गच्छदारलको मनोमानीप्रति उपाध्यक्षहरु असन्तुष्ट, रामजनमसहित चार जनाको राजीनामा

Bijay Kumar Gachhadar

काठमाडौं- फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मोमानी ढंगले समानुपातिकतर्फको सभासद् छनौट गरेको भन्दै निर्वाचित सदस्यसहित चार जनाले राजीनामा दिएका छन्। गच्छदारले पार्टीका नेतालाई भन्दा पनि आर्थिक लेनदेनको हिसाबले सभासद् छनोट गरेको आरोप लगाएका छन्। राजीनामा दिने कैलाली ३ बाट विजयी भएका रामजनम चौधरी, केन्द्रीय सदस्य मंगलप्रसाद थारु, मानबहादुर महतो र सरिफ अहमद सिद्धिकी छन्।

पार्टीले निर्वाचनअघि तराईको चितवन पश्चिम र पूर्व गरी दुई प्रदेशको खाका सार्वजनिक गरेको थियो। सोही प्रदेशका आधारमा पनि पार्टीले पाएको १० सभासद्को विभाजन हुनुपर्ने उनीहरुको माग छ। ‘अध्यक्षसँग सैद्धान्तिक मतभेद भएपछि राजीनामा दिएको हुँ,’ रामजनमले भने, ‘पार्टीले तराईमा दुई प्रदेश बनाउने भनेको छ, मैले नारायणी पूर्व ५ सभासद लिनुस् र नारायणी पश्चिमबाट ५ सभासद मागेको हुँ।’ उनले ५ सिट नपाए नारायणी पश्चिमबाट कम्तिमा ३ सभासद् बनाउनुपर्ने आफ्नो बटमलाइन भएको बताएका थिए। ‘हामीले ५ हुँदैन भने ३ दिनुस् भन्यौं,’ उनले भने, ‘तर उहाँले मान्नुभएन, १ मात्र दिनुभयो।’ त्यसैले अन्याय भयो भनेर राजीनामा दिएको उनले स्पष्ट पारे।

समानुपातिक सूची विषयमा अध्यक्षले मनोमानी गरेको भन्दै उपाध्यक्ष रामेश्वर राय यादव, उपाध्यक्षहरु गोविन्द चौधरी, नसिर सिद्दिकी र दानबहादुर चौधरी, महासचिव जितेन्द्र देव, सचिव रविन्द्र ठाकुर र भन्द्रेश्वर खत्वेले निर्वाचन आयोगमा उजुरीसमेत दिएका छन्।

उनीहरुले पार्टीभित्रैका व्यक्तिलाई सभासद बनाउन माग गरेका छन्। रामेश्वर रायसहितको समूहले बुधबार अध्यक्ष गच्छदारलाई भेटेर तत्काल निर्णय सच्याउन माग गरेका छन्।

असन्तुष्ट नेताहरुले एन प्याप्सनका अध्यक्ष गीता राणा, प्याप्सनका अध्यक्ष बाबुराम पोखरेल, डा. सुवोध पोखरेल र उद्योगपति पवन सारडालाई सभासद बनाएकोमा आपत्ति जनाएका हुन्।

Leave a Reply

Your email address will not be published.