नेकपा–माओवादीको महाधिवेशन सुरु

राष्ट्रिय सार्वभौमसत्ता खतरामा परेको नेताहरुको भनाइ- काठमाडौं- नेकपा–माओवादीको सातौँ महाधिवेशन आजदेखि सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्र काठमाडौँको सहिद मञ्चमा एक कार्यक्रमबीच सम्पन्न भएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष मोहन वैद्यले महाधिवेशनले नयाँ नीति र कार्ययोजना पारित गर्ने बताउनुभयो। उहाँले महाधिवेशनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने विधि र प्रक्रियाबारे गम्भीर बहस र छलफल हुने बताउनुभयो।

देश गम्भीर राजनीतिक सङ्कटका फसेको छ भन्दै उहाँले त्यसबाट पार लगाउन संसद्वादी शक्तिले मात्रै केही गर्न नसक्ने भएकाले आफूहरुसहितको नयाँ सहमति र सम्झौताको आवश्यकता रहेको बताउनुभयो। मुलुकको राष्ट्रियता र सार्वभौमसत्ता खतरामा परेको औँल्याउँदै उहाँले भारतीय शासक वर्गले नेपालको स्वाभिमानमाथि गिद्देदृष्टि लगाएको आरोप लगाउनुभयो।

जनयुद्धकालका मुद्दा फिर्ता लिने सहमतिविपरीत जनयुद्धकालका मुद्दा ब्युँताएर आफ्ना नेता –कार्यकर्ता पक्राउ गरिएको सन्दर्भ जोड्दै अध्यक्ष वैद्यले भन्नुभयो,“मुद्दा लगाउने कुराले शान्तिसम्झौता धुजा धुजा भएको छ, जनयुद्धकालका घटनाबारे सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर सो आयोगले मात्रै छानबिन गरिनुपर्छ।“एकीकृत नेकपा(माओवादी)को नवसंशोधनवादी र राष्ट्रिय आत्मसर्मपणवादी नेतृत्वले क्रान्तिलाई धोका दिएपछि’ आफूहरुले उनीहरुसँग सम्बन्धविच्छेद गरेर नयाँ पार्टी खोल्नुपरेको हो”–उहाँले भन्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीका महासचिव रामबहादुर थापाले नेपालमा गणतन्त्र आए पनि सो गणतन्त्रलाई दलालतन्त्र, भ्रष्टतन्त्र, कमिसनतन्त्र र डनतन्त्रका रुपमा विकास गरिएको भन्दै आपत्ति जनाउनुभयो। आफूहरु जनताको गणतन्त्र स्थापना गर्न लागिपरेको उल्लेख गर्दै उहाँले देशभक्तिपूर्ण आन्दोलनले मात्रै दलालतन्त्रको अन्त्य गर्न सक्ने बताउनुभयो। महासचिव थापाले भन्नुभयो,“सुगौली सन्धिदेखि बाह्रबुँदे सहमतिदेखि यहाँसम्म आइपुग्दाका अनुभवलाई नयाँ विचारमा सष्लेेषित गर्दै महाधिवेशनबाट नयाँ सिद्धान्त र नयाँ कार्यदिशाको विकास गरिन्छ।”

महाधिवेशनलाई शुभकामना दिँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता, सार्वभौसमसत्ता र अखण्डता खतरामा परेको भन्दै त्यसको रक्षाका लागि सबै देशभक्त एकजुट हुनुपर्ने अवस्था आएको बताउनुभयो। मधेसी जनअधिकार फोरम नेपालका सचिव रत्नेश्वर कायस्थले वर्तमान सरकारको बहिर्गमन र नयाँ राष्ट्रिय सहमतिको सरकारले मात्रै वर्तमान राजनीतिक सङ्कटको अन्त्य हुने विचार व्यक्त गर्नुभयो।

नेकपा(माओवादी)का अध्यक्ष मातृका यादवले महाधिवेशनका लागि अध्यक्ष वैद्यले प्रस्तुत गर्ने प्रतिवेदन अपुरो र अधुरो रहेको विचार व्यक्त गर्र्दै त्यसलाई स्पष्ट पार्न महाधिवेशनमा कार्यकर्ताले आवाज उठाउनुपर्ने बताउनुभयो। क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले माओवादी महाधिवेशनले वामपन्थी र देशभक्तको संयुक्त मोर्चा बनाएर अगाडि बढ्ने गरी नेपालको जनवादी क्रान्तिको नयाँ नमुना विकास गर्नुपर्नेमा जोड दिनुभयो।

सङ्घीय समाजवादी पार्टीका उपाध्यक्ष हेमराज राई, नागरिक समाजका डा सुन्दरमणि दीक्षित र प्रा माणिकलाल श्रेष्ठले जनताको अधिकारको रक्षा गर्नेतर्फ ठोस कार्ययोजना ल्याउन माओवादीलाई आग्रह गर्नुभयो।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट नेपालका लागि चिनका राजदूत याङ हौलान, प्रजग कोरियाको वर्कस पार्टीका तर्फबाट नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ सुङ सहभागी हुनुहुन्थ्यो। महाधिवेशनको सफलताको शुभकामना दिन टर्कीका मार्क्सवादी लेनिनवादी पार्टीका प्रतिनिधि लिना, क्यानडा कम्युनिस्ट पार्टीका प्रतिनिधि नुआ नान, भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी–लेनिनवादी(न्यु डेमोक्रेसी)का प्रतिनिधि मोहन, भारत कर्णाटकबाट क्रान्तिकारी कम्युनिस्ट पार्टीका वीरेन्द्रलगायतले महाधिवेशनको सफलताको शुभकामना दिँदै विश्व समुदायले नेपालमा क्रान्ति भएको हेर्न चाहेको बताउनुभयो।

महाधिवेशनमा विश्वका डेढ दर्जनभन्दा बढी देशका कम्युनिस्ट पार्टीले सफलताको शुभकामना पठाएको जानकारी दिइएको थियो।

यसअघि काठमाडौँका विभिन्न स्थानबाट विभिन्न जातजातिको वेशभूषासहित माओवादी कार्यकर्ताको जुलुस सहिद मञ्चमा आएको थियो। बिहीबार बिहान ८ बजेदेखि नेपाल प्रज्ञा –प्रतिष्ठानमा महाधिवेशनको बन्दसत्र सुरु हुने कार्यक्रम रहेको पार्टीले जनाएको छ। महाधिवेशनमा देशभरबाट करिब एक हजार छ सय प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको बताइएको छ। महाधिवेशन नयाँ नेतृत्व र कार्यदिशा चयन गर्दै यही पुस २९ गते सम्पन्न हुने छ। रासस

 

Leave a Reply

Your email address will not be published.