दाङमा चुनावी चटारो

dang tharu compititorदाङ- संविधान सभा निर्वाचनको मिति नजिकिँदै जाँदा दाङमा पनि चुनावी चटारो तीव्र रुपमा अगाडि बढेको छ। विभिन्न राजनीतिक दल र स्वतन्त्रले उम्मेदवारी दिएकाले मतदातासँग प्रत्यक्ष भेटघाट, घरदैलो, कोणसभा लगायतका अभियान लिएर मतदातासमक्ष पुग्ने र आफ्नो माग राख्ने क्रमलाई यतिखेर तीव्र पारेका छन्। उम्मेदवारको प्रचारको तीव्रतालाई हेर्दा उक्त निर्वाचन क्षेत्रमा चुनावले प्रायः सबै तहलाई छोएको देखिन्छ। यहाँका चोक, गल्ली, चियापसलदेखि सार्वजनिक स्थानमा चुनावी रौनक बढ्नुका साथै कुन पार्टीका उम्मेदवारले जित्ला भन्ने पूर्व आङ्कलन पनि सुरु भइसकेको छ। कुल मतदाता ४६ हजार १२७ रहेको सो क्षेत्रमा मुख्य तीन दलका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा रहेको छ।

नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य पार्वती डिसी चौधरीलाई, एकीकृत माओवादीले केन्द्रीय सदस्य नारायणी शर्मा (प्रतीक्षा)लाई र नेकपा (एमाल)ले एमाले दाङका पूर्वअध्यक्ष एवम पुराना नेता रेवतीरमण शर्मा घिमिरेलाई चुनावी मैदानमा उतारेको छ।

तीमध्ये चौधरी र घिमिरे स्थानीयवासी नै रहेका छन् भने एकीकृत नेकपा (माओवादी)का उम्मेदवार शर्मा भने जिल्लावासी हुन्। उनी घोराही नगरपालिका–२ पनौरा निवासी हुन्। यो क्षेत्रमा तीनजना उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा रहेको छ।

त्यस्तै सोही क्षेत्रमा सद्‍भावना पार्टीले मुकेश चौधरी, नेपाल सद्‍भावना पार्टीले सोमप्रसाद चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले वीरेन्द्रकुमार चौधरी, राष्ट्रिय जनमोर्चाले ओमबहादुर केसी, मधेसी जनअधिकार फोरम गणतान्त्रिकले कृष्णगोपाल गुप्ता, राप्रपा नेपालले विनोदकुमार चौधरी, राष्ट्रिय मधेस समाजवादी पार्टीले प्रभाकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ।

यस्तै, तराई मधेस सद्‍भावना पार्टी नेपालले रामपाल यादव, नेपाल आमा पार्टीले कुलराज चौधरी, सङ्घीय समाजवादी पार्टी नेपालले प्रकाश चौधरी, अखण्ड नेपाल पार्टीले शान्ताकुमारी चौधरी, सङ्घीय सद्‍भावना पार्टीले चुडामणि चौधरी, राप्रपाले कमलनारायण चौधरी, नेपाल परिवार दलले सुनिता चौधरी, नेकपा (माले)ले मानबहादुर चौधरी, नेपाल कम्युनिस्ट पार्टीले झगबहादुर चौधरी, तराई मधेस लोकतान्त्रिक पार्टीले सुधिर चौधरी, थारू सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटले लीलाराम चौधरी, मधेसी जनअधिकार फोरम नेपालले अशोककुमार यादव, थारू हट तराई पार्टी नेपालले नन्दकुमार चौधरी र समाजवादी जनता पार्टीले कर्णबहादुर पुनलाई चुनावी मैदानमा उतारेको छ।
यसैगरी स्वतन्त्रबाट प्रकाश जिसी र लीलाराम खनाल पनि चुनावी मैदानमा उत्रिनुभएको छ। यस क्षेत्रमा धेरै उम्मेदवार थारू समुदायका छन्। अहिले सबै उम्मेदवार आआफ्ना पार्टीका धारणा र विकासका योजना लिएर मतदातासमक्ष पुगिरहेका छन्। विगतका संसदीय चुनावमा त्यस क्षेत्रबाट काँग्रेसले जित्ने गरेको भए पनि विसं २०६४ को संविधान सभा निर्वाचनमा हालः माओवादी वैद्य समूहमा रहेका इन्द्रजित चौधरीले त्यस क्षेत्रबाट चुनाव जितेका थिए।
अहिले माओवादी विभाजन भएकाले एकीकृत माओवादीलाई पनि चुनाव जित्न त्यति सजिलो छैन भन्ने आङ्कलन नआएका भने होइन्। तर पनि एमाओवादीले यस क्षेत्रमा आफ्नो चुनावी वातावरण राम्रो भएको दाबी गरेको छ। आफू एउटा महिलासमेत भएकाले पार्टीले पनि मुलुकका किसान, मजदुर, महिला, उपेक्षित, उत्पीडित वर्गको अधिकार सुनिश्चित गर्ने गरी संविधान निर्माण गर्ने एजेन्डा बोकेको हुँदा यस क्षेत्रका सबै वर्गले आफूलाई मत दिई विजयी गराउने एकीकृत माओवादीका उम्मेदवार शर्माको दाबी छ।

विगतका संसदीय व्यवस्थामा काँग्रेसले त्यस क्षेत्रमा जितेको थियो। नेपाली काँग्रेसका उम्मेदवार पार्वती डिसी चौधरीले आफू लामो समयदेखि स्थानीयस्तरमा बसेर यहाँका जनताको सुखदुःखमा साथ दिइरहेको हुँदा आफ्नो जित सुनिश्चित रहेको दाबी गरिन्। तर क्षेत्र नं १ बाट काँग्रेसका क्षेत्रीयस्तरका नेता लीलाराम खनालले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएकोले यस पटक काँग्रेसलाई त्यस क्षेत्रमा चुनाव जित्न हम्मेहम्मे परेको देखिन्छ।

विगतमा काँग्रेस र माओवादीले त्यस क्षेत्रमा जितेका भए पनि अहिले तिनीहरूबाट फुत्काउँदै चुनावी परिणम हात पार्ने दाउमा एमाले लागेको छ। त्यसका लागि एमालेका उम्मेदवार रेवतीरमण शर्मा घिमिरेले आफ्नो पक्षमा चुनावी परिणाम ल्याउन घरदैलो, चुनावी भेला जारी राख्नुभएको छ। उनले आफू स्थानीयवासी भएकाले यहाँका नागरिकलाई सुख दुःखमा साथ दिइरहेको हुँदा आफ्नो जित सुनिश्चित हुने दाबी गरे।
कोइलावास, गङ्गापरस्पुर, गढवा, गोवडिया चैलाही, राजपुर, बेला, सतबरिया र सोनपुर गरी जम्मा नौवटा गाविस पर्ने त्यस क्षेत्रमा कुल मतदाता सङ्ख्या ४६ हजार १२७ र ६७ वटा मतदान केन्द्र रहेको छ।
दाङमा कुल दुई लाख ४१ हजार ७०९ मतदाता रहेका छन् भने जिल्लामा छवटा अस्थायीसहित कुल ३३७ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ।
– नारायणी रजौरे/रासस

Leave a Reply

Your email address will not be published.