अब सरकारको नेतृत्व मोर्चाले गर्नुपर्छ : गृहमन्त्री गच्छदार

विराटनगर- उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले एमाओवादी, नेपाली कांग्रेस र नेकपा (एमाले) ले मुलुकको समस्या समाधान गर्न नसकेकाले अब सरकारको नेतृत्व मधेसी मोर्चाले पाउनुपर्ने दाबी गरेका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज कुरा गर्दै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री गच्छदारले कांग्रेस र एमालेबीच प्रधानमन्त्री को बन्ने भन्ने होडबाजीकै कारण देश सङ्कटपूर्ण बन्दै गएको आरोप लगाए।

उनले नेपाली कांग्रेस र नेकपा (एमाले) ले आफ्नो फाइदाका लागि राष्ट्रपति रामवरण यादवलाई उचालिरहेको समेत बताए। उपप्रधानमन्त्री गच्छदारले नेपालको अन्तरिम संविधान २०६३ अनुसार राष्ट्रपति आलङ्कारिक मात्र भएकाले सरकार विघटन गर्न वा कुनै कडा कदम चाल्न नसक्ने बताए।

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले दलहरूबीच सहमति नभएसम्म राष्ट्रपतिले वर्तमान सरकार विघटन गर्न नसक्ने ठोकुवासमेत गरे।
उनले राष्ट्रपतिले दिएको म्याद आज अन्तिम भएको बताउँदै दलहरूबीच प्याकेजमा सहमति नभएसम्म प्रधानमन्त्री डा बाबुराम भट्टराईले कुनै पनि हालतमा राजीनामा नदिनेसमेत उल्लेख गरे। रासस

Leave a Reply

Your email address will not be published.