बस दुर्घटना हुँदा २१ यात्रु घाइते

इटहरी- सुनसरी जिल्लाको इटहरी–५ बालग्राम चोकस्थित राजमार्गमा दुई यात्रुवाहक बस जुध्दा ती दुवै बसमा यात्रारत २१ यात्रु घाइते भएका छन्। सो घटनामा परी एकजना यात्रु गम्भीर घाइते भएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। दुर्घटनामा परी गम्भीर घाइते हुने झापाको मेचीनगर–१० निवासी २८ वर्षीय उपेन्द्रकुमार कार्की रहेको प्रहरीले जनाएको छ। उनीसँगै गम्भीर अवस्थाका नौ जना घाइतेको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ।

पश्चिमबाट पूर्वतिर आउँदै गरेको मे१ख १०१२ नम्बरको यात्रुवाहक बस र पश्चिमबाट पूर्वतिर आउँदै गरेको को १ख३३१० नम्बरको बस बाक्लो हुस्सुका कारण जुधेका थिए। गम्भीर अवस्थाका सप्तरी भारदहका मिलन पौडेल, झापा धरमपुरकी गौरीमाया विक, भारतका मोहम्मद साजुद्दिनलगायतको न्युरोमा उपचार भइरहेको छ।

अन्य घाइतेहरु इटहरीस्थित सामुदायिक उपचार सेवा केन्द्रमा उपचारपछि आ–आफ्नो घर गएका छन्। दुर्घटनापछि दुवै बसका चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ। रासस

Leave a Reply

Your email address will not be published.