दलीय स्वार्थका कारण मुलुकले निकास पाएन : यादव

विराटनगर- सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले राजनीतिक दलहरुको स्वार्थका कारण मुलुकले वर्तमान सङ्कटबाट निकास पाउन नसकेको तथा संविधानसभा निर्वाचन गराउनसमेत समस्या भएको बताएका छन्। मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले मुलुकलाई निकास दिन र नयाँ संविधान निर्माण गर्न संविधान सभा निर्वाचनको विकल्प नरहेको स्पष्ट गरे।

राजनीतिक दलका नेताहरुले एकले अर्कोको अस्तित्व र नेतृत्व स्वीकार नगरेका कारण मुलुक अनिर्णयको बन्दी भएको उल्लेख गर्दै उनले राजनीतिक दलहरुको सहमति कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए।
मन्त्री यादवले राजनीतिक दलहरुबीच सहमति भएमा साना पार्टी तथा स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गरी निर्वाचनमा जान सकिने विकल्प रहेको पनि दोहोर्‍याए। संविधान सभाको निर्वाचन तथा संविधान निर्माण नभएको कारण मुलुकमा राजनीतिक एवम् संवैधानिक सङ्कट उत्पन्न भएको बताउँदै दलहरुले सहमति गरेमा संसद पुनःस्थापना गर्न सकिन्छ उनले भने।
मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्षसमेत रहेका मन्त्री यादवले पत्रकारको हकहितका लागि सरकारले प्रेससम्बन्धी १० बुँदे सुधार कार्यक्रम ल्याउन लागेको जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.