थारू समुदायमा देखिएका पहिचानका सबाल

सुरेश चौधरी- पृष्ठभूमि : थरूहट, लिम्बुवान लगायत आफ्नो पहिचानका लागि राज्यसँग लडिरहेका वेला नेपाल र राज्य सञ्चालनमा वसिरहेका शासक वर्गका लागि चुनौती र टाउको दुखाइको विषय वनेको छ। २०६२/६३ सालको १९ दिने जनआन्दोलन, १० वर्षसम्म सञ्चालन भएको माओवादी युद्धलगायत विभिन्न समयमा भएका जातीय आन्दोलनवाट केन्द्रिकृत निरंकुश राजतन्त्र फाल्दै आज नेपाली समाज राज्य पुनर्संरचनामार्फत् पहिचान र समावेशीकरणको मुद्धातर्फ उन्मुख हुन खोज्दैछ। राज्यका हरेक जातजाति, भाषाभाषी, लैंगिक समुदाय, सीमान्तीकृत र अल्पसंख्यकहरू आफ्नो हक अधिकार र पहिचानको आवाज वुलन्द गरेका छन्। यसै सन्दर्भमा थरूहट तराईका धरतीपुत्र थारू समुदायले आफ्नो अधिकार र जातीय पहिचान सुनिश्चित गर्नको लागि चलाएको अभियानले राज्यका शासक वर्गलाई थरूहट र थारू समुदायको वारेमा सोच्न वाध्य वनाएको छ। धरातलीय इतिहास र राजनैतिक दासतालाई चिरफार गर्दै थारू समुदाय आफ्नो जातीय पहिचान र पहिचान सहितको भूगोलको लागि संघर्ष गरिरहेका छन्। थारू समुदाय, थरूहट क्षेत्रका धरतीपुत्रहरू जसलाई समथर तराई भूभाग (थरूहट) को आदिवासी भनेर कहलिन्छ, हालसम्म पनि रोग भोक र अशिक्षाले ग्रस्त छ, अनि राज्यवाट उपेक्षित छ। राज्यवाट भूमिपुत्र थारूहरूको भाषा सँस्कृति, भूमिको संरक्षण र सुरक्षाको कुरा परै छाडौ। थारू समाजका लाखौलाख घरपरिवार भूमिहीन, गरिवी र दरिद्रता र अपमान सहेर वस्नुपरेको छ। वास्तवमा राज्य निर्माणको क्रममा लाखौलाख जनसंख्यामा रहेका थारू समाज, उनीहरूको भाषा, सँस्कृतिप्रति राज्यको नीति तथा विभेदपूर्ण कार्यक्रमले थारू समुदायको पहिचाननै लोप भएर जान सक्ने सम्भावना बढ्दै गएको छ।
संविधान सभाको अवसान भैसकेपछि पनि यतिवेला नेपालले संघीय राज्यको रुपमा चिनारी निर्माण गर्न खोज्दा थरूहट क्षेत्रलाई मधेस भनेर नामाकरण गर्न खोजिएको छ। थारू समुदायले जनजातिको नाममा पाइरहेको सीमित अवसरहरू पनि मधेसीको नामवाट दिइने भनेर घोषणा गरिसकेको छ। आदिवासीे समुदायको रुपमा परिचित भएको थारू समुदायलाई मधेसीको पहिचान दिन खोजिरहेको छ। त्यसैले आफ्नो पैतृक, भाािषक र सांस्कृतिक चिनारी तथा अन्य अधिकार स्थापित गर्नका लागी गाँउ टोल, समुदायदेखि लिएर केन्द्रसम्म विस्तारित भएका थारूहरू जुर्मुराउन थालेका छन्। थारूहरूको यही जुर्मुराइवारे अध्ययन गर्दा आदिवासी थारू समुदायको पहिचानमा देखिएका केही विकृति र सवालहरूवारे यो अध्ययनले प्रष्ट पार्न खोजेको छ। प्रस्तुत आलेखको मूल आधार सामाजिक समावेशीकरण अनुसन्धान कोष (सर्फ) को फेलो भएर अनुसन्धान गर्ने क्रममा थारू समाजमा मैले देखेको समस्या हो, जसलाई विश्लेषण गर्दै अध्ययनको निचोड दिइएको छ।

शिक्षा र रोजगार
थरूहट क्षेत्रमा अत्याधिक मात्रामा शैक्षिक संस्थान, कलेज तथा विद्यालयहरू खुलिसकेका छन्, तर पनि थारू समुदायमा उच्च तह सम्मको अध्ययन पूरा गरेका युवाहरू कमै मात्रामा भेटिन्छन्। माध्यमिक तह, प्रमाणपत्र तह सम्म अधिकांश मात्रामा भर्ना भएका हुन्छन्। विस्तारै यो संख्या घटदै गएर स्नातकोत्तर तहसम्म फात्तफुत्त मात्र देखिन थाल्छन्। शिक्षाको मामिलामा अझै पनि थारू व्यक्तिहरू कमजोर नै मानिन्छन्।
थारू समुदायका युवाहरू रोजगारको लागि मात्रै अध्ययन गरिरहेका छन्। त्यसकारणले नै सामाजिक, सांस्कृतिक मूल्य मान्यताको ह्रास भैराखेको छ। नेपाली भाषाको पढाइले एकातिर थारू युवामा भाषाको विकास हुन सकिराखेको छैन भने अर्कोतिर उनीहरू आफनो समाजको सांस्कृतिक मूल्य मान्यता, समाजको वास्ताविक पहिचान के हो भनेर सोंच्न सकिराखेका छैनन्। धेरै संख्यामा रहेका थारू विद्यार्थीहरू आफनो समाजको सामाजिक, सांस्कृतिक पहिचानको वारेमा ध्यान दिदैनन्। समाजको जुनसुकै मूल्य चुकाएर भएपनि रोजगारको खोजीमा लागेका भेटिन्छन्।
अर्न्तवार्ताको क्रममा थारू समुदायका व्यक्ति एकदमै न्यून मात्रामा व्यापार व्यावसाय गर्न र उच्च प्रशासनिक ओहोदा सम्म जागीर खाने सोच राखेका व्यक्ति भेटिए। नेपाल सरकारले उप्लव्ध गराएको समावेशी कोटा धेरैलाई थाहा नभएको पाइयो। अधिकांश युवा घरैमा वसेर सरकारी वा प्राइभेट विद्याालयहरूमा शिक्षण गर्न चाहन्छन। विद्यालयका शिक्षक हुन पाउनु एकदमै लोकप्रिय पेशा वनेको छ। नेपाली सेना, नेपाल प्रहरी पनि थारू युवाहरूले रुचाइएको पेशा हो। तर पहँुचको अभावमा यी क्षेत्रमा भर्ना हुन सकिरहेका छैनन्। सेना प्रहरीमा सामेल भएका युवाहरूको परिवार केही हदसम्म सम्पन्न भएको देखिन्छ। कृषि पेशा परम्परागत पेशा हो। तर उच्च शिक्षा हासिल गरिसकेका युवा व्यावसायिक खेती गर्न लाज मान्छन्। ठाँउ ठाँउमा उद्योग धन्दा खुल्दै गएका छन्। यस्ता औद्योगिकीकरणले थारू र गैर थारू समुदाय वीच सामीप्यता ल्याउनुको साथै सामाजिक, सांस्कृतिक परिवर्तन भैरहेको छ।

आधुनिक प्रविधी र सूचना सञ्चार
वर्तमान युग सूचना सञ्चारको युग हो तर थारू युवाहरूले आफनो व्यक्तित्व विकासका लागि प्रयोग गर्न सकिरहेको छैनन्। कम्प्यूटर, मोवाइल, रेडियो सञ्चार, क्यासेट, डिभी डि प्लेयर केवल मनोरञ्जनको लागि प्रयोग भैराखेको छ। आफनो व्यापार व्यावसाय वा रोजगारको साधकको रुपमा प्रयोग हुन सकेको छैन। रेडियो, टेलिभिजन, कम्प्यूटर, ल्यापटपजस्ता उपकरणहरू नयाँ नेपाली, हिन्दी, अंग्रेजी गीतहरू वा, फिल्म हेर्नलाई बढी प्रयोग गरिन्छन्। समाचार, खेलकुद, शैक्षिक विषयवस्तु हेरेर फाइदा लिनेवारे अत्यन्त थोरैले सोच्छन्। अध्ययनको क्रममा मैले सोधेका अधिकांश युवकहरू इन्टरनेटलाई फेसवुक पेज हेर्ने माध्यमको रुपमा मात्र प्रयोग गरेका पनि पाए। एकदमै न्यून संख्यामा इमेलको प्रयोग गर्दछन्। त्यसैगरी पत्रपत्रिका वा अन्य खवर पत्रिकामा सर्वाधिक रुचाइएको पत्रिका “कान्तिपुर साप्ताहिक” हो। किनकि त्यसमा मनोरञ्जनमूलक समाचार मात्रै छापिएको हुन्छ। लेख, रचना पढने, सम्पादकीय पढ्ने कोही पनि इच्छा राख्दैनन्। यथार्थमा थारू युवाहरू आधुनिक सञ्चार जगतलाई आफनो व्यावसायिक लक्ष्य, रोजगार प्राप्त गर्ने माध्यम र थारू समाजमा ग्रामीण पर्यटन विकास गर्नको गर्नको लागी प्रयोग गर्नु सक्नुपर्छ।

सांस्कृतिक रुपान्तरण
थारू समुदाय सांस्कृतिक सम्पदाको लागि धनी मानिन्छ, तर नयाँ पुस्ता विशेषगरी पढेलेखेका युवाहरूले संस्कृतिको जगेर्ना गर्न सकिरहेको छैनन्। थारू जातिको हकहित र जातीय पहिचान जोगाउन लागी परेको संस्था थारू कल्याणकारिणी सभाले पनि ठोस अभियान सञ्चालन गर्न सकिरहेको देखिदैन। नयाँ पुस्तालाई नयाँ परिवेश नयाँ मुल्य, नयाँ समाज, मन पर्छ त्यसकारण पनि आफनो सांस्कृतिक पहिचानलाई वेवास्ता गरेको देखिन्छन्। आधुनिक परिवेशमा घुलमिल हुनलाई भएपनि गैर थारू समाजको नीति नियम, वोली वचन ग्रहण गर्दछन्। राज्यद्वारा संरक्षण नीति वा कार्यक्रमको अभावमा समग्र थारू समुदायमा हिन्दुकरण भैरहेको छ भन्दा अत्यूक्ति नहोला। तल्लो जात (दमाई कामी, सुजी, लोहार) र उपल्लो (ब्राहमण, क्षेत्री) जात नमान्ने थारू संस्कारमा अहिले अन्तरजातीय होइन, अन्तर छिमेक र अन्तर परिवार वीच विभेद बढ्न थालेको छ। प्रत्येक घरपरिवारमा त्यसको, उसको र मेरो भनी विभिन्न धर्म भित्रिएका छन्। उचित तवरले हामी थारू समुदाय “प्राकृतिक धर्मावलम्वी हौं” भनेर जनचेतना जगाउन नसक्दा यो समुदायमा जय गुरुदेव, इसाई , ओमशान्ति जस्ता धर्मावलम्वीहरू वन्ने क्रम जारी छ। कोही कसैलाई थाहा छैन धर्मको मान्यता र विश्वास, सवैले आ–आफनै हिसावले धर्मको प्रचार गदै हिडेका छन्। गाईवस्तु, घर, वालवच्चा, खेतीपाती छोडेर कैयों दिन, कैयो महिना भारतको मथुरामा वास वस्न जान्छन्। आफनो आम्दानीको ठूलो हिस्सा धर्ममा लगानी गरिरहेका छन्। यो समस्या केवल थारू समाजमा धेरै फैलिरहेको छ। यसरी थारू समाजको सांस्कृतिक मेरुदण्ड भाँचिदै गएको छ। परिवर्तनको अन्तरालमा अर्न्तलिप्त थारू समुदाय, त्यो पनि मौखिक स्मृतिमा वाँचेको वेला यो भुमण्डलीकरण वा आधुनिकीकरणको अवस्थामा परिवर्तन हुन असम्भव भैरहेको छ। मौखिक स्मृतिलाई लेखनमा सार्न नपाउदै कुनै संस्कृतिको अगाडी घटना र चरित्रको अन्नत कोष घोकाउन लगाउने हो भने त्यसले कति विकृति ल्याउन सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण थारू समुदाय हो। एउटा थारू पुस्तावाट अर्को पुस्ता यति टाढाको यति पृथक परिवेशमा मूल्य र मान्यताको प्रदर्शनीमा आफूलाई पाँउदछ, कि ती दुई पुस्ताको बीचमा कुनै संवाद पनि हुन सक्दैन।
थारू भाषा वोल्नाले असभ्य कहलाइन्छ भन्ने आशयले पनि थारू भाषाभन्दा नेपाली, अंग्रेजी भाषा सिक्न इच्छुक छन्। भाषामा नेपाली भाषाको ओइरो लागेको छ। थारू शव्दहरू तीव्र गातिमा विस्मृतितिर धकेलिदै छ। थारू भाषाको संगसंगै अरु भाषा पनि क्रमश विकास गर्दै लानुपर्ने देखिन्छ। यसको उदाहरण नेपालको नेवार समुदाय वा मधेसी समुदायलाई हेर्न सकिन्छ। नेवा राज्य, मधेस तिरको जुनसुकै सरकारी, गैरसरकारी कार्यलयहरूमा तिनीहरूको आफ्नै रैथाने भाषा प्रयोग भैरहेको छ। तर थरूहट राज्यको जो सुकै थारू समुदायका मानिसहरू जानी नजानी नेपाली भाषा वोली रहेका हुन्छन्। सकभर वाहिरीयासँग नेपालीमै वोल्दछन्। चाहे तिनको नेपाली जातिसुकै हास्यास्पद किन नसुनियोस्।

राजनीतिक सबाल
राजनीति यस्तो क्षेत्र हो, जसले सम्पूर्ण समाजको, क्षेत्रको जात जातिलगायत देशको भाग्य निर्धारण गर्दछ। समान्यतया राजनीतिमा जसको पँहुच र नियन्त्रण हुन्छ, त्यसैले आफनो अनुकुल नीति निर्माण र कार्यान्वयन गर्ने गर्दछ। हामी थारू समुदायले भोग्दै आइरहेको मुख्य समस्या पनि यही भएको छ। जातीय हिसावले उच्च भनाउदा खासगरी बाहुन, क्षेत्री, नेवार र मधेसीको अत्याधिक नियन्त्रण र पँहुच छ भने लैंिगक हिसावले पुरुषहरूको नियन्त्रण छ। विगत साढे दुईसय वर्षदेखि तिनै उच्च जातिहरूले बनाएका नीतिनियम, कानुन, प्रशासन तथा त्यसको कार्यान्वयनवाट थारू समुदाय पिछाडिएको हुन् भनेर ठोकुवा गर्दा फरक नपर्ला। थारू समुदायभित्र पनि सीमित थारू व्यक्तिहरूवाट थिचिएका मिचिएका अन्य वहुल थारू समुदायको राजनीतिक विचार, देशको समसमायिक परिवेश, उसकोे राजनीतिमा पहँुच कस्तो होला? स्वतः अनुमान गर्न सकिन्छ।
सामन्यतया थारू समुदायका व्याक्तिहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रममा त्यति धेरै चासो राखेको पाइदैन, तर राष्ट्रिय राजनीतिको स्थानीय परिवेशमा थारू समुदायले मुख्य भूमिका खेलिरहेको हुन्छ। पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म फैलिएको थरूहट तराई क्षेत्रका लगभग धेरैजो गाउँमा थारू समुदायको वाहुल्यता छ। पुरानो परम्परा अनुसार गाउँ गाउँमा प्रधान, वरघर, भल्मन्सा, महटाँवा, ककन्दार, मान्जनहरू नेतृत्व गरिरहेका छन्। तर राष्ट्रिय राजनीतिमा तिनले ठोस योगदान पुर्‍याउन सकिरहेका छैनन्। त्यसैगरी नेपालको ऐतिहासिक संविधान सभामा प्रतिनिधी गरेका ३८ जना थारू राजनीतिकर्मीहरूले थरूहटका मुद्धाहरूलाई उठाउन नसकेर थरूहट आन्दोलनको उपलव्धिलाई सुरक्षित धरातल प्रदान गर्न नसक्नु जस्ता उदाहरण हेर्न सकिन्छ। अझै पनि थारू समुदायका अगुवाहरू भोट वैकको रुपमा प्रयोग भैरहेका छन्।

निष्कर्ष
अन्तमा थारू समुदायको दुर्दशाको प्रमुख कारण राज्यको विभेदकारी नीति तथा राजनीतिक, प्रशासनिक, नीति निर्माण निकाय, आयोग र पार्टीहरूमा शुन्य अथवा साङकेतिक प्रतिनिधी हुनु हो। राज्यको हरेक संयन्त्रमा त्यस समुदायको शसक्त प्रतिनिधित्व विना राज्यको श्रोत र शक्तिलाई त्यस समुदायको पहिचान जोगाउन र परिवर्तनलाई आत्मसाथ गराउन सम्भव हुन सक्छ। नेपालजस्तो वहुजाति, वहुभाषी र धर्माव्लम्वीहरूको जमात भएको देशमा राज्यको चाहना र राजनीतिक लगानी विना कुनै पनि समुदायको पहिचानलाई उत्थान गर्न सकिदैन। जल, जंगल र जमीन माथिको थारू समुदायको दावीलाई राजनीतिक र आर्थिक अवसरले मात्र मूर्त रुप दिन सक्छ।
विभिन्न सामाजिक, राजनैतिक, आर्थिक, साँस्कृतिक प्रक्रिया र व्यवहारवाट के झल्किन्छ भने थारू समुदाय आफ्नो पहिचान वनाउदै लानुपर्नेमा निमिट्यान्न पार्दै लागेको छ। थारू समुदायको पहिचान जागरुक वनाइराख्न प्रत्येक थरूहट गाँउका स्थानीय वासिन्दाहरूको चेतना बढाउनु र साँस्कृतिक रुपले बलियो बनाउनु एकदमै आवश्यक छ। विगत २५० वर्षदेखि आफनो निधारमथि लेखिएको रैतीको दागले थारू समुदायमा मनोवैज्ञानिक कमजोरी र साँस्कृतिक अवमुल्यन जन्माएको छ। आफनो मौलिक साँस्कृति र ऐतिहासिक सम्भावनाहरूमा विश्वास र गर्व गर्न थालेपछि मात्र यस्तो पराधीन मानसिकताको अन्त्य सम्भव छ। यसरी आधुनिक नयाँ नेपालमा दासताको मानसिकतावाट मुक्त भै नयाँ पहिचानसहित थरूहट क्षेत्रको आर्थिक र राजनीतिक विकासमा सहभागी वन्नुपर्ने देखिन्छ।
आर्थिक राजनैतिक र सामाजिक पहिचानका लागी थारू समुदायमा आफनै विशिष्ट परिस्थिती र आवश्यकतालाई पहिचान र प्रतिनिधित्व गर्ने मौलिक नेतृत्वको निर्माण हुनु आवश्यक छ। त्यसको नेतृत्व समग्र यूवा वर्गले लिनु पर्दछ। यसरी परिकल्पना गरिएको नेतृत्वले कुनै व्यक्ति, पार्टी वा समुह विशेषमा निर्भर नभई व्यापक जनस्तरको अभियान र युवा वर्गबाट उर्जा प्राप्त गर्न सक्दछ। यस्तो नौलो सम्भावनाको धरातल अन्त कतै नभई आन्तरिक रुपवाट सवल र मनोविज्ञान र चेतनामा आधारित हुन्छ। यस प्रकारको युवा जागरण ल्याउन थारू कल्याणकरिणी सभाले अभियान चलाउनु पर्दछ, जहाँ नेतृत्व वर्गले कुनै पनि राजनीतिक पार्टीको स्वार्थभन्दा माथि थरूहट क्षेत्र र समग्र थारू समुदायको वास्तविक धरातलमा उभिएर, समुदायको पहिचान निर्धारण गर्न सक्छ। यसै अभियानले थारू समाजको वस्तुस्थितीमा टेकेर यहाँको विद्यमान राजनीतिक, प्रशासनिक, सरकारी तथा गैर सरकारी क्रियाकलाप तथा नयाँ नेपालको विकास क्रमलाई समालोचना गरिनुपर्छ।

साभारः थारु संस्कृति, अंक २३ (२०६९)

One thought on “थारू समुदायमा देखिएका पहिचानका सबाल

  1. I agree, Due to adoptation of new technology, modernity and globalisation process, idenntity of Tharu society is in a tranisition. However, we have to think how we can develop our new generation. otherwise, after 10 years, there would be not any Tharu society, nor Tharuhat land. because nepali politics already diminish Tharuhat land, and Tharu society itseld disappearing their our idenity. Tharu Kalyarkarini Sabha has not any plan of about Thatuhat Geopolics.

Leave a Reply

Your email address will not be published.