वार्ताका लागि माेर्चाका सर्तहरू यस्ता छन्…

सरकारले वार्तामा बोलाएर नाटक गरेको भन्दै आन्दोलनरत मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनले वार्ताका लागि सर्त राखेको छ। ६ महिना लामो मधेस आन्दोलन गरेको मधेसी मोर्चाले आफ्नो माग पूरा नभएपछि व्यवस्थापिका संसदभित्र र बाहिरका दलसँग समन्वय गरी गठन गरेको संघीय गठबन्धनमार्फत अहिले राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ।

गठबन्धनले आन्दोलन गर्ने आफूहरुको रहन नभइ बाध्यता भएको भन्दै सरकार वार्ताप्रति इमान्दार नभएको आरोप लगाएका छन्। उनीहरुले वार्ताको पूर्वसर्तको रुपमा मधेस आन्दोनमा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गर्नु पर्ने, घाइतको निशुल्क उपचार गर्नुपर्ने र संविधान संशोधनका लागि संविधान जारी गर्न सहकार्य गरेका प्रमुख तीनदलबीच सहमति हुनुपर्ने अडान राखेका छन्।

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवं गठबन्धका नेता लालबाबु राउतले सरकारले वार्ताका नाममा आलटाल गर्ने, आन्दोलनकारीलाई गलाउने, थकाउने काममा लागेको बताए। विगतमा सरकारका प्रतिनिधि र प्रधानमन्त्रीसमेत गरी ३६ पटकसम्म वार्ता गर्दासमेत समस्या समाधान हुने गरी सकार प्रस्तुत नभएको उनले बताए।

मधेसी मोर्चाकातर्फबाट वार्ता टोलीका सदस्यसमेत रहेका राउतले आफूहरुको मुख्य माग संविधान संशोधन रहेको उल्लेख गर्दै त्यसका लागि नेपाली कांग्रेस, एमाले र एमाओवादीको सहमति आवश्यक रहेको बताए। ‘सरकार वार्ताको नाटक पनि गरिरहेको छ,’  उनले भने, ‘अहिले पनि हाम्रा कार्यकर्तालाई धरपकड गर्ने, झुठा मुद्दा लगाउने काम गरिरहेको छ। अनि कसरी वार्ता हुन्छ।’

सरकारले आन्दोलनमा घाइते भएकाको उपचार गर्ने बारम्बार प्रतिबद्धता व्यक्त गरेपनि अहिलेसम्म केही रकम मात्र निकासा गरेको भन्दै घाइतेको उपचार गर्दा अहिले तराइका विभिन्न अस्पतालमा २० औं लाख रुपैयाँ तिर्न बाँकी रहेको बताए। ‘अहिले पनि हामीलाई दैनिक घाइतेको फोन आउँछ,’ उनले भने, ‘तराइका विभिन्न अस्पतालमा २० औं लाख रुपैयाँ तिर्न बाँकी छ, त्यसको प्रेसर हामीमाथि परेको छ।’

सद्भावना अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चा वार्ताप्रति प्रतिबद्ध रहेको भन्दै सरकार नै वार्ताप्रति इमान्दार नरहेको बताए। ‘हामी वार्ता विरोधी होइनौं भन्ने कुरा त सरकारसँग भएको ३६ पटकको वार्ताले प्रष्ट भइसकेको छ,’ महताले भने,’वार्तामा बोलाउने तर समस्या समाधान नगर्ने वर्तमान सरकारप्रति हाम्रो भरोसा छैन।’ उनले वार्ताप्रति सरकार विश्वसनीय नभएको आरोप लगाए।

सरकारले भने आन्दोलरत संघीय गठबन्धनलाई वार्तामा आउन पटक पटक आग्रह गर्दै आएको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले औपचारिक रुपमा पछिल्लो पकट गठबन्धनलाई वार्तामा आउन आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published.