आम्दानीको बाटो बन्दै ढकिया

dhakiya-3

कमला चौधरी, बुटवल- दिनभर घर काम गर्छिन् सुशिला। घर व्यवहार, बच्चाहरुलाई सम्हाल्नेदेखि मात्रै नभएर फुर्सदमा बाँकी बचेको समय ढकिया बुन्नमा व्यस्त हुन्छिन्। एकैछिन् हात खाली भयो कि हातमा सियो आकारकै छेद्ना, कैंची, मौनी लिग्छिन्। बसेर ढकिया बनाउन सुरु गर्छिन्। कतिपय अवस्थामा ढकिया बनाउनका लागि आवश्यक पर्ने सामग्री घर नजिकै नपाइने भएकाले उनी घरको काम भ्याएर थोरै समय निकालेर जंगल जान्छिन्। जंगलमा गएर मुजा, पुजा कास ल्याइ सुकाउनमा व्यस्त हुन्छिन्। के बनाउने कस्तो आकार दिने अन्य काम गर्दा नै उनी सोचेर बस्ने गर्छिन्। फुसर्द मिल्यो कि विभिन्न डिजाइनमा, आकर्षक रङगहरु मिसाइ मौनी, डेल्वा, गमला, गगरी, फोटो फ्रेम, थरीया, कचौरा, पराता, गोडी फुलदानी आदि बनाउन सुरु गर्छिन्।
कपिलबस्तु बर्कलपुर-७ बस्ने सुशिला थारु आफनो कुरा यसरी भन्छिन्, ‘घरको काम पनि गरिने, छोरा छोरीलाई पनि  हेरिने, काम गर्नका लागि घरभन्दा बाहिर पनि जान नपर्ने, घरमै बसेर ढकिया बनाएर पैसा पनि कमाउने हाम्रो समुदायको परम्परागत संस्कृति पनि बच्ने भएकाले सजिलो माध्यम बनेको छ। सानो प्लेजको रु.२०० देखि ६ हजार सम्मको ढकिया, डेल्वा बेच्ने गरेको छु। यसले मेरो घरपरिवारमा खुसी थपिदिएको छ। थप  आम्दानीको बाटो  बनाएको छ।’
जल,जमिन र जंगलसंग जीवन साटिरहेका आदिवासी थारु समुदायको प्रकृतिसँगको घनिष्ठ सम्बन्ध छ। थारु समुदायमा विवाह, ब्रतबन्ध पूजापाठ, काजक्रिया, अन्नबाली र घरसजावटको लागि अति आवश्यक पर्ने सामग्री ढकिया हो। विवाहमा विभिन्न आकार दिएर बनाइएको डेल्वा केटा वा केटी पक्ष दुवैका लागि अति आवश्यक पर्ने चीज हो। त्यो नभएको खण्डमा विवाहको शोभा भएको मानिँदैन।dhakiya-1
उनीमात्रै नभएर नवलपरासी, रुपन्देही र कपिलबस्तुलगायतका अन्य जिल्लाका थारु समुदायका  महिलाले ढकिया बनाउने अभियानै चलाएका छन्। परम्परागत जीवनशैली, संस्कृति, खानपिन लोप नहोस् भनेर थारुका विभिन्न संघसंस्था पनि संस्कृति बचाऔं अभियानमै लागेका छन्। जस्तै पश्चिम अमुवा रुपन्देही, थारु बगिया युवा संघ रुपन्देही, लुम्बिनी हस्तकला महिला उद्दमी समूहलगायतका छन्। यी संस्थाले हराउँदै गएको थारुको परम्परागत हस्तकला बचाइरहेका छन्। यसका साथै थारु महिलालाई आत्मनिर्भर बनाउनमा योगदान पुर्या इरहेका छन्।
कपिलवस्तु बर्कलपुर-७ का अधिकांश घरमा महिलाले ढकिया बनाउने गर्छन्। यकिन तथ्याङका अनुसार २२ घरका महिलाले ढकिया बुन्ने, समूहमा मिलेर बेच्ने, सामूहिकरुपमा तयार गर्ने, मेला उत्सवमा प्रदर्शन गर्ने, सामग्री जुटाउने गर्छन्। लुम्बिनी हस्तकला महिला उद्यमी समूह कपिलबस्तुकी संयोजक पुष्पा थारु भन्छिन्, ‘बर्कलपुर गाविसमा ढकिया बुन्ने,बनाउने, बेच्ने पैसा कमाउने राम्रो माध्यम बनेको छ। अहिले जसको घरमा गएपनि ढकियाको आकर्षक स्वरुप देख्न  पाइन्छ।’dhakiya-2
परम्परागत संस्कृतिलाई बुढापाखाले पनि छोडेनन् र अहिलेका नयाँ पुस्ताले पनि अंगालिरहेको राम्रो पक्ष हो। तर ढकिया बनाउनको लागि आवश्यक पर्ने कच्चा सामग्री जस्तै, मुजा, पुजा, कासलगायतका सामग्री पहिले खेतबारी, नदिनाला कुलाकाम्चामा पाइने चीज नपाइएर जंगलसम्म पुग्नुपर्ने बाध्यता आएको छ। यस्तै अनुभव बताउँदै शिवकुमारी थारु, ‘नदिनाला, कुलामा पाइने मुजापुजा, कास घरहरु प्लटिङ गरेर विल्डिङ बनाएर सखाप पारे। परम्परागत शैली नहराओस् भनेर मैले माइतबाट साथीसँग मागेर ढकिया बनाउने गर्छु।’
बद्लिँदो आधुनिक परिवेशसँगै हराउन लागेको ढकिया बनाउने परम्परा थारु महिलाले बचाइरहेका छन्। यसका साथसाथै कपिलवस्तुको हरियाली सामुदायिक बनको सहयोगमा सरकारी जग्गामा कास, मुजापुजा रोप्नको लागि सहयोग गरेको छ। बोटविरुवा रोप्नाले बातावरण सफा र स्वच्छ बनाइ प्राकृतिक प्रकोपबाट बचाउँछ। वातावरणलाई हरियो बनाउन मद्दत भएको त्यहाँका स्थानीय बासिन्दाले बताउँछन्। यसरी हेर्दा परम्परागत शैली लोप हुनबाट जोगिने र अर्कातिर बातावरणलाई पनि हराभरा बनाउन सकिने कुरा स्पष्ट हुन्छ। त्यसैले यस्ता स–साना कुराहरुमा सबैको ध्यान जान जरुरी छ।

Leave a Reply

Your email address will not be published.