धनिराम नेतृत्वमा वार्ता टोली गठन, त्यस्तो कुचेस्टा नगर्न कैलालीको चेतावनी

थरुहट थारूवान संयुक्त संघर्ष समितिले सरकारसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता टोली घोषणा गरेको छ। सरकारले वार्ता आह्वान गरेसँगै राजधानीमा बसेको केन्द्रीय आन्दोलन परिचालन समिति बैठकले धनीराम चौधरीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली बनाएको हो। टोलीमा रुक्मिणी चौधरी, राजकुमार लेखी, किशोरकुमार विश्वास र रमेशकुमार चौधरी छन्।

विद्यार्थी नेता रमेश चौधरीले वार्ता टोली गठन गरेको स्वीकार गरे। उनले बुधबार आन्दोलन परिचालन सिमितिको बैठक बसेर वार्ता टोली बनाएको बताए। ‘वार्ता कहिले गर्नेबारे जानकारी आएको छैन। तर बुधबार बसेको आन्दोलन परिचाल समितिको बैठकले धनिराम चौधरी नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको छ,’ उनले भने।

वार्ता टोली बनाएको भन्दै संघर्ष समिति कैलालीले कडा आपत्ति जनाएको छ। ‘समग्र पहिचान र अधिकारका लागि भइरहेको थरुहट/थारुवान आन्दोलनलाई र समग्र राष्ट्रिय आन्दोलनलाई सत्ताधारी शासकहरुको निर्देशनमा सञ्चालित धनिराम चौधरी लगायतका व्यक्तिहरुले गलत नियतले थरुहट/थारुवान संयुक्त संघर्ष समिति आफ्नो बपौतीजस्तो गरी कुनै छलफल बिना एकाएक सिमित स्वार्थका लागि वार्ता टोली गठन गरी सार्वजनिक गरिएको क्रियाकलापप्रति थरुहट/थारुवान कैलाली जिल्ला संघर्ष समितीले घोर आपत्ति प्रकट गर्दै यो वार्ताटोलीलाई कुनै पनि हालतमा मान्न नसकिने कुरा जानकारी गराउँदछौं,’ कार्यबाहक संयोजक कृष्णकुमार चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

‘टीकापुर घटनामा संलग्न भनि २५ जना जेलमा कष्टकर जीवन बिताउन बाध्य छन्। राजबन्दी परिवारहरु विचल्लीमा छन्। अधिकांश कैलालीका आन्दोलनकारीहरु फरार छन्। यस्तो दर्दनाक अवस्थामा केही सत्ताधारी शासकहरुको पिछलग्गु भनाउँदाहरु सम्रग पहिचान र अधिकारको आन्दोलनलाई शसक्त बनाउनुको साटो नाटकीय पाराले एकाएक वार्ता टोली गठन गरी सत्ताधारीहरुसँग भीख माग्ने, ढोँग रचनु समग्र थरुहट/थारुवान आन्दोलनको विपरित हो, समग्र उत्पिडनको खिलाप हो,’ विज्ञप्तीमा भनिएको छ, ‘तसर्थ तत्काल सो निर्णय फिर्ता लिइ आन्दोलनको वातावरण निर्माण गर्न आग्रह गर्छौं। यदि त्यसो नभएको खण्डमा यही तथाकथित वार्ता टोलीलाई निरन्तरता दिएर राज्यसँग वार्ता गर्ने कुचेष्टा गरे त्यसबाट हुनेसक्ने नकारात्मक प्रतिफलको जिम्मेवारी स्वयम हनुपर्ने र यस वार्ताटोलीले गरेको कुनै पनि सहमित सम्झौता नमान्ने व्यहोरा यसै प्रेस विज्ञप्तीमार्फत जानकारी गराउँछौं।’

Leave a Reply

Your email address will not be published.