कलैया तरकारी सस्तो

कलैया- बारा जिल्लामा यस वर्ष हिउँदे तरकारी खेतीबाट उत्पादनमा वृद्धि भएपछि झण्डै ५० प्रतिशतले सस्तो भाउमा बिक्री भइरहेको छ। कलैया बजारमा हाल काउली रु ८, भन्टा रु ८, बन्दा काउली रु १०, केराउ रु ४०, मूला रु ५ प्रति केजीमा बिक्री भइरहेको छ भने रायो साग एक मुठा रु १ मा बिक्री भइरहेको छ। 
यस वर्ष हिउँदमा पानी नपरेकाले तरकारीको बोटबिरुवामा रोग नलागी क्षति नभएको, उत्पादनमा वृद्धि हुन गएकाले तरकारी सस्तो भएको उपभोक्ताहरू बताउँछन्। गत महिना सोही तरकारी कलैया बजारमा प्रति केजी काउली रु १५, भन्टा रु १५, बन्द काउली रु २०, मूला रु १०, केराउ रु ६० र रायोको साग प्रतिमुठा रु २ मा बिक्री भएको थियो।
तरकारी क्षेत्रमा प्रख्यात रहेको बारा जिल्लाको सिम्रोनगढ क्षेत्रमा हिजोआज दिउँदे तरकारी काउली प्रतिकेजी रु १ देखि ३ सम्ममा बिक्री भइरहेको स्थानीय उपभोक्ता रामेश्वर मेहताबाट थाहा भएको छ।
सो क्षेत्रअन्तर्गत गोलागन्ज, अमृतगन्ज, हरिहरपुर, श्रीनगर बैरिया, लक्ष्मीपुर कोखाली, कच्चोवा, देवापुर, उचिडिह, भगवानपुर, टेटा गाविसहरूमा काउली करिब ७० देखि ८० प्रतिशत क्षेत्रफलमा तरकारी खेती गरिएको गोलागन्जका कृषक भन्टुनारायण चौधरीले बताए। सो क्षेत्रका उत्पादित तरकारीहरू कलैया, वीरगन्ज, काठमाडौँ र भारतका दरभङ्गाका व्यापारीहरूले लैजाने गरिन्छ। बारा जिल्लामा यस वर्ष हिउँदे तरकारी काउली, बन्दा काउली, भन्टा, मुला, गोलभेँडा, खुर्सानी, रायो, गाजर, केराउ र अन्य गरी करिब पाँच हजार ९०० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ।
गत वर्ष बारामा कुल पाँच हजार ८०० हेक्टर क्षेत्रफलमा गरिएको हिउँदे तरकारी खेतीबाट कुल ९१ हजार ८९९ मेटि्रक टन उत्पादन भएको थियो। यसरी उत्पादित तरकारीको ६० प्रतिशत आन्तरिक खपत हुने गरेको र बाँकी ४० प्रतिशत तरकारी जिल्ला बाहिर व्यापारीहरूले लैजाने गरेको कृषि विकास कार्यालयबाट थाहा भएको छ। रासस

Leave a Reply

Your email address will not be published.