गुडिरहेको यात्रुबाहक बसमा आगजनी

चितवन- चितवनको जुगेडीमा बन्दकर्ताहरूले गएराति गुडिरहेको एक यात्रुबाहक बसमा आगजनी गरेका छन्। सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना४ख ४७३४ नम्बरको बसमा माथि डाँडाबाट फ्याँकेको आगो सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक सञ्जय राउतले जानकारी दिए। राति अन्दाजी १:३० बजेको समयमा डाँडा माथिबाट आगो फ्याँकेर गाडी जलाएकाले उनीहरूलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ। उक्त गाडी स्कर्टिङभन्दा पछि आएकाले जल्नबाट रोक्न नसकिएको प्रहरीको भनाइ छ।
आगो सल्किएपछि यात्रुहरू भने भागेर ज्यान जोगाउन सफल भएकाले कुनै मानवीय क्षति नभएको राउतले बताए। उनका अनुसार राति सबै सवारी प्रहरीको स्कर्टिङमा गन्तव्यतर्फ पठाइएको छ।
यसैबीच पूर्व चितवनको खैरहनी–२ वैरहनीमा सिलिन्डर बम बिष्फोट भएको छ। राति आफैँ पड्किएको उक्त बमबाट कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ। बन्दको त्रासका कारण यहाँ सोमबारदेखि नै निर्वाध रूपमा सवारी सञ्चालन हुन सकेको छैन। रासस

Leave a Reply

Your email address will not be published.