एक थारु युवाको प्रश्न- हामीले मसाल जुलुस र झन्डा मात्र बोक्ने ?

थरुहट तराई पार्टी नेपालका सांसद गंगा थारुले जारी थारु आन्दोलनले नयाँ इतिहास रच्ने बताएकी छन्। यो अवसरलाई थारु युवाहरुले गुमाउन नहुने उनले बताइन्। ‘हामीले गरेको आन्दोलनले नयाँ इतिहास रच्दैछ। यसको भागिदार थारु युवा विद्यर्थीहरुले लिनुपर्छ,’ सिहंदरवारमा आयोजित बैठकमा उनले भनिन्।

उनले विगतमा परशुनारायणहरुले थारु समुदायको लागि केही गरेको भए अहिले यो अवस्था नआउने जिकिर गरिन्। त्यसैले युवाहरुले आउने पिढीका लागि आन्दोलन सफलताको शिखरमा पुर्‍याएर इतिहास रच्न जरुरी रहेको बताइन्।

छलफलमा थरुहट तराई पार्टी नेपालका सचिव मीनराज थारुले पनि अबको नेतृत्व युवा विद्यार्थीले लिनुपर्ने बताए।

थारु विद्यार्थी समाजका महासचिव चन्द्रप्रसाद चौधरीले सबै पक्षसँग सहकार्य गरेर आन्दोलन अघि बढउनुपर्ने बताए। उनले थरुहट/थारुवान संयुक्त संघर्ष समितिका सं‌योजक धनिराम चौधरी कि त बाहिर निस्केर आन्दोलन गर्नुपर्ने नत्र जिम्मेवारीबाट हट्नुपर्ने बताए।

त्यस्तै बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सीताराम थारुले आन्दोलन सफल पार्न आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित सबै पक्षसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।

त्यस्तै थारु विद्यार्थी समाज उपत्यका समितिका अध्यक्ष संजय थारुले अबको आन्दोलन कसैको पार्टी विस्तार र चन्दा संकलन गर्नको लागि गर्न नहुने बताए। ‘आन्दोलनमा कोही घाइते जेल परे भने जिम्मा कसले लिने? विद्यार्थी युवाहरु खाली मसाल जुलुस र झन्डा मात्र किन बोक्ने?,’ उनको प्रश्न थियो।

 

Leave a Reply

Your email address will not be published.