चितवन निकुञ्जका कर्मचारी चौधरीद्वयमाथि कसले चलायो गोली

Ghaite Upachar
भरतपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि लगिएका घाइते त्रिलोक चौधरी। तस्बिर : रमेशकुमार पौडेल

चितवन- चितवन निकुञ्ज हुँदै जाने भरतपुर ठोरी हुलाकी सडकको बगई जंगलमा बिहीबार बिहान गोली हानेर निकुञ्जका एक कर्मचारीको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। निकुञ्जको पर्सा ठोरीस्थित दीपानगर पोस्टमा कार्यरत सिनियर गेम स्काउट शेष चौधरीको घटनास्थलमै मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले जानकारी दिए।

माडी वसन्तपुर बजारबाट ना२६प ८८० नम्बरको मोटरसाइकल चढेर चौधरी आफू कार्यरत पोस्टमा जाँदै थिए। उनीसँगै वसन्तपुर बजारका त्रिलोक चौधरी पनि थिए। त्रिलोकको पेट र छातीमा भरुवा बन्दुकको छर्रा लागेको छ भने टाउको र दायाँ हत्केलामा धारिलो हतियारको चोट छ। गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

घटनास्थल पुगेका चितवनका प्रहरी उपरीक्षक सहकुल थापाका अनुसार दुवैजनामाथि भरुवा बन्दुक र धारिलो हतियारबाट आक्रमण भएको थियो।
शेषले बगईपूर्व चौतारास्थित निकुञ्जको सुरक्षापोस्टमा दिन २८ हजार रुपैयाँ र चिट्ठी बोकेका थिए। नगद सबै लुटिएको प्रहरीले जानकारी दिएको छ। ५/६ जनाको समूहमा हतियारसहित बसेका व्यक्तिले घटना गराएको प्रहरीको भनाइ छ।

माडी अयोध्यापुरीको बगई पोस्टबाट ठोरी पुग्न चितवन निकुञ्जको झन्डै १८ किलोमिटर जंगल पार गर्नुपर्छ। सोही जंगलबीचमा गोली प्रहार भएको थियो।
‘घना जंगल क्षेत्रमा घटना भएको छ, लुटपाटका लागि मान्छे कुरेर बसेका लुटेरा वा वन्यजन्तु मार्न बसेका चोर–सिकारीले पनि घटना गराएको हुन सक्छ,’ प्रहरी उपरीक्षक थापाले भने। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेकाले यसै भन्नसक्ने अवस्था नरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कुँवरले बताए।

वन्यजन्तु मार्न बसेका वा चोरी सिकारविरुद्ध निकुञ्जले चलाएको गतिविधिबाट रुष्ट भएको समूहले बदला लिने उद्देश्यले घटना गराएको हुनसक्ने प्रमुख संरक्षण अधिकृत कुँवरको आशंका छ। चाड–पर्वका समय चोर–सिकारी सक्रिय हुने भएकाले घना जंगलबीचको सुनसान बाटोमा लुटेराले आक्रमण गरेको हुनसक्ने उनले बताए। घटनामा संलग्नको खोजी जारी रहे पनि कोही पक्राउ नपरेको प्रहरी उपरीक्षक थापाले बताए।

रमेशकुमार पौडेल/नागरिक दैनक

Leave a Reply

Your email address will not be published.