एमाओवादीको जिल्ला प्रतिनिधि छनौटमा कुर्सी हानाहान

इटहरी- एमाओवादीको महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौटका लागि सुनसरीको इटहरीमा आयोजित गोप्य जिल्ला भेलामा आपसमै कुर्सी हानाहान भएको छ। दुई दिनसम्म अति गोप्य ढङ्गले भएको जिल्ला भेलाको दोस्रो दिन प्रतिनिधि छनौटका क्रममा आपसमा हात हालाहालको स्थिति पैदा भएपछि प्रहरी नै बोलाउनु परेको थियो।

सञ्चारकर्मीलाई थाहा नदिई भएको माओवादी जिल्ला भेलामा प्रमुख अतिथि बनेर आएका कोचिला राज्य समिति संयोजक तथा पूर्वमन्त्री गोपाल किराँतीप्रति असन्तुष्ट जिल्लाका नेता तथा कार्यकर्ताले आक्रमण गर्ने परिस्थिति बनेपछि प्रहरी आउनु परेको थियो।

प्रतिनिधि छनौटका क्रममा जुझारु युवा नेताहरुको प्रतिनिधित्व नगराइएपछि इटहरीको रिजाल्स भिजन हलमा नै कुर्सी हानाहान र तोडफोड हुन थालेपछि सम्मेलनस्थल तनावग्रस्त बन्न पुगेको थियो।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराई र अर्का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ समूहमा विभाजित माओवादीमा समान प्रतिनिधि छनौटको वातावरण नबनेपछि कार्यकर्ताहरु गोपाल किराँतीप्रति आक्रोशित बनेको एक सहभागीले बताएका छन्।
कार्यकर्ताको तीव्र आक्रोश बढेपछि केही कार्यकर्ता र प्रहरीले किराँतीलाई घेरामा राखेर सुरक्षित स्थानमा लैजानु परेको थियो। तीव्र विवाद र झडपका बीचमा पनि हिजो अबेरसम्ममा १८ जना महाधिवेशन प्रतिनिधिको छनौट भएका छन्। पार्टी सदस्यताका आधारमा सुनसरीबाट २२ जना प्रतिनिधि छनौट हुनुपर्ने थियो। पार्टी नीतिअनुसार २०० सदस्यबाट एकजना महाधिवेशन प्रतिनिधि छनौट हुने प्रावधान रहेको छ।
तनावका बीचमा छनौट भएका १८ जना महाधिवेशन प्रतिनिधिमध्ये अध्यक्ष पुष्पकमल पक्षबाट हिमाल सुवेदी, सन्तोष थारू, भूमिका चौलागाईँ, सपना परियार, शारदा बराल, बिस्ना राई, दिलु मियाँ, आइन्द्र मेघालगायत रहेका छन्।
जिल्ला सम्मेलनमा छनौट भएका महाधिवेशन प्रतिनिधिमध्ये प्रधानमन्त्री भट्टराई पक्षका भनिएकाहरु केदार गुरागाईं र भोला बस्नेत परेका छन् भने अर्का उपाध्यक्ष श्रेष्ठका समर्थकहरुमध्येबाट अशोक राई, अनिता परियार र सिर्जना शिवामात्र छन्।
पूर्वसभासद्समेत रहेका नेता सन्तोष थारूले बाँकी चारजना महाधिवेशन प्रतिनिधिको पनि छनौट हुने र त्यसमा मधेसी मुस्लिम वा छुट्नै नहुने समुदायका नेतालाई राखेर महाधिवेशन प्रतिनिधि पूरा गर्ने सहमति बनेको बताउनुभयो। रासस

Leave a Reply

Your email address will not be published.