इतिहासकै सर्वाधिक मतदानः निर्वाचन आयोग

CA_election_11काठमाडौं- मंगलार सम्पन्न संविधानसभा सदस्यको निर्वाचनमा नेपालको निर्वाचनमा इतिहासमै सर्वाधिक बढी सरदर ७० प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले मतदाताको उत्साहजनक सहभागितामा अभूतपूर्वरूपमा निर्वाचन सफल भएको जनाएको छ। आयोगमा प्राप्त प्रारम्भिक विररणअनुसार ७० प्रतिशत मतदान भएपनि यो प्रतिशत अझ बढ्ने अनुमान गरिएको छ। निर्वाचनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको कुल सङ्ख्या १ करोड २१ लाख ४७ हजार ८६५ रहेको थियो।
अघिल्लो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ६१ दशमलव ७ र समानुपातिकतर्फ ६३ दशमलव ३ प्रतिशत मत खसेको थियो। विसं. २०४८ को आम निर्वाचनमा ६८ दशमलव १५ प्रतिशत मतदान भएको थियो। आयोगका अनुसार सबभन्दा बढी मत डोल्पामा ८० दशमलव ३ प्रतिशत खसेको छ। काठमाडौंमा ६५ प्रतिशत मतदान भएको छ।
मतदान सकिएको एक घण्टापछि आज साँझ निर्वाचन आयोगमा आयोजित विशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आफूले सबैमा हर्ष र गौरव बाँड्न चाहेको भन्दै आज खसेको मत नेपालको निर्वाचन इतिहासकै सर्वाधिक बढी भएको बताउनुभयो।
उहाँले यो निर्वाचन लोकतन्त्रलाई संस्थागत गराउने क्रममा रहेका कतिपय मुलुकका लागि उदाहरणीय हुने पनि बताउनुभयो। यसरी बढी सङ्ख्यामा मतदान हुनुको कारण के हुन सक्ला भन्ने सम्बन्धमा सोधिएको प्रश्नमा प्रमुख आयुक्त उप्रेतीले प्रविधिको प्रयोग, फोटोसहितको नामावली र अन्तिम समयमा भएपनि वितरण गरिएको मतदाता परिचयपत्रका कारण यो सफलता मिलेको बताउनुभयो। CA_election_ktm-2
उहाँले भन्नुभयो, ‘यो उत्साहजनक सहभागिताले राजनीतिलाई ठीक बाटोमा ल्याउन मतदाता आतुर रहेछन् भन्ने पनि देखाएको छ।’ प्रमुख आयुक्त उप्रेतीले यस सफलताका लागि सम्पूर्ण मतदाता, राजनीतिक दल, उम्मेद्वार, नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र अन्य सबै सरोकारवालाहरूलाई हार्दिक बधाई र धन्यवाद दिनुभयो।
उप्रेतीले निर्वाचन सफल भएर आज देखिएको खुशीलाई दीगो खुशीमा परिणत गर्न जनताले रोजेका प्रतिनिधिले यस पटक संविधान बनाउने र अब अर्काे पटक संविधानसभाको निर्वाचन गर्नु नपर्ने विश्वास पनि व्यक्त गर्नुभयो। ‘निर्वाचनको यो सफलताले हाम्रो लोकतान्त्रिक विधिलाई पूर्णतामा पुर्यारउने छ भन्नेमा आयोग विश्वस्त छ।’ उहाँले भन्नुभयो।CA_election_sunsari-3
रोल्पाको थवाङ गाविसमा कुनै पनि मतदाता निर्वाचनको प्रक्रियामा सहभागी नभएको घटनालाई आयोगले अपवादकारूपमा लिएको छ। यस्तै जुम्लाको देपाल गाउँको त्रिभुवन उमावि मतदान केन्द्रबाहेक अन्य कुनै ठाउँमा मतदान स्थगन नभएको पनि आयोगले स्पष्ट गरेको छ।
कतिपय जिल्लामा बुथ कब्जा भएको भन्ने सम्बन्धमा आयोगले बाहिरबाट सुनेको भएपनि हालसम्म प्रक्रियागत (कानुनी) रूपमा आफूहरूलाई कुनै लिखित जानकारी नआएको तथा सो कुनै ठाउँमा पुनः मतदान गर्ने या नगर्ने भन्नेबारेमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले निर्णय गर्ने प्रमुख आयुक्त उप्रेतीले पत्रकारहरूलाई बताउनुभयो।
निर्वाचनको मतगणना आजै रातिबाट सुरु हुने र ७ देखि १० दिनभित्र परिणाम आउने विश्वास आयोगको छ। मतदाता नामावलीमा गरिएको शुद्धीकरण र फोटोसहितको परिचयपत्रले निर्वाचनलाई शुद्ध र सहज बनाउन महत्वपूर्ण योगदान गरेको आयोगको भनाई छ।
सङ्क्रमणकालीन चुनौतीका बीच सम्पन्न आजको निर्वाचन स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न भएको जानकारी गराउन पाउँदा मलाई हर्ष र गौरव लागेको भन्दै उहाँले चुनावी प्रतिस्पर्धालाई सकेसम्म संयम र धैर्य अपनाउ“दै सहज सम्पन्न गर्न मद्दत पुर्यारएकोमा राजनीतिक दल र उम्मेद्वारहरूलाई पनि धन्यवाद दिनुभयो।CA_election_10
केही छिटपुट घटनाबाहेक आजको निर्वाचन देशभर शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको प्रारम्भिक जानकारी प्राप्त भएको आयोगले जनाएको छ। तर मतदान कार्य शान्तिपूर्णरूपमा सम्पन्न भए पनि निर्वाचनको प्रक्रिया पूरा हुन बा“की रहेको, मतपेटिका सङ्कलन, मतगणना र परिणाम घोषणासम्मका सबै काम उत्तिकै संवेदनशील र महत्वपूर्ण भएको आयोगले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिमा उल्लेख छ।
यी कार्यलाई पनि उत्तिकै धैर्य र संयमताका साथ सम्पन्न गर्न राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सबै सरोकारवालाहरूलाई आयोगले आग्रह गरेको छ।
दार्चुलामा ८० प्रतिशत मत खस्यो
दार्चुलामा मतदान शान्तिपूर्णरूपमा सम्पन्न भएको छ। बिहान ७ बजेबाटै सुरु भएको मतदानमा ५ बजे सम्ममा जिल्लाभरका १२६ मतदान केन्द्रमा करिब ८० प्रतिशत मतदाताले मत खसालेको दार्चुलाका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो।
जिल्लाका तीन अस्थायीसहित १२९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रहरी नायब उपरीक्षक टीकाबहादुर विष्टले रासससँग बताउनुभयो। एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा ६६ हजार ८२ मतदाता छन्। जिल्लामा १२ राजनीतिक दलका १२ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन्।
जिल्लाका व्यास, खण्डेश्वरी, घुसा, सितौलालगायत छवटा गाविसमा रहेको १२ वटा मतदान केन्द्रबाट हेलिकोप्टरमार्फत मतपेटिका ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो। CA_election_9
धनुषामा ७० प्रतिशत मत खस्यो
शान्तिपूर्ण सम्पन्न संविधानसभाको निर्वाचनमा धनुषा जिल्लामा ७० प्रतिशत मत खसेको बताइएको छ। सात निर्वाचन क्षेत्र रहेको धनुषामा तीन लाख ३७ हजार ६९३ मतदातामध्ये आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा करिब ७० प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो।
अघिल्लो संविधानसभाको निर्वाचनभन्दा यो संविधानसभाको निर्वाचनमा बढी मतदान केन्द्रहरू भएकाले मतदाताहरूले निर्धक्क भई उत्साहपूर्वक मतदान गरेका थिए। धनुषाको सपही मतदान केन्द्रमा नेपाली काँग्रेस र तराइ मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ताबीच सामान्य झड्प भएको थियो भने जनकपुरको भानुचौकस्थित नेपाल बैंक लिमिटेड पछाडि फेला परेको बम नेपाली सेनाले निस्कृय पारेको थियो। अन्य मतदान केन्द्रमा भने कुनै अप्रिय घटना भएनन्।
बेलुका ५ बजे मतदान सकिएपछि मतपेटिकाहरू सदरमुकाम जनकपुर ल्याउने काम भइरहेको छ। धनुषा जिल्लामा रहेको ३०८ मतदान स्थलमध्ये १२५ मतदान स्थललाई सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील मानिए पनि सुरक्षा व्यवस्था अति कडा पारिएको थियो। CA_election_8
चितवनमा ७५ प्रतिशत मत खस्यो
संविधानसभाको आज सम्पन्न निर्वाचनमा चितवनमा ७५ प्रतिशत मत खसेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले हालसम्मको तथ्याङ्कलाई हेर्दा ७० देखि ७५ प्रतिशतको हाराहारीमा मत खसेको बताउनुभयो। पहिलो संविधानसभाको निर्वाचनमा चितवनमा ६२ दशमलव ७७ प्रतिशत मत खसेको थियो। त्यतिबेला विवादका कारण आठवटा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको मुख्य निर्वाचन अधिकृत आचार्यले बताउनुभयो।
आजको निर्वाचनमा जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गबाट मतदान सम्पन्न भएको र मतपेटिका ल्याउने कार्य सुरु भएको उहाँले बताउनुभयो। चितवनमा दुई लाख ७३ हजार ८०३ मतदाता रहेका छन्। ८० प्रतिशतले परिचयपत्र लिएका थिए।
जिल्लाका पाँच निर्वाचन क्षेत्रका अस्थायी १० सहित ३८८ मतदान केन्द्रबाट मतदान गरिएको थियो। मतपेटिका सङ्कलनपश्चात दलका प्रतिनिधिहरूसँग छलफल गरी मतगणना थाल्ने प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताउनुभयो। पहिलो संविधानसभाको निर्वाचनमा तीनलाख ८२ हजार ५८० मतदाता रहेका थिए। CA_election_7

ललितपुरमा ९० प्रतिशतसम्म मतदान

संविधानसभा सदस्यको निर्वाचनका लागि ललितपुर जिल्लाको तीनवटै क्षेत्रमा सफलतापूर्वक मतदान कार्य सम्पन्न भएको छ। क्षेत्र नं. १ मा ४०, क्षेत्र नं. २ मा ३८ र क्षेत्र नं. ३ मा ३२ गरी ११० प्रत्यक्षतर्फका उम्मेदवार आफ्नो भाग्यको फैसलाका लागि सो निर्वाचनमा सहभागी भएका थिए। संविधानसभामार्फत आफैँले चाहेबमोजिमको संविधान जारी गर्ने उद्देश्यले ती ११० उम्मेदवारमध्ये तीनजनालाई आफ्नो जनप्रतिनिधिको रूपमा स्वीकार गर्न दुई लाख १९४ जना मतदाता आज बिहानैदेखि चुनावी मैदानमा उत्रिएका थिए।
क्षेत्र नं १ मा ५३, क्षेत्र नं २ मा ३८ र क्षेत्र नं ३ मा ३६ गरी १२७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि प्रारम्भ भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रमुख निर्वाचन अधिकृत टेकनारायण कुँबरका अनुसार तीनवटै निर्वाचन क्षेत्रका १२७ मतदान केन्द्रबाट प्राप्त विवरणअनुसार निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको हो। शान्तिपूर्वक मतदान भएका कारण अधिकांश स्थानमा ८० देखि ९० प्रतिशतसम्म मतदान भएको खबर प्राप्त भएको उहाँले बताउनुभयो। CA_election_6
सिन्धुपाल्चोकमा ७० प्रतिशत मतदान
आज भएको संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोकका सबै २५० मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ। तीन निर्वाचन क्षेत्र रहेको जिल्लाको कुल एक लाख ७१ हजार १०४ मतदाता रहेकामा जिल्लाभर ७० प्रतिशत मत खसेको पूर्वानुमान रहेको जिल्ला निर्वाचन अधिकृत उमेशकुमार राईले जानकारी दिनुभयो। केही मतदान केन्द्रभन्दा बाहिर सामान्य छिटपुट विवादबाहेक सबै मतदान केन्द्रमा उत्साहजनकरूपमा मतदान भएको अधिकृत राईले बताउनुभयो।
उहाँका अनुसार मतपेटिका सदरमुकाममा ल्याउन तीनवटै क्षेत्रको बाह्रबिसे, जलवीरे, मेलम्चीलगायतका इलाका प्रहरी कार्यालयहरूमा मतपेटिका सङ्कलन केन्द्र कामय गरी यातायात सेवामार्फत आज बेलुका १० बजेसम्म आइसक्नेछ। केही दुर्गम स्थानहरूबाट भने भोलि बिहान १० बजेसम्म सदरमुकाम आइसक्ने बताइएको छ।CA_election_5
सबै मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलले बताउनुभयो। जिल्लामा २६ दलका सात महिला र दुई स्वतन्त्रसहित ५४ जना उम्मेदवार रहेका छन्।
मकवानपुर ७५ प्रतिशत मत खस्यो
मकवानपुर जिल्लामा आज भएको संविधानसभाको निर्वाचनमा ७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यसैगरी क्षेत्र नं. ३ को हेटौँडा नगरपालिकालगायत तीन गाविसबाट मतपेटिकाहरू सदरमुकाम ल्याउने काम भइरहेको र सबै क्षेत्रको मतपेटिका आइसकेपछि भोलिबाट मत गणना हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
संखुवासभामा ७० प्रतिशत मतदान
यस जिल्लामा भएको संविधानसभाको निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाको दुईवटा क्षेत्रमा भएको निर्वाचन शान्तिपूर्ण रूपमा भएको र पहाडी भेगका सयौं मतदान केन्द्रमा सञ्चारसम्पर्क हुन नसकेको र ती स्थानबाट हेलिकोप्टरमार्फत मतमेटिकाहरू सदरमुकाम ल्याउने काम भइरहेको बताइएको छ। CA_election_4
भोलि बिहानसम्म सबै ठाउँबाट मतपेटिका सङ्कलन गरी तुरुन्तै मतगणना सुरु हुने पनि जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
बारामा ७५ प्रतिशत मत खस्यो
आज सम्पन्न संविधानसभा निर्वाचनमा निर्वाचनमा बारामा ७५ प्रतिशत मत खसेको बताइएको छ। छवटा निर्वाचन क्षेत्रमा दुई लाख ९६ हजार ५२० मतदाता रहेकामा आजको निर्वाचनमा ७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार मतपेटिका सदरमुकाम ल्याउने क्रम जारी रहेको र मतगणना भोलिबाट सुरु गरिने बताइएको छ।
धादिङमा करिब ७५ प्रतिशत मतदान
संविधान सभाको निर्वाचनमा धादिङ जिल्लाभर नै शान्तिपूर्वक सम्पन्न भएको छ। सदरमुकामस्थित नीलकण्ठ उच्च मावि मतदान केन्द्रमा दुई परिवारका चार जना किरियापुत्रीले मतदान गरेका छन्। मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलका अनुसार जिल्लाभरी नै ७० देखि ७५ प्रतिशतसम्म मतदान भएको र मतदान गर्नेरुमा महिलाको सङ्ख्या बढी रहेको छ।CA_election_tanahu-1
गाविसहरूको विवरण मतदान सम्पन्न गरी मतदान अधिकृत फर्केपछि मात्र उपलब्ध हुन सक्ने भए पनि नीलकण्ठ गाविसको दुई मतदान स्थलमा पाँच हजार २९३ जनाले मतदान गरेका छन्। नीलकण्ठ गविसको मतदाता सङ्ख्या छ हजार ७४५ रहेको छ।
धनकुटामा ६० प्रतिशत मतदान
संविधानसभा निर्वाचनमा यहाँ मतदान हुँदै गर्दा धनकुटा जिल्लामा ६० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार अपराह्न २ बजेसम्म सो मात्रामा मत खसेको हो। शान्तिपूर्ण र धाँधलीरहित तरिकाले भइरहेको निर्वाचनमा उत्साहपूर्ण मत खसेको जिल्ला निर्वाचन अधिकृत सुवर्ण घिमिरेले जानकारी दिनुभयो। यहाँ सरदर ७० प्रतिशत मत खस्ने अनुमान गरिए पनि मतदाताको उपस्थिति र उत्साह हेर्दा सोभन्दा बढी मत खस्ने मुख्य निर्वाचन अधिकृत युवराज गौतमले विश्वास गर्नुभयो।

-प्रकाश सिलवाल/रासस

Leave a Reply

Your email address will not be published.