गल्ती सच्याउने कलम

kalamपहिलो आधुनिक प्रेसको निर्माण गर्ने मुलुक जर्मनीले हालै एउटा गजबको कलम बनाएको छ। कम्प्युटरको प्रयोगका कारण लेख्ने प्रचलन लोप हुने अवस्थातिर लागेकोमा चिन्ता जनाउने धेरै छन्। यस्तो अवस्थामा कलममा लगानी अनौठो लाग्ला। प्रयोगकर्ता घटेका कारण कलम उद्योग विस्थापित हुने क्रममा छँदै छ। 
जर्मनीमा तयार भएको कलम तपाईंका लागि रोचक यसकारण हुन्छ कि जब तपाईं गलत लेख्नुहुन्छ यसले तपाईंको गल्ती देखाइदिन्छ। कम्प्युटरमा टाइप गर्दा अशुद्ध भयो कि लेखेको लाइनमुनि रातो इरर देखिएजस्तै भन्ठान्नुभयो कि? होइन, यो पेनबाट स्पेलिङ इरर भयो भने भाइब्रेसन आउँछ। लेख्दा गल्ती हुँदा सचेत गराउने कलम उपयोगी हुन्न त?
लिनक्स कम्प्युटरमा आधारित हुने गरी वाइफाई चिपसहितको यो कलम भर्चुअल भने होइन। अरू कलममा जस्तै यसमा पनि मसीको प्रयोग हुन्छ र कलममा नै ब्याट्री जोडिएको हुन्छ। चिप्स र ब्याट्रीकै कारण यसले मानिसलाई गल्ती भएको सच्याउन संकेत दिन्छ। गल्तीमात्र होइन, तपाईंले लेखेको अक्षर फोहरी भयो भने पनि तपाईंलाई यसले संकेत दिन्छ।
लर्नस्टिफ्टले तयार पारेको यो कलम अक्षर भर्खर कोर्न सिक्दै गरेका बालबालिकाका लागि सबैभन्दा बढी उपयोगी हुनसक्ने देखिएको छ। कलम उत्पादन कम्पनीका को–फाउन्डर रहेका फल्क वल्स्की र उनको छोराले चलाएर परीक्षण गर्दा अक्षर सिक्दै गरेकाबीच यसको प्रयोग लाभदायी देखिने भएको हो।
यो कलम डेढ वर्षको मेहनतका आधारमा तयार भएको हो।

Leave a Reply

Your email address will not be published.