जितको सम्भावना बोकेका थारु उम्मेदवार

लक्की चौधरी, काठमाडौं- विघटित् संविधान सभामा विभिन्न दलबाट गरी प्रत्यक्ष र समानुपातिकमा ३७ थारुहरु संविधान सभा सदस्य बन्न सफल भएपनि यस संविधान सभा निर्वाचनमा थारुको प्रतिनिधित्व कति हुन्छ अहिले आमथारुबीच चासोको विषय बनेको छ।

भानुराम थारु
भानुराम थारु

विभिन्न दलबाट गरी करिब अढाई सयबढी थारुहरु प्रत्यक्षतर्फको उम्मेदवार भएपनि औंलामा गिन्नसक्ने थारु उम्मेदवारमात्र आफ्नो क्षेत्रमा अब्बल देखिएका छन्। विशेषतः नेकपा (एमाले), नेपाली कांग्रेस, एमाओवादी, फोरम (लोकतान्त्रिक), संघीय समाजवादी पार्टी, थरुहट तराई पार्टी नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टीबाट थारु उम्मेदवारहरु प्रतिस्पर्धामा छन्।
जित्ने सम्भावना रहेका तर सुनिश्चित् नभएका थारु उम्मेदवारहरुमा कैलाली क्षेत्र नं. ३ बाट थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरी, फोरम लोकतान्त्रिकबाट रामजनम चौधरी चर्चामा छन्। तर दुवै उम्मेदवार एउटै क्षेत्रबाट प्रतिस्पर्धामा रहेकाले अन्य दलले बाजीमार्ने सम्भावना प्रवल छ।
यसैगरी नेपाली कांग्रेसका खेमराज चौधरी क्षेत्र नं. ४ मा अन्य उम्मेदवारभन्दा चर्चामा छन्। त्यस्तै एमाओवादीका गौरीशंकर चौधरी तथा संघीय समाजवादी पार्टीका होरिलाल चौधरी पनि प्रतिस्पर्धामा छन्। तीनै जनाको सम्भावना प्रवल देखिएको भए पनि थारुको मत एकापसमा काटिने हुनाले गैरथारु उम्मेदवारले बाजीमार्ने सम्भावना पनि त्यतिकै छ।

मिनराज चौधरी
मिनराज चौधरी

बर्दिया क्षेत्र नं. ४ मा थरुहट तराई पार्टी नेपालका मिनराज चौधरी, एमालेबाट लौटन चौधरी प्रतिस्पर्धामा छन्। दुवैको सम्भावना देखिएको भए पनि जित कसको पल्लामा जान्छ यसै भन्न सकिने अवस्था छैन। दाङ क्षेत्र नं. २ बाट एमालेबाट शान्ता चौधरी तथा कांग्रेसबाट सुशीला चौधरी प्रतिस्पर्धामा रहेपनि शान्ताको पक्षमा माहौल सकारात्मकरहेको बुझिएको छ। कांग्रेस र एमालेबाट दुवै थारु उम्मेदवार भएकाले थारुको मत काटिएर एमाओवादीका होमबहादुर पुनमगरले बाजीमार्नसक्ने सम्भावना पनि त्यतिकै बलियो छ।

शान्ता चौधरी
शान्ता चौधरी

यसैगरी नवलपरासी क्षेत्र नं ४ मा एमालेका वैजनाथ चौधरीको चर्चा राम्रो छ। एमालेको जनलहर सो क्षेत्रमा देखिएकाले पनि चौधरीको जित सुनिश्चित् रहेको चौधरीको दाबी छ। पुलपुलेसा, बुद्ध सर्किट, रिङरोड निर्माण, हरेक टोलमा स्यालो ट्यूबबेल निर्माण तथा प्राविधिक शिक्षालय निर्माणको चुनावी प्रतिबद्धताले चौधरीको पक्षमा माहोल बनेको स्थानीयको भनाइ छ।
नेपालका पूर्वी जिल्लामा बारा जिल्लाको क्षेत्र नं. ५ मा एमालेका बलबीर चौधरी, कांग्रेसका उमाकान्त चौधरी तथा एमाओवादीका टपेश्वर चौधरीबीच कडा प्रतिस्पर्धा छ। उमाकान्तले स्वास्थ्य मन्त्री हुँदा पनि गाउँबासीलाई कुनै प्रवाह नगरेको आरोप मतदाताहरुको छ। त्यसैले पनि एमालेका उम्मेदवार बलबीरको अवस्था बलियो बनेको स्थानीयको बुझाइ छ। नेपाल पत्रकार महासंघ बाराका सभापति लक्ष्मी साहकाअनुसार बलबीर चौधरी सबैसँग घुलमिल गर्नसक्ने र मिजासिला उम्मेदवार भएकाले उनको पक्षमा जनलहर देखिएको छ।

विजय गच्छदार
विजय गच्छदार

सुनसरी ३ मा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई एमालेकी उम्मेदवार भगवती चौधरी टक्कर दिएकी छिन्। दुवै जनाको पक्षमा माहोल देखिएको भए पनि राष्ट्रिय राजनीतिमा फिगर बनेका कारण गच्छदार नै विजयी हुने कतिपयको अड्कल छ। यद्यपि भगवतीको जितको सम्भावना पनि बलियो रहेको स्थानीयको विश्लेषण छ।
यस्तै, सुनसरी २ मा कांग्रेसका बद्रीनारायण चौधरी, फोरम लोकतान्त्रिकका नरेन्द्र चौधरीबीच प्रतिस्पर्धा छ। थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्षसमेत भएका नरेन्द्रको पक्षमा माहौल बलियो रहेको स्थानीयको भनाइ छ। सप्तरी १ मा एमाओवादीबाट मानपुर चौधरीको चर्चा छ। सो क्षेत्रबाट ठूलादलबाट थारु उम्मेदवार नरहेकाले पनि चौधरीको जित बलियो रहेको अनुमान गरिएको छ।
यस्तै, सप्तरी ४ मा एमालेको ताराकान्त चौधरी, सप्तरी क्षेत्र नं ५ मा कांग्रेसका तेजुलाल चौधरी, फोरम लोकतान्त्रिकका छेदीलाल चौधरी, तमलोपाका शंकरलाल चौधरीबीच कडा प्रतिस्पर्धा छ। यी तीनमध्ये नै कुनै एक थारुको विजय सुनिश्चित् रहेको मतदाताहरुको अनुमान छ। यसैगरी उदयपुर १ मा फोरम लोकतान्त्रिकका शुभलाल चौधरी र संघीय समाजवादी पार्टीका दिलीप चौधरीबीच प्रतिस्पर्धा छ। क्षेत्र नं. २ मा एमालेकी मञ्जु चौधरीको नाम पनि चर्चामा छ।

तेजुलाल चौधरी
तेजुलाल चौधरी

रौतहट क्षेत्र नं ५ बाट फोरम लोकतान्त्रिकका गोविन्द चौधरी, सिराहा क्षेत्र नं १ मा कांग्रेसका पद्मनारायण चौधरी र फोरम लोकतान्त्रिकका शोभानन्द चौधरीबीच प्रतिस्पर्धा छ। स्थानीयकाअनुसार दुवै उम्मेदवार स्थानीयस्तरमा राम्रा देखिएकाले जितबारे एकिन भन्नसक्ने अवस्था छैन।
यसका अतिरिक्त थारु उम्मेदवारहरु तराईका जिल्लाबाट थुप्रै भए पनि तिनीहरुको बारेमा मतदाताबीच खासै चर्चा सुनिएको छैन। थारु उम्मेदवारहरु विभिन्न पार्टीबाट आफैंमा प्रतिस्पर्धामा रहेकाले थारुको जित सुनिश्चित् हुननसक्ने थारु बुद्धिजिवीहरुको विश्लेषण छ। थारु बहुल जिल्लामा सहकार्यगरी एक निर्वाचन क्षेत्रमा एक थारु उम्मेदवारको व्यवस्था गर्नसकेको भए बीसबढी थारु उम्मेदवार प्रत्यक्षबाट विजय हुने सम्भावना रहेको थारु अगुवाहरुको बुझाई छ।

Leave a Reply

Your email address will not be published.