खिचरा महोत्सवमा बौद्धिक र मानवीय कार्यक्रम गरिने

Khichara Mahotsaw at Chitwan

कारी महतो,चितवन- थारु समुदायको नयाँ वर्ष (माघी)को अवसरमा नेपालभरिका विभिन्न जिल्लाका थारुहरुले माघी महोत्सव मनाउँदै गर्दा चितवनमा यस वर्ष ‘दोस्रो खिचरा महोत्सव २०७१’ आयोजना गरिएको छ। पुस २९ गतेदेखि माघ ३ गतेसम्म ५ दिन चल्ने महोत्सवमा हरेक दिन धिरज राई, सुनिल गिरी, हरि योञ्जन, ज्याति काफ्ले, सञ्जय चौधरी, मनोज महतोलगायतका विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकरहरुको प्रस्तुति रहनुका साथै थारु समुदायका लाठी नाच, झुमरा नाच, रसधारी नाच, ठेकरा नाच, झमटा नाच, डँफु नाचलगायत गुरुङ, मगर, तामाङ, दराई समुदायका सांस्कृतिक नृत्यहरुको समेत प्रस्तुति रहने जनाइएको छ।

खिचरा महोत्सव परिसरमा चिचर, पोका, घोंघी, माछा, निचा, ग्वागा, निजई, नकगर रोटी लगायतका थारु परिकार भएका स्टलहरुका साथै विभिन्न व्यापारिक स्टल समेत रहने जानकारी दोश्रो खिचरा महोत्सव २०७१ का संयोजक तथा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ का सभापति नारायण प्रसाद महतोले जानकारी दिएका छन्।

पछिल्लो समयमा आएर थारु अगुवाहरुले माघीमा मनोरञ्जनात्मक कार्यक्रमहरुका अलावा बौद्धिक बहस हुन जरुरी रहेको धारणा दिइरहेको अवस्थामा पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. ७ को सुल्ताना गाउँको स्कुल चौरमा हुने दोस्रो खिचरा महोत्सवकै अवसर पारी स्टेज कार्यक्रमहरुका साथै विभिन्न बौद्धिक तथा मानवीय कार्यक्रमहरु तय भएको छ।

पुस ३० गतेका दिन खिचरा महोत्सव चल्दै गर्दा थारु अगुवा युवाहरुको बहस कार्यक्रम हुने भएको छ। थारु समुदायका विभिन्न संस्कृति संरक्षणका लागि मात्र नभइ थारु समुदायको राजनीतिक, भाषिक, सांस्कृतिक, शैक्षिक अधिकार र पहिचानका लागि थारु युवाहरुले व्यापक बहस गरी निचोड निकालिने छ।

त्यस्तै माघ २ गतेका दिन थारु साहित्यिक सम्मेलन महोत्सवसँगै आयोजना गरिने भएको छ। उक्त दिन चितवन, नवलपरासीलगायतका थारु भाषा, साहित्यमा कलम चलाउने साहित्यकारहरुको भाषा साहित्यसम्बन्धी बहस कार्यक्रम गरिनुका साथै थारु भाषामा विभिन्न साहित्यिक रचनाहरु वाचन गरिने कार्यक्रम छ।

त्यसै दिन थारु भाषा साहित्यकारहरुको चितवन जिल्ला स्तरीय एक समिति गठन गरी नियमित रुपमा साहित्यिक सम्मेलन गर्ने र रचना वाचन तथा प्रकाशनका लागि ठोस काम गर्ने वातावरण तयार पार्ने जनाइएको छ। काठमाडौंबाट थारु साहित्यकार कृष्णराज चौधरी (सर्वहारी)लगायत चितवनकै थारु भाषाका व्याकरणमा पीएचडी गर्ने विद्वान डा. कृष्ण प्रसाद पौडेल र थारु भाषामा पीएचडी गर्ने विद्वान डा. गणेश खरालजस्ता व्यक्तित्वहरुको समेत उपस्थिति रहने जनाइएको छ।

माघ १ गतेका दिन भने महोत्सव परिसरमै खुल्ला रक्तदान जस्तो मानवीय कार्यक्रमको पनि तयारी भएको छ। मनोरञ्जनका लागि महोत्सव हेर्न आउने दर्शकलाई आकर्षित गरी रक्तदान जीवनदानजस्तो मानवीय कार्यका लागि युवा पिँढीलाई उत्साहित गरिनेछ। रक्तदान गर्ने सबैलाई मुख्य स्टेजबाट प्रमाण पत्र वितरण समेत गरिने छ। त्यस दिन करिब २०० जना महिला र पुरुषले रक्तदान गर्ने अनुमान गरिएको छ। माघ २ गतेका दिन भने अर्को मानवीय कार्यक्रम खिचरा महोत्सव परिसरमै निःशुल्क दन्त शिविर हुने जनाइएको छ। डा. सन्तोष अधिकारीको टोलीद्वारा निःशुल्करुपमा दन्त परीक्षणका साथै बिग्रेर काम नलाग्ने दाँत झिक्ने, फिलिंग गर्ने र सामान्य औषधि उपचारको व्यवस्था पनि गर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published.