सूचना प्रविधि मेला सुरु

काठमाडौं- सूचना तथा सञ्चार प्रविधिको महाभेला ‘क्यान इन्फोटेक २०१४’ को २०औं संस्करण भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आजदेखि सुरु भयो।  कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)द्वारा आयोजित सो महाभेला पुस २३ सम्म जारी रहने छ। सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विकास भएका पछिल्ला नवीनतम प्रविधिलाई सो प्रदर्शनीमा राखिएका छन्।
यसमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका हार्डवेयर, पावर सोलुसन, मोबाइल, एन्टिभाइरस, प्रिन्टर, इन्टरनेट सर्भिसजस्ता क्षेत्रको व्यवसायमा संलग्न ११९ कम्पनीको सहभागिता रहेको छ। प्रर्दशनीमा २२१ कक्ष रहेका छन्। स्मार्ट फोनका पछिल्लो प्रविधि, कोरआइ सेभन ल्यापटप नै मेलाका आकर्षण बनेका छन्।
उपराष्ट्रपति परमानन्द झाले डिजिटाइज प्रविधिद्वारा रिमोट बटन अन गरी प्रदर्शनीको शुभारम्भ गर्दै बनेपामा रहेको सूचना प्रविधि पार्क सञ्चालन ल्याउन आग्रह गरे। उनले सूचना प्रविधि रहरभन्दा नभई नहुने वस्तुका रुपमा दैनिक जनजीवनमा प्रयोग भइरहेको चर्चा गर्दै यसको विकासका लागि सरकार र निजी क्षेत्र हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए।
‘नेपाललाई विश्व मानचित्रमा चिनाउन सूचना प्रविधिले सहयोग पुर्या उने हुँदा यस क्षेत्रमा कार्यरत सबैले स्तरीय योजनाका साथ लाग्नुपर्छ। यसलाई सुशासन र पारदर्शिता प्रवर्द्धन तथा शिक्षा र स्वास्थ्यको विकासको साझेदारीका रुपमा विकसित गरिनुपर्छऽ’ उपराष्ट्रपति झाले भने।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रदीपजंग पाण्डेले बत्तीको समस्याले सूचना प्रविधिलाई निजी क्षेत्रले चाहेजति विकास गर्न नसकेको चर्चा गर्दै सूचना प्रविधिको थप विकासका लागि नयाँ ऐनको आवश्यकता रहेको धारणा राखे।
क्यानका अध्यक्ष विनोद ढकालले हालसम्म आइपुग्दा क्यानले सूचना प्रविधिलाई जनस्तरसम्म पुर्या्उन अहम् भूमिका निर्वाह गरेको र प्रदर्शनीले सूचना प्रविधिको पहुँचमा विस्तार गरेको बताए। क्यानका महासचिव अमृत पन्तले महाभेलाका अवसरमा सूचना प्रविधि सम्मेलनसमेत आयोजना गरिने जानकारी दिए। क्यानले सन् १९९५ देखि हरेक वर्ष यस्तो मेला आयोजना गर्दै आइरहेको छ। रासस

Leave a Reply

Your email address will not be published.