सम्झना कठोर यात्राको (पुस्तक अंश)

Santa Chaudharyशान्ता चौधरी- ६ दिदीबहिनी थिए। दाजु एक जना। आमा कुन्चीदेवी र बाबा हसुलाल चौधरी दुवै अनपढ। त्यसैले उहाँहरू दुवै जना कमैया बस्नुभएको थियो। यस्तो अवस्थामा चरम गरिबीबाट गुज्रनुपरेकाले हामी छोराछोरीले पढ्न पाउने अवस्था नै थिएन। त्यसैले बाबा–आमाकै बाटोमा लाग्नुको विकल्प थिएन। हामी सबै छोराछोरी जमिनदारकै घरमा काम गर्न बस्यौं। अन्य प्रगति गर्न हैन, पेट भर्नकै लागि पनि यसरी नबसी सुखै थिएन। म पनि कमलरी बसें। जुन त्यतिबेला स्वाभाविक मानिन्थ्यो हाम्रो गाउँ समाजमा।


२०४५ माघ २ गतेको कुरा हो। एकाबिहानै अर्थात् चारै बजे आमासँग उठेर आँखा मिच्दै कामका लागि जान तयार भएँ। बाहिरको वातावरण अँध्यारोको गर्भमै थियो। आमासँगै हत्त न पत्त मुख धोएँ। तयार हुनु पनि के थियो र? आफूसँग भएको च्यातिएको कपडा लगाएँ। कतै हिँड्दा अर्को लगाउने भन्ने थिएन क्यार। काममा जाउ, बजार जाउ, घरै बस् वा जहाँसुकै जाउ, शरीरमा लगाएको त्यही एकसरो कपडाको विकल्प थिएन। पहिलो दिन भएकाले होला, आमाले मलाई जमिनदारकहाँ छाड्न जाँदा बाटैभर कुरा सिकाउनुभयो। सम्झाउनुभयो। ‘जमिनदारको परिवारका सबैलाई ‘हजुर’, ‘तपाईं’ भन्नू। तिमीभन्दा सानो उमेरकै भए पनि हजुर नै भन्नू। उनीहरूले तिमीलाई जिस्क्याए, पिटे, जे गरे पनि चूप लागेर काम गरिदिनू। मुख नलाग्नू। अह्राएको काम गर्नू। केही काम आफैं पनि बुझेर गर्नू’– आदिआदि।


आमा छोरी कुरा गर्दै जाँदा बाटो कटेको पत्तै भएनछ। जमिनदारको घरमा पुग्यौं तर कोही पनि उठेका थिएनन्। आमाले ‘बाजे हजुर’ भनेर जमिनदारको ढोका ढक्ढक्याउनुभयो। जमिनदारनी एकछिनमा घरबाहिर निस्किइन्। मलाई देख्नेबित्तिकै ओठ लेब्य्राएर भनिन्– ‘ए, केटी त सानै रहिछ, काम गर्न सक्छे त यसले?’ आमा चूपचाप लागेर उनले भनेको सुन्नुभयो मात्र। उसले मतिर हेरेपछि ‘म काम गर्न सक्छु’ भन्ने आश्वासनस्वरूप टाउको हल्लाएँ। माघको कठ्याङ्ग्रिने जाडो। खुट्टा र हातका औंला चिसोले शिथिल थिए। ‘जाडो भयो आमा’ भनें। उहाँले ‘यस्तै हो छोरी! सहनुपर्छ’ भन्नुभयो। यसभन्दा बढी भन्ने कुरा पनि के नै थियो र उहाँसँग। Shanta Book- 'Kamalaridekhi savasadsamma'
जाडो नलागोस् भनेर ‘छिटो–छिटो काम गर्नुपर्छ, काम गर्दा, हिँड्दा, दौडँदा जाडो डराउँछ’ भनेर आमा सिकाउनुहुन्थ्यो। म पनि त्यहीअनुसार काम गर्थें। मलाई पुर्या एर जाँदाजाँदै आमाले जमिनदारनीलाई ‘मेरी छोरी सानै छे, काम सिकाउनुहोला’ भनेर आग्रह गर्नुभयो। ‘कहिलेकाहीँ गल्ती गर्ली, घर जान्छु भनेर नियास्रेली, त्यस्तो बेला मिल्यो भने घरमा पठाइदिनुहोला, घर आइ भने म थप काम सिकाइदिन्छु उसलाई’ भनेर विन्ती पनि चढाउनुभयो। यति भनेर आमा घर फर्कनुभयो। म भने टोलाउँदै आमा फर्केको हेरिरहें केहीबेर।

….
पहिलो दिन काम गर्न बसेकाले होला, मलाई घर जाने भए जा भनियो। दौडँदै घर पुगें। आमालाई बोलाएँ। आमा हत्त न पत्त बाहिर निस्केर आमाले काखमा बेर्दै सोध्नुभयो– ‘कान्छु! कस्तो लाग्यो त दिनभरको जमिनदारको काम? केही गाह्रोसाह्रो त भएन? दिनभर के–के काम गर्यौक? के खायौ?’ आमाको जिज्ञासा मेट्न मैले जमिनदारको घरमा पहिलो दिन गरेको १२ घण्टाको कामको फेहरिस्त पूरै सुनाएँ। मेरो कुरा दिदीहरूले पनि एकोहोरो भएर सुन्नुभयो। मैले गरेको काम बताइरहँदा दिदीहरूको आँखामा आँसु टप्किरहेको देखें। सबैको नजर मेरो अनुहारतिरै थियो। त्यत्तिकैमा हत्त न पत्त मैले आमालाई भनें– ‘आज त चामलको मीठो भात पनि पेटभर खान पाएँ नि आमा?’ मेरो कुरा सुनेर आमा हुक्क–हुक्क गर्दै रुन थाल्नुभयो।


२०६१ सालतिरको कुरा हो। लक्ष्मीपुर–४, डाँडागाउँस्थित वसन्तपुर सामुदायिक वनको सदस्य भएकी थिएँ। एक दिन समितिको पहिलो बैठक बस्दा परिचयात्मक कार्यक्रम थियो। उपस्थित सबै जनाले आ–आफ्नो परिचय दिन थाले। मलाई परिचय भन्ने कुरा नै थाहा थिएन। उपस्थित सबैले परिचय दिँदै आएपछि मेरो पालो आयो। मनमा सोंचे ‘यो परिचय भन्ने के होला?’ मेरो अगाडिको एकजनाले आफ्नो परिचय यसरी दिएका थिए– ‘नमस्कार! म प्रेमप्रकाश देवकोटा, घर डाँडागाउँ, वसन्तपुर।’ उनको पछाडि मेरो पालो आयो। छेउकाले ‘लौ तेरो पालो आयो’ भनेपछि म पनि जुरुक्क उठें। एकछिन टोलाएँ। मनमा के भन्ने होला भन्ने लाग्यो। अकस्मात मैले पनि भनिदिएँ– ‘म प्रेमप्रकाश देवकोटा, घर डाँडागाउँ, वसन्तपुर।’ सबैजना गलल्ल हाँसे।

सभासद् भएपछि अरूले आफ्नो गाउँमा के गर्न सके मलाई थाहा छैन। तर मैले भने चार वर्ष सभासद् हुँदा पनि केही गर्न सकिएन भनेर निकै आत्मग्लानि भइरहेको थियो। मैले राखेको प्रस्तावमध्ये कमलरीको शिक्षाका लागि बजेट विनियोजन गर्नेबाहेक कुनै पनि काम भएको थिएन। जति पनि प्रस्ताव राख्थें, ती कुनै पनि सुनुवाई भएकै थिएन। त्यसैले निकै खल्लो महसुस भइरहेको थियो। सभासद भएर पनि केही गर्न सकिँदोरहेनछ भनेर निराशा छाइरहेको थियो।
एमाले अध्यक्ष झलनाथ खनाल प्रधान मन्त्री र भरतमोहन अधिकारी अर्थ मन्त्री हुनुभएका बेला एमाले संसदीय दलको बैठक बसेको थियो। उक्त बैठकमा मैले कडै पाराले आफ्नो गुनासो राखें। हामीलाई तलव खुवाउनमात्र ल्याएको हो भनेर सोधें। कि कमलरी, भूमिहीनलाई पनि सभासद् बनाएका छौं भनेर देखाउनमात्र मलाई सभासद् बनाएको भनेर पनि सोधें। आफूले राखेका कुनै पनि योजनालाई आफ्नै पार्टीले समेत मतलव नगरेपछि मलाई निकै दिक्क लागेको थियो। मैले यसो भनिरहँदा आँखाबाट आँसु नै झरेको थियो। सिस्ने र वालिङ खोलामा पुल हाल्न भनेर धेरै कराउँदा पनि केही नलागेपछि यो आक्रोश पोख्नुपरेको थियो। यही क्रममा मैले अब आफूले कुनै पनि योजनाको प्रस्ताव नराख्ने र सभासद् पनि चाहिन्न भनें। ‘दुःख गरेकै हुँ, फेरि पनि गर्छु, बरु यहाँबाट निस्केर जान्छु’ भनेर रोएँ। यही कारण पनि होला, नेताहरूले मेरो कुरालाई गम्भीरपूर्वक लिएछन्। पुलका लागि बजेट छुटि्टयो। आफ्नै अग्रसरतामा बनाएँ पनि।

२०६९ वैशाख २४ गते भूमिहीनका समस्या समाधान गर्न केही प्रतिनिधिलाई समितिकै बैठकमा निम्ताएकी थिएँ। छलफलका क्रममा सभासद् जस्तो गरिमामय पदमा बसेकाहरूले भूमि अधिकारबाट वञ्चितहरूमाथि दुर्व्यवहार गरे। भूमिहीनसँग पनि कहीँ मोबाइल हुन्छ? भूमिहीनले पनि सफा चिटिक्क लुगा लगाएर हिँड्छ भन्दै उनीहरूले यी नक्कली भूमिहीन हुन् जस्ता जथाभावी आरोप लगाए। त्यतिमात्र हैन, उनीहरूले भूमिहीनलाई बाहिर ननिकाल्दासम्म छलफल नै नगर्ने अडानसमेत लिए। मैले उनीहरूमाथिको दुर्व्यवहार खप्न नसकेपछि आँसुसमेत थाम्न सकिन। गरिबमाथि सभासद्हरूले देखाएको यो व्यवहार मेरो जीवनकै सबैभन्दा दुःखद् क्षणमध्ये रहिरहनेछ।


२०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठक बोलाइएको थियो। मेरो पोशाकले होला, मेरो नजिक कोही पर्न चाहन्नथे। खाजा खानेबेला पनि कोही नजिक बस्न नआउने। सोही दिन एक जना सभासदले मतिर औंला देखाउँदै आफूसँग रहेकी अर्की सभासदलाई भनेकी थिइन्– यस्ता–यस्ता मान्छे पनि सभासद चुनिएर आएछन्। तिनी कुन पार्टीकी सभासद थिइन् त्यतिबेला मैले चिन्न सकिनँ। पछि चिनें– राधादेवी तिम्सिना रहेछ तिनको नाम। त्यसैगरी कङ्ग्रेस सभासद सरस्वती चौधरीले पनि मलाई देखाउँदै एमाले सभासदसँग भनेकी थिइन्– ‘तिम्रो पार्टीका सभासद कस्ता छन् हगि, यस्तो कपडा लगाएर आउँछन् हाउसमा। कमसेकम राम्रो कपडा लगाउन त सिकाऊ।’ मैले नसुनेझैं गरें। म थारू पोशाकमै थिएँ। मसँग लगाउने अर्को कपडा नै थिएन। जसले जे भने पनि त्यही कपडा लगाउनु मेरो बाध्यता थियो।

यो पनि पढ्नुस् :

शान्ताको ‘कमलरीदेखि सभासद्सम्म’ सार्वजनिक

सबै पराई भएपछि

(हालै एमाले अध्यक्ष झलनाथ खनाल तथा मुक्त कमलरी मञ्जिता चौधरीबाट काठमाडौंमा विमोचन भएको शान्ता चौधरीको किताब ‘कमलरीदेखि सभासद्सम्म’को केही अंश)

Leave a Reply

Your email address will not be published.