भट्टराई पक्षधरका ३ सय मजदुर वैद्य माओवादीमा प्रवेश

काठमाडौं- एकीकृत नेकपा (माओवादी) आबद्ध तीन सयभन्दा बढी मजदुरले सो सङ्गठन परित्याग गरी नेकपा–माओवादी सम्बद्ध मजदुर सङ्गठनमा प्रवेश गरेका छन्। माओवादी सचिव नेत्रविक्रम चन्दले ललितपुरको कुपण्डोलमा आज एक कार्यक्रमबीच ती मजदुरहरुलाई टीका लगाई अखिल नेपाल क्रान्तिकारी टे्रड युनियन महासङ्घमा प्रवेश गराए। 
यसरी प्रवेश गर्नेमा एभरेष्ट होटल प्रतिष्ठानका अध्यक्ष होम सुवेदी, उपाध्यक्ष पूर्णमान लामा, सचिव राजु बरुवाल, अन्नपूर्ण होटल प्रतिष्ठानका उपाध्यक्ष रामशरण दुलाल, ललितपुर जिल्ला सेक्युरिटी मजदुर सङ्घका उपाध्यक्ष मनोज थापालगायत हुनुहुन्छ।
प्रवेशीलाई स्वागत गर्दै माओवादी सचिव चन्दले आजको मजदुरको विद्रोहले माओवादी आन्दोलन सुदृढीकरणका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो। उनले भने–“विदेशीको आड भरोसामा नेपाली जनताको भविष्य कुल्चेर शासन गर्छौं भन्ने सोच्नेहरु विरुद्ध आजको मजदुर विद्रोहले गतिलो झापड दिएको छ।”
उनले नेपाली कांग्रेसका नेता बिपी कोइरालाले राष्ट्रिय स्वाधीनताका लागि प्रयास गरे पनि त्यसयताका राजनीतिक दलका नेताहरु स्वाधीनताका विषयमा चुकेको बताए। मजदुर महासङ्घका संयोजक रामदीप आचार्यले नवप्रवेशीलाई स्वागत गर्दै नवसंशोधनवाद, अर्थवाद र ट्रेड युनियनवादका विरुद्ध आफ्नो सङ्गठनले सङ्घर्ष गरिरहेको बताए।
प्रवेशीहरुको तर्फबाट बोल्दै एभरेस्ट होटल प्रतिष्ठानका अध्यक्ष होम सुवेदीले एमाओवादी मजदुर सङ्गठनमा गुण्डागर्दी, भ्रष्टाचार र मालिकसँग मिलेर मजदुरहरु विरुद्ध षडयन्त्र गर्नेजस्ता कार्यहरु बढ्दै गएपछि आफूहरुले सो सङ्गठनबाट विद्रोह गर्नुपरेको बताए।

आज माओवादीमा प्रवेश गर्नेहरुमा अधिकांश एमाओवादीमा उपाध्यक्ष डा बाबुराम भट्टराई पक्षधर मजदुर रहेका छन्। एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहाल पक्षका होटल मजदुरले गत महिना एकतर्फीरुपमा पोखरामा सम्मेलन गरेपछि उपाध्यक्ष भट्टराई पक्षका मजदुरले सो सम्मेलन अवैधानिक भएको भन्दै असन्तुष्टि जनाइआएका छन्। रासस

Leave a Reply

Your email address will not be published.