स्वास्थ्य र शिक्षाको दायित्व राज्यको : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले स्वास्थ्य सेवा र शिक्षाजस्तो मानिसको आधारभूत अधिकारको दायित्व राज्यले लिनुपर्ने भए पनि स्रोत साधनको अभावको कारण त्यसो गर्न नसकिएको बताउनुभएको छ। स्वास्थ्य सेवा नागरिकका सबैभन्दा ठूलो अधिकार हो र यसलाई प्रत्येक मान्छेले निःशुल्क तथा अनिवार्यरुपमा प्राप्त गर्नुपर्ने भए पनि दुर्भाग्यवश यो सेवामा पनि धनी र गरिबबीचमा रहेको विभेद् अन्त्य गरी समाज रुपान्तरण गर्न समय लाग्ने प्रधानमन्त्री भट्टराईले बताए। 
काठमाडौँ बसुन्धरामा सुरु गरिएको ग्रिन सिटी अस्पतालको आज यहाँ उद्‍घाटन गर्दै प्रधानमन्त्री भट्टराईले गरिब तथा असहायलाई सहुलियत दरमा उपचारमा सेवा गर्न पनि आह्वान गरे। “निजी क्षेत्रमा खुलेका अस्पतालले मुनाफाको केही अंश गरिबको उपचारमा लगाउन सके समाज प्रतिको उत्तरदायित्व पूरा हुन्छ, स्वास्थ्य र शिक्षाको दायित्व राज्यले नै लिनुपर्छ तर समाज रुपान्तरणका लागि केही समय लाग्छ”– प्रधानमन्त्री भट्टराईले भने।
महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बद्री न्यौपानेले स्वास्थ्य सेवा गरिब जनता र दुर्गम क्षेत्रको पहुँचमा विस्तार गर्नुपर्नेमा जोड दिँदै जनताको आधारभूत सेवाका रुपमा रहेको स्वास्थ्य सेवालाई सरल, सस्तो र जनमुखी बनाउनुपर्ने बताए।
सय शैयाको सो अस्पतालमा चौबिसै घन्टा उपचार सुविधाको व्यवस्था गरिएको बताउँदै अस्पतालका दिनेश काफ्लेले सहिद परिवारलाई तोकिएको सेवामा ५० प्रतिशत छुट गरिएको बताए।
अस्पतालका अध्यक्ष भुवन केसी, कार्यकारी निर्देशक एल बी टण्डन र सञ्चालक कृष्णप्रसाद शेरचनले अस्पतालले दिने सेवा सुविधाबारे प्रकाश पारेका थिए। रासस

Leave a Reply

Your email address will not be published.