छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण

home ministryकाठमाडौं- छिटफुट घटनाबाहेक संविधानसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको सरकारले जनाएको छ। आज साँझ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह सचिव जर्नादन नेपालले एकीकृत एवम् समन्वयात्मकरूपमा सुरक्षाकर्मीहरूको सघन परिचालन गरिएका कारण निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको बताउनुभयो। मतदान स्थल केन्द्रित सुरक्षा व्यवस्था मजबुत बनाइएका कारण निर्वाचन विरोधी राजनीतिक दल तथा समूहबाट निर्वाचन बिथोल्न गरिएका प्रयासहरू पनि निष्फल भएको उहाँले बताउनुभयो।
निर्वाचन विरोधी दल तथा समूहले मतदातालाई भय र त्रास उत्पन्न गराउने उद्देश्यले मुलुकका विभिन्न १६ स्थानमा विस्फोट गराएको र ३२ स्थानमा शङ्कास्पद वस्तु राखेको मन्त्रालयले जनाएको छ। निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै ३७ जनालाई पक्राउ गरिएको छ भने २५ जना घाइते भएका छन्।
मन्त्रालयले जुम्ला जिल्लाको देपालगाउँ गाविसस्थित त्रिभुवन उच्च मावि झारज्वाला मतदान स्थलमा नेकपा–माओवादीका कार्यकर्ताले हुलहुज्जत गरी मतपेटिका तोडफोड गरी मतपत्र छरेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन ‘हवाइफायर’ गरेको र सो घटनामा प्रहरी हबल्दार कृष्ण खड्कालाई चोट लागेको मन्त्रालयले जानकारी दिएको छ। सो मतदान केन्द्रको भने निर्वाचन स्थगित भएको छ।
त्यस्तै दाङको घोराहीस्थित करजाहीमा मतदातालाई अवरोध गर्न खोज्ने रम्तु चौधरी तथा सकेट बम र पाइप बम लिएर हिँड्ने सागर चौधरी, सन्दिप चौधरी, प्रेमलाल चौधरी, रामचन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै सर्लाही निर्वाचन क्षेत्र नं ६ मा सरस्वती निमावि मतदान केन्द्रमा हुलहुज्जत भए पनि सुरक्षाकर्मीले विरोधीहरूलाई नियन्त्रणमा लिएको मन्त्रालयले जनाएको छ। यस्तै पर्वतको ठूलोपोखरी–४ सुदर्शन उमावि मतदान केन्द्रमा ज्येष्ठ नागरिकलाई मतदान गराउने विषयमा विवाद भएको, रौतहटको मोठीयाही प्रावि भवन मतदान केन्द्रमा दलका कार्यकर्ताहरूबीच विवाद भएको, गोरखाको नारेश्वर राष्ट्रिय निमावि घलान मतदान केन्द्रमा दलका कार्यकर्ताहरूबीच विवाद भएको र सो घटना नियन्त्रणमा लिन ‘हवाइफायर’ गरिएको मन्त्रालयले जनाएको छ। गोरखाको घैरुङमा भएको घटनामा तीनजना घाइते भएका छन्।
यस्तै अर्घाखाँचीको अर्घारजस्थलमा पनि केहीबेर समस्या उत्पन्न भए पनि सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको मन्त्रालयले जानकारी दिएको छ। रामेछापको दोरम्बामा पनि केही समस्या उत्पन्न भए पनि प्रहरीले तुरुन्तै स्थिति नियन्त्रणमा लिएको थियो।
यस्तै काठमाडौँ महानगरपालिका–२१ स्थित भोटेबहाल दक्षिणकाली मन्दिरनजिक बम विस्फोट हुँदा समिर खड्गी घाइते भई वीर अस्पतालमा उपचार भइरहेको र घाइतेको अवस्था हाल खतरामुक्त रहेको छ। त्यस्तै दोलखाको मिग्रे कालीढुङ्गामा दलका कार्यकर्ताहरूबीच झडप भएको, सोही जिल्लाको छिपछिपे ठूलो पातलमा झडप हुँदा शान्ति पाखि्रनलगायत पाँचजना घाइते भएको र सो घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएको मन्त्रालयले जनाएको छ।
हुम्लाको झी गाविस मालीगाउँ मतदान केन्द्रमा भीरबाट अज्ञात व्यक्तिले ढुङ्गामुढा गर्दा स्थानीय राजबहादुर शाही घाइते हुनुभएको र उहाँलाई उद्धारको लागि हेलिकोप्टर पठाइएको, दैलेखको चामुण्डा उपमावि हाडाकोटमा नेकपा–माओवादी कार्यकर्ता प्रवेश गरी हुलहुज्ज्त गरेको र स्थितिलाई नियन्त्रणमा लिएर पुनः मतदान गरिएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै मन्त्रालयले मतपेटिकालाई सुरक्षितरूपमा मतगणना स्थलमा ल्याउन भरपर्दो सुरक्षा व्यवस्था मिलाउन र ढुवानीको आवश्यक व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.