डिफेन्डिङ च्याम्पियनलाई हराउँदै संकटा सिमरा गोल्डकपको फाइनलमा

नागेन्द्र चौधरी/बारा।

डिफेन्डिङ च्याम्पियन विजय युथ क्लबलाई स्तब्ध पार्दै सिएमजी संकटा क्लब  सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा २–१ को रोमाञ्चक जित हात पार्दै संकटाले अन्तिम दुईको यात्रा तय गरेको हो। खेलको सुरुवातमै विजय युथले लिएको अग्रता उल्टाउँदै संकटा जित हात पारेको हो।

संकटाको जितमा अनिल गुरुङ र विश्व अधिकारीले एक-एक गोल गरे। विजय युथका लागि बिमल राना मगरले एक गोल गरे। खेलको सुरु भएको ४५ सेकेण्डमै विजय युथले खेलमा अग्रता लिएको थियो।

संकटाका रक्षापंक्ति सम्हालीन नपाउँदै सुनिल बलको पासलाई सदुपयोग गर्दै बिमलले गोल गरेका हुन्। खेलमा अग्रता लिएपछि सुरुवातमा दबाब झेलेको संकटाले २७औं मिनेटमा बराबरी गोल फर्कायो। डिबक्सभित्र पाएको बललाई सदुपयोग गर्दै संकटाका लागि अनिल गुरुङले गोल गरे।

एपिएफलाई पन्छाएको संकटा र सरस्वतीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको विजय युथबीचको सेमिफाइनल भिडन्त निकै रोमाञ्चक रहयो। खेलको पहिलो हाफमा दुबै टिमले थुप्रै अवसर बनाए पनि सदुपयोग गर्न भने सकेनन्। प्रतिस्पर्धात्मक दोस्रो हाफमा पनि दुबै टिमले गोल गर्ने राम्रो अवसर सिर्जना गरेका थिए। खेलको ७०औं मिनेटमा संकटाका सुशील केसीले प्रहार गरेको कर्नर बल क्रसबारमा लागेर फर्किन पुगेको थियो। त्यसलगत्तै खेलको ७६औं मिनेटमा बिमल रानामगरले गोल गर्ने वन भर्सेस वनको स्थितिबाट चुकेका थिए।

गोल गर्ने राम्रो अवसर चुकाएको बिजय युथविरुद्ध खेल सकिन एक मिनेट बाकीँ हुँदा संकटाले विजयी गोल ग‍र्यो । खेलको ८९औं मिनेटमा संकटाका लागि विश्व अधिकारीले गोल गरेका थिए। विश्वले प्रहार गरेको कर्नर बलले सिधै जाली चुम्न पुगेको थियो।

विजय युथका प्रशिक्षक सुविन घिमिरले राम्रो राम्रो अवसर चुकाउन पुग्दा टिमले पराजय भोगेको बताए। संकटाका प्रशिक्षक सल्यान खड्गीले गोल खाएर केही दबाब झेल्न पुगे पनि अन्तिम समयसम्म सम्हालिएर खेल्दा जित हात पारेको बताए।

खेलको म्यान अफ दि म्याच संकटाका विश्व अधिकारी घोषित भए। प्रतियोगिताअन्तर्गत बिहीआार त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच हुनेछ।

Leave a Reply

Your email address will not be published.