सहिद दुर्गानन्दको सम्मान

हिमांशु चौधरी, जनकपुरधाम- नेपालका प्रथम गणतन्त्रवादी सहिद दुर्गानन्द झाको ५० औँ बलिदान दिवस आज विविध कार्यक्रमसहित मनाइँदैछ। विसं २०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित संसद र संसदीय सरकार विघटन गरी लोकतन्त्रको हत्या गरिएको भन्दै विसं २०१८ माघ ९ गते झाले राजामाथि बम प्रहार गरेका थिए।

राजा महेन्द्रको पूर्वी तराईको भ्रमणका क्रममा जनकपुरको जानकी मन्दिर परिसरमा हजारौँ सेना र प्रहरी सशस्त्रधारीका सुरक्षाका बीचमा राजा चढेको गाडीमा झाले बम प्रहार गरेका थिए। बम प्रहार गरी भारतमा विभिन्न आन्दोलन तयारीका योजनामा रहँदा जनकपुर बम काण्डको नाममा ५९ जना पक्राउ गरी मरनासन्न गरी कुटपिट गरिएको खबर पाउँदा उहाँले निर्वासित बस्नु ठीक मान्नुभएन।

निर्वासनमा काँग्रेसले उहाँको बस्ने र पढ्ने व्यवस्था गरेपनि उहाँ बम काण्डको नाममा निर्दोष मानिस दुःख पाइरहेको पीडाको खबरले मर्माहत भएर नेपाल फर्कनुभएको थियो। निर्वासनको तीन महिनापछि विसं २०१८ वैशाखमा फर्कनुभएका दुर्गानन्दलाई परबाहा रेल्वे स्टेसनमा पक्राउ गरी काठमाडौं पुर्‍याई सुन्धारास्थित केन्द्रीय कारागारमा राखिएको थियो।
उनलाई विसं २०२० माघ १५ गतेको मध्यरातिमा कारागारमा गोली हानी मृत्युदण्ड दिइएको थियो। उहाँसँगै पक्राउ परेका अरविन्द ठाकुरका अनुसार मृत्युदण्डका लागि तयार रहेको अवस्थामा पनि दुर्गानन्दले तपाइँहरु चिन्ता नमान्नोस्, अब गणतन्त्रलाई कसैले रोक्न सक्दैन भनेका थिए। रासस

Leave a Reply

Your email address will not be published.