नेतृत्व सम्हाल्न नसकेको भन्दै संयोजक धनिरामको आलोचना

Dhaniram Chaudhary

कृष्णराज सर्वहारी

असोज ३ मा जारी गरिएको संविधानमा आफ्ना माग सम्बोधन नभएपछि थरुहट थारुवान संयुक्त संघर्ष समितिले आन्दोलन थप चर्काउने भएको छ। आन्दोलन उठेको  ४२ दिनपछि सिंहदरबारमा असोज ५ गते गरिएको समिक्षामा संघर्ष समितिका अधिकांश सदस्यले थरुहट आन्दोलन भगवान भरोसामा भएको जनाउँदै नेतृत्व पंक्तिको कडा आलोचना गरेका थिए। संविधान जारी भइसकेको अवस्थामा अवको आन्दोलन कसरी लैजाने भन्ने बारे मुद्धा तय गर्न बैठक बसेको थियो।

धनिरामको आलोचना

बैठकमा सहभागी प्रायःले संघर्ष समितिका केन्द्रिय संयोजक तथा थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीलाई आन्दोलनको नेतृत्व सम्हाल्ने भए नलुकेर डटेर मुकाविला गर्न आग्रह गरेका थिए। असोज ४ गते धनिराम चौधरी वेपत्ता भएको समाचार एक अनलाइनमा आएपछि सरकारले नै वेपत्ता पार्‍यो कि भन्ने आंशका गरिएको थियो। थारु विद्यार्थी समाजका पूर्व अध्यक्ष शैलेन्द्र चौधरीले भदौ ७ को टीकापुर घटनापछि नेतृत्वपंक्ति खासगरी धनिराम चौधरी सम्पर्कबिहिन भएको आरोप लगाए।

थरुहट आन्दोलन त उठ्यो, तर टाउको एकातिर छ, शरीर एकातिर छ भन्दै फोरम  लोकतान्त्रिकका सभासद योगेन्द्र चौधरीले भने, टीकापुर घटनालाई आन्दोनकारी नेतृत्वले चिर्न नसकेकोले केही कार्यकर्तालाई ज्यान मुद्धा समेत लाग्ने स्थिति आएको छ, आन्दोलनका अगुवाले त्यो स्थिति आउन नदिन तुरुन्त पहल गर्नु पर्छ। उनले यस्तो धारणा राख्दै गर्दा कैलाली जिल्ला अदालतमा धनिराम चौधरीसहित ५८ जना विरुद्ध ज्यान मुद्धाको दर्ताको तयारी भइरहेको थियो। धनिराम चौधरीलाई पनि ज्यान मुद्धा लागेपछि थरुहट आन्दोलन भगवान भरोसामा पुगेको छ।

छापामा थरुहट आन्दोलन

थरुहट थारुवान संयुक्त संघर्ष समितिका सचिव मिनराज चौधरीले छापामा थरुहट आन्दोलनबारे हालसम्म ३७२ पाठक प्रतिक्रिया आएकोमा करीब ३०० पत्र संयोजक धनिराम चौधरीको सरकारी जागिरको राजीनामाबारे भएको खुलासा गर्दै भने– आन्दोलनले धनिराम चौधरीलाई नेता जन्माइसकेकोले जागिरको माया मारी उहाँ आन्दोलनमै होमिनु उचित छ। सचिव चौधरीले मिडियाले थारु आन्दोलनको ब्यापक कभरेज गरेकोमा प्रशंसा गर्दै भने– हालसम्म थारु आन्दोलन केन्द्रित २२५ लेख, २८ वटा सम्पादकीय प्रकाशित भएको छ, यो हाम्रो आन्दोलनको सफलता हो। साथै, उनले हालसम्म थरुहटका ५७ जनालाई पक्राउ गरिएकोमा केहीलाई छाडिएको, ६७ जना आन्दोलनकारी सख्त घाइते भएका, टीकापुरमा १९ जना थारुहरुको घरमा आगजनी, तोडफोड गरिएको तथा एकको मृत्यु भएको जानकारी दिए।

धनिराम चौधरीले जतिसुकै धाकधम्की आए पनि आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताए।

जिल्ला जानुपर्ने राय

थारु एराउण्ड वर्ल्डका अध्यक्ष महावीर चौधरीले आन्दोलनमा आर्थिक पाटो एकदमै कमजोर भएकाले आन्दोलन उठ्न नसकेको जिकिर गरे। थारु सभासद संघर्ष समितका संयोजक रामजनम चौधरीले केन्द्रबाट समयमा निर्णय सर्कुलर नहुँदा जिल्ला जिल्लामा आन्दोलनकारी साथीहरुको मनोवल घटेको बताए। सहभागीहरुले संविधानमा हस्ताक्षर पनि गर्ने तथा आन्दोलनमा पनि होमिने अवस्थाले जनतामा गलत सन्देश गएको बताएका थिए। सभासद रुक्मिणी चौधरीले आन्दोलनमा सभासदहरुबाटै कुरा बिग्रिरहेकोले तुरुन्त सबै आआफनो गाउँ, जिल्ला जानुपर्ने राय दिइन्।

आन्दोलन शुन्यमा झरेको आरोप

नागरिक अगुवा सुरेन्द्र चौधरीले आन्दोलनका संयोजकहरुले विदेशी कुटनितिज्ञलाई भेट्दा उनीहरुको पृष्ठभूमि थाहा पाउन सुझाए। विद्यार्थी नेताहरु ओमनारायण महतो, रमेश चौधरी, चन्द्रप्रसाद चौधरी, शिवनारायाण चौधरी लगायतले नेतृत्वलाई नयाँ ढंगले लैजान परिवर्तन गर्नुपर्ने अवस्था आएको बिचार राखे। उनीहरुले नेतृत्वविहिन आन्दोलनले जनताले दुःख मात्रै पाएको बताए। किशोर विश्वासले थरुहट आन्दोलन उत्कर्षबाट शुन्यमा झरेको आरोप लगाउँदै मागबारे ठोस बुँदा प्रष्ट्याउनुपर्ने बताए।

मधेशी मोर्चासंग सहकार्य गर्नुपर्ने छलफल

राजकुमार लेखीले थारु शक्ति, मधेशी मोर्चा तथा सत्ताका बाहुन क्षेत्री देशमा यी ३ शक्ति अस्तिवमा रहेको ठहर गर्दै भने, हामीले सत्तासंग वार्ता गरिसक्यो, जुन निरर्थक रह्यो, अव मधेशी मोर्चासंग सहकार्य गरी अघि बढ्नुबाहेक अर्को उपाय छैन। आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष समेत रहेका लेखीले अगाडि भने, जनजाति महासंघ, पद्मरत्न तुलाधर लगायत कसैको आन्दोलन हाल सकृय छैन नै, थरुहट आन्दोलनलाई नैतिक समर्थन गर्ने सहास समेत नभएको देख्दा अचम्म लाग्छ।

मधेशी मोर्चासंग सहकार्य गरी अघि बढ्ने सवालमा सबै घटक सहमत भए पनि आन्दोलनका एमाओवादी सम्बद्ध सभासद अमनलाल मोदीलगायत मधेशीसंग सहकार्य गर्न असहमत छन्। असोज ६ गते आज पत्रकार सम्मेलन गरी थप निर्णय सार्वजनिक गरिने थरुहट थारुवान संयुक्त संघर्ष समितिका सचिव मिनराज चौधरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.