सुनसरी ३ मा गच्छदारका ३१ प्रतिद्वन्द्वी

Bijay Kumar Gachhadarविराटनगर- संविधान सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट विजयी हुने उम्मेदवारबारे यहाँका मतदातामाझ कौतुहलता बढेको छ। आदिवासी थारु, मुस्लिम, रौनियार, मुसहर, यादव र पहाडी समुदायको मिश्रित बसोबास रहेको यस क्षेत्रमा ६३ हजार ८०९ मतदाता छन् र यहाँबाट ३२ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्। यस क्षेत्रमा नेपाली काँग्रेस, मधेसी जनाअधिकार फोरम(लोकतान्त्रिक), मधेसी जनाअधिकार फोरम नेपाल, नेकपा (एमाले) र एमाओवादीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

यो निर्वाचन क्षेत्रबाट फोरम (लोकतान्त्रिक)का राष्ट्रिय अध्यक्ष विजयकुमार गच्छदार काँग्रेसमा रहँदा देखि नै निर्वाचनमा विजयी बन्दै आएका छन्। उनी कांग्रेसका तर्फबाट २०४८, २०५१ र २०५६ सालमा र मधेसी जनाअधिकार फोरम नेपालबाट २०६४ सालको संविधान सभाको निर्वाचनमा विपक्षीलाई दोब्बर मतले पछि पार्दै विजयी भएका थिए।
२०६४ मा उनले २३ हजार ७६९ र उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अगमलाल चौधरीले १० हजार ८०६ हजार मत ल्याएका थिए। सोही निर्वाचनमा तत्कालीन नेकपा (माओवादी)का रामकुमार चौधरीले पाँच हजार ७१, नेकपा (माले)का कृष्णलाल दास थारुले एक हजार १९४ र नेकपा (एमाले)का श्रीकुमारी थरुनीले पाँच हजार ७२३ मत प्राप्त गरेका थिए।
त्यस बेलामा मधेसी आन्दोलनका कारण कांग्रेसबाट फोरम नेपालमा प्रवेश गरेका गच्छदारलाई यस पटकको निर्वाचनमा गाह्रो भइरहेको कार्यकर्ताको भनाइ छ। यस पटकको निर्वाचनमा थारु समुदायकै चर्चित महिला भगवती चौधरीले एमालेबाट उम्मेदवारी दिएकाले अध्यक्ष गच्छदारलाई थारु समुदायको सम्पूर्ण मत पहिलेको जस्तो नआउने विश्लेषण गरिँदैछ।
सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट काँग्रेसले गोमा पराजुली अन्सारी, एमाओवादीले मोहम्मद हैदर अली र फोरम नेपालले रञ्जित गोस्वामी, सङ्घीय समाजवादी पार्टीले अशोककुमार विश्वास, सद्भावना पार्टीले धर्मेन्द्रकुमार राय र राप्रपा नेपालले चन्दनकुमार चौधरी तथा तराई मधेस लोकतान्त्रिक पार्टीले मनिषप्रसाद रौनियारलाई चुनावी मैदानमा उतारेका छन्।
चौध गाविस रहेको यस क्षेत्रमा दुहवी नगरोन्मुख गाविसमा १० हजार २१९, सोनापुरमा पाँच हजार ३२८, तनमुनामा चार हजार १९०, पूर्वकुशहामा चार हजार २५२, चाँदवेलामा तीन हजार २५१, मधेलीमा चार हजार १९०, छिटहामा पाँच हजार २७६ र भलुवामा दुई हजार ५७० मतदाता छन्।
यस्तै, औरावनीमा तीन हजार ९१४, अमाही वेलहामा तीन हजार ९८७, अमडुवामा पाँच हजार २२१, सिमरियामा तीन हजार ४७२, रामगन्जमा चार हजार ४०१ र चिमडी गाविसमा तीन हजार ४७२ मतदाता छन्। यहाँ पच्चिस वटा निर्वाचन केन्द्र राखिएका छन्। –मोहम्मद सदरुल/रासस

Leave a Reply

Your email address will not be published.