साढे तीन अर्बभन्दा बढी मूल्यको चिरुका रौँ बरामद

नारायण न्यौपाने, काठमाडौं- गोरखाको उत्तरी भेगबाट बरामद गरिएको दुर्लभ जनावर चिरुका एक हजार १५० किलोग्राम रौँ (साहतुस) सार्वजनिक गरिएको छ। सो परिमाणको रौँको अन्तर्राष्ट्रिय मूल्य करिब रु तीन अर्ब ६० लाख रहेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गोरखा जिल्ला थुमी गाविसका क्योरपानी र सोतीबाट सो रौं बरामद गरेको हो। चारहजार मिटरभन्दा माथिको उचाइमा पाइने चिरु हरिण प्रजातिको दुर्लभ जनावर हो।
यो खासगरी नेपाल, भारत र चीनको स्वशासित क्षेत्र तिब्बतमा मात्र पाइने लोपोन्मुख जनावर हो। नेपालमा भने अन्नपूर्ण क्षेत्रमा यो जनावर केही मात्रामा पाइने राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्षण विभागले दाबी गरेको छ। यो जनावरको शरीरबाट प्राप्त हुने ऊनलाई राजा ऊन भन्ने गरिन्छ। झट्ट हेर्दा सुनौलो रङ्ग देखिने यो जनावरको रौँ निकै मुलायम र सिल्कदार हुनेगर्छ।
पछिल्लो समयमा चिरुको सङ्ख्यामा ५० प्रतिशतले घटेको बताइएको छ। यसको रौं अत्यन्त न्यानो हुने र त्यसबाट उत्पन्न हुने तापबाट पक्षीका अन्डा केही दिन राखिएमा स्वतः बच्चा कोरल्ने बताइन्छ।
एउटा चिरुबाट १५० ग्राम रौँ निस्कन्छ। चिरुको रौँबाट बनाइने सल विश्वकै अत्यन्त महँगो र बहुमूल्य सलमा गनिन्छ। चिरुको २०० ग्रामको एउटा सल बनाउनका लागि कम्तीमा चारवटा चिरु आवश्यक पर्छ, जुन सलको मूल्य अन्तर्राष्ट्रिय बजारमा २० हजार अमेरिकी डलरसम्म पर्ने बताइन्छ।
वन्यजन्तुको अवैध ओसारपसारमा संलग्न तस्कर समूहले खासगरी तिब्बत क्षेत्रमा चिरु मारेर त्यसबाट प्राप्त हुने ऊन नेपालको बाटो हुँदै भारत र पाकिस्तानसम्म पुर्‍याउने गर्दैआएको बुझिएको छ। भारत र पाकिस्तानमा सोको रौँबाट सल बनाएर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइने अनुमान गरिएको छ।
बरामद गरिएको ऊनको परिमाण हेर्दा कम्तीमा सात हजारवटा चिरु मारेर रौँ सङ्कलन गरिएको हुनुपर्ने वन मन्त्रालय र नेपाल प्रहरीको दाबी छ। आश्चर्य लाग्दो कुरा के छ भने जङ्गली जनावरको चोरीपैठारीमा संलग्न गिरोहले अन्य जनावरको अवैध व्यापार नेपाल हुँदै चीनतर्फ गर्छन् भने चिरुको रौँ तिब्बतबाट नेपाल हुँदै भारत र पाकिस्तान पुर्‍याउँदै आएका प्रमाण फेला परेका छन्।
ब्युरोका प्रहरी निरीक्षक भोलाकुमार भट्टको नेतृत्वमा खटिएको टोलीले चिरुका करिब २५ किलोग्राम तौल भएका ४६ वटा रौँका पोका गोरखाको दुर्गम गाउँमा भण्डारण गरी राखिएको अवस्थामा बरामद गरी काठमाडौँ ल्याएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज यहाँ एक पत्रकार सम्मेलनमार्फत बरामद गरिएको चिरुको रौँसहित सोको अवैध धन्दामा संलग्न रहेको आरोपमा केही व्यक्तिलाई सार्वजनिक गरेको हो। चिरुको अवैध कारोबारमा संलग्न भएको ठहरिएमा पाँचदेखि १५ वर्षसम्म कैद र रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना हुने कानुनी प्रावधान छ।
ब्युरोका प्रमुख केशबहादुर शाहीले अहिलेसम्म बरामद गरिएका जङ्गली जनावरको रौँ यो नै ठूलो परिमाण र मूल्यको भएको बताए। चिरुको कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ पर्नेमा गोरखा, थुमी–८ का पूर्णजङ गुरुङ र केउरुपानीका शर्मिला बराम छन्। रासस

Leave a Reply

Your email address will not be published.