विपक्षी कार्यकर्ताद्वारा दुबै माओवादीको कार्यालयमा तोडफोड र आगजनी

दैलेख- बिहानैदेखि तनावग्रस्त रहेको दैलेखमा विपक्षी दलका नेता-कार्यकर्ताले एकीकृत नेकपा माओवादी र नेकपा-माओवादीको यहाँ स्थित दलको कार्यालय तोडफोड गर्दै आगजनी गरेका छन्। यहाँ आएका माओवादीका शीर्ष नेताहरु काडमाडौं फर्किएका छन् भने प्रशासनले कर्फ्यु लगाउने सम्भावना बढेको छ। यसअघि सरकार विरोधी दलहरुको सभा गर्दै माओवादी सभालाई ओझेलमा पार्दिएका थिए।

एकीकृत नेकपा माओवादीको सभा सकिएको छ। सभा सकिएपनि ठूलो समूहमा आन्दोलनमा उत्रिएका जनसमूहको कारण नेताहरु बाहिर निस्कनसमेत कठिन भएको थियो। सभाकै क्रममा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठमाथि ढुगा प्रहार भएको थियो। उनलाई कालो झन्डा देखाएपछि भिड तितरवितर पार्न प्रहरी परिचालन गरिएको थियो। झडपमा कति घाइते भए यकिन हुन सकेको छैन।

माओवादी कार्यकर्ताले दैलेखको ‘हाम्रो तेस्रो आँखा’ दैनिक र जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा माओवादी कार्यकर्ताले गरेको आक्रमणबाट दुई कर्मचारी सहित २४ जना घाइते भएका छन्। कार्यालयभित्रै पसेर उनीहरुले लठ्ठी र ढुंगाले आक्रमण गरेको छ।

सरदमुकामस्थित एमाओवादी कार्यालय नजिकका घर-घरमा छिरेर प्रहरीले निर्दोष सर्वसाधारणलाई कुटपिट गरेको छ। डिएसपीको कमाण्डमा खटिएको प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गर्दा १२-१३ जना घाइते भएका छन्। घरै बसिरहेका वृद्ध वृद्धा समेत घाइते भएको प्रत्यक्षदर्शीले जनाएका छन्।

एनेकपा माओवादीका उपाध्यक्ष तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आमसभालाई सम्बोधन गरिरहेको बेला विपक्षी दलका विद्यार्थी संगठनहरुले कालो झण्डा देखाएका छन्। कालो झण्डा देखाउनेहरुलाई माओवादी कार्यकर्ताले आक्रमणमा उत्रँदा आमसभास्थलमा झडप भइरहेको छ। यसैअघि प्रधानमन्त्री बाबुराम भट्टराईसहित एमाओवादीका शीर्ष नेता चढेको हेलिकोप्टर दैलेखमा ल्याण्ड गरेका थिए।

Leave a Reply

Your email address will not be published.