजेट आएमात्र यहाँका सडक, शिक्षा, बिजुली, खानेपानी, यातायातलगायतको विकास हुने बताए।

यसअघि द्वन्द्वकालमा प्रधानमन्त्री भट्टराई महोत्तरीको जमुनिया–मनहवाको बाटो हुँदै यात्रा गरिसकेका छन्। यो वस्ती पुग्नुअघि उनी लक्ष्मनिया–७ कान्तिनगरस्थित राष्ट्रिय जनता उच्चमाविको स्वागत समारोहमा सरिक भएका थिए। रासस

कोदोको रोटी र घोंघीको तरकारी
प्रधानमन्त्रीका लागि स्थानीयले आफूहरूले दिनहुँजसो खाने खाना बन्दोबस्त गरे। प्रधानमन्त्रीलाई कोदोको रोटी, माछा, घोंघी र सिध्राको चटनी खुवाउन खुवाएको सर्वसियादेवी सदाले बताइन्।

कहिल्यै नेता देखा नपर्ने यो मुसहर बस्तीमा अचानक प्रधानमन्त्री आउने भएपछि स्थानीय दुई दिनदेखि गाउँ सफाइमा जुटेका थिए। शौचालय नरहेको टोलमा प्रधानमन्त्रीका लागि शुक्रबार माओवादी कार्याकर्ताले अस्थायी शौचालय बनाए। वर्षौंदेखि जीर्ण सडकको खाल्डाखुल्डी पुरिए। सामान्य ज्वरो आउँदा उपचारका पनि सदरमुकाम धाउन बाध्य मनहर्वाबासीले तीन दिनयता दीर्घरोगको उपचार पनि गाउँमै पाउन थालेका छन्।

Leave a Reply

Your email address will not be published.