किन भएन ‘ककस’ घोषणा

Tharu Lawmaker 2014
इन्द्रेणी फुडल्यान्ड बानेश्वरमा ककस गठनबारे छलफलमा सहभागी सभासद्हरु। फाइल तस्बिर

काठमाडौं- आज हुने भनिएको आदिवासी जनजाति सभासद ककसको औपचारिक घोषणा स्थगित भएको छ। आज ककस घोषणा गर्न काठमाडौंको अन्नपूर्ण होटलको हल समेत बुक भइसकेको थियो। तर, आज सो हलमा ककस बनाउनुपर्छ भन्ने सभासद्हरुको बैठक मात्र बस्नेछ, औपचारिक घोषणा हुने छैन।

किन स्थगित भयो ककस घोषणा कार्यक्रम ? खम्बुवान राष्टिय मोर्चाका अध्यक्ष तथा सभासद् रामकुमार राई (आरके खम्बू)ले भने, ‘ककस बनाउँदा आकाश नै खस्छ झैं गर्न थाले। हामीले संविधान निर्माणमा विचार मिल्नेहरु एक ठाउँमा बस्नका लागि ककस बनाएका हौं। पहिचान सहितको संघीयता सुनिश्चित गर्न योगदान दिनकै लागि ककस बनाएका हौं। यो कुरा अझ प्रष्ट पार्न हामीले कार्यक्रम फेरेका छौं।’

राईले न्यूज भित्तालाई बताए अनुसार अब ककसको उद्घाटन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ या उपाध्यक्ष ओनसरी घर्तीमध्ये एकजनाबाट गराइने छ। राईले भने, ‘हामी संविधानसभा परिसरमै उद्घाटन कार्यक्रम राख्छौं।’ उनले ककस निर्माण भइसकेको छ भन्दै उद्घाटनको औपचारिकता पूरा गर्न मात्र कार्यक्रम राखिन लागेको दावी गरे।

ककस निर्माणमा सक्रिय थरुहट तराई पार्टीका सभासद् गोपाल दहितले चाहिँ ककस सम्बन्धमा केही पनि बताउन इन्कार गरे। उनले भने, ‘बेला आएपछि सबै कुरा थाहा पाउनुहुन्छ।’

थपघट हुन्छ

पहिचान र संघीयता सम्बन्धी मुद्दा उठाउने सबैभन्दा पूरानो पार्टीमध्ये एक राष्टिय जनमुक्ति पार्टीका सभासद् शिवलाल थापाका अनुसार ककसलाई बदनाम गराउन कांग्रेस एमाले र केही मिडिया लागिपरेका छन्। उनले भने, ‘निश्चित विषयमा विचार मिल्नेहरु एक ठाउँमा बसेर सो विचारलाई अगाडि बढाउन खोज्नु लोकतान्त्रिक अभ्याश हो। यस्तो लोकतान्त्रिक अभ्यशबाट कांग्रेस एमाले किन डराएका ?’

कांग्रेस एमालेले संविधानसभा भित्र पनि व्हीप लगाएर आदिवासी जनजाति सभासद्हरुको मुख बन्द गराउने प्रयास गरेको दावी गर्दै उनले भने, ‘ककस निर्माण भइसकेको छ। अब यसमा नाम थपघट गर्ने मात्र हो।’

संविधानसभामा व्हीप नलाग्ने दावी गर्दै थापाले भने, ‘ककसमा बस्न कांग्रेस एमालेका खासगरी थारु र मगर सभासद् साथीहरु इच्छुक हुनुहुन्छ। उहाँहरुको नाम ककसको कार्यसमितिमा थपिन्छ।’

गत साता ककस निर्माण गर्दा कांग्रेसका दुईजना सभासद्काे नाम राखिएकाे थियाे भने एमाले सभासद् कसैकाे नाम राखिएकाे थिएन। एमाले सभासद्हरुकाे नाम पछि थप्ने गरी ककस बनाइएकाे थियाे। कांग्रेसका सभासद्हरुले ककसमा नबस्ने घाेषणा गरे भने एमाले सभासद्हरुले पनि ककस इन्कार गरे। त्यसपछि ककस घाेषणा धरापमा परेकाे हाे।

म ककसमा छुइन : दिलमान

कांग्रेस सभासद् दिलमान पाख्रिन सहितको नाम ककस निर्माणमा औपचारिक सार्वजनिक गरिएको छ तर दिलमानले ककसमा आफ्नो नाम झुक्याएर राखिएको बताए। उनले भने, ‘गत साता इन्द्रेणी फुडल्याण्डमा आइएलओ १६९ र यूएन ड्रिप सम्बन्धमा गोष्ठि छ भनेर सभासद् साथीहरुले नै बोलाए। म कार्यक्रममा गएँ। उपस्थितिमा हस्ताक्षर गरें तर त्यही कार्यक्रम ककस गठनका लागि थियो भनेर मेरो नाम पनि राखिएछ।’

‘आदिवासी जनजाति र पहिचान सम्बन्धमा उहाँहरुको धारणा मैले मान्नुपर्छ भन्ने छैन। हाम्रो बेग्लै धारणा छ,’ उनले भने, ‘हाम्रो पार्टीमा भिमबहादुर तामाङको संयोजकत्वमा बनाएको समितिले जे धारणा बनाएको छ हाम्रो धारणा त्यही हो।’

नाम राखेर घोषणा गर्दैमा हुन्छ भन्ने प्रश्न गर्दै उनले भने, ‘म पार्टीको धारणाभन्दा बाहिर जान्न। पार्टीको धारणा जे हो मेरो त्यही हो। आदिवासी जनजाति र पहिचान सम्बन्धमा सबैभन्दा व्यवहारिक र उपयुक्त धारणा कांग्रेसको छ।’

न्युजभित्ताबाट साभार

Leave a Reply

Your email address will not be published.