बेपत्ता भएका चार बालिका भारतको सीतामढीमा भेटिए

नागेन्द्र चौधरी/बारा।

बाराको सिमरास्थित पब्लिक इंलिस स्कुल पढ्ने चार जना छात्रा भारतको सीतामढीमा भेटिएका छन्। छुट्टिपछि घर फर्किएका उनीहरु घर नगई वीरगन्ज रक्सौल हुँदै सीतामढी पुगेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कुमार कार्कीका अनुसार रातभरिको खोजीपछि उनीहरु त्यहाँ रहेको जानकारी पाएका थिए।

अबेरसम्म घर नफर्किएपछि अभिभावकहरुले प्रहरीलाई खबर गरेका थिए। बेपत्ता हुनेमा गढीमाई नगरपालिका-७ जितपुरकी कक्षा पाँच पढ्ने ११ वर्षीय जिया गुप्ता, उनकै बहिनी युकेजीमा पढ्ने पाँच वर्षीया पिहुँ गुप्ता, गढीमाई नगरपालिका-१, सिमराकी कक्षा पाँच पढ्ने १२ बर्षीया रविना श्रेष्ठ र गढीमाई नगरपालिका-२, नरबस्ती घर भएकी कक्षा पाँचमै पढ्ने ११ वर्षीया स्नेहा सिंह सामूहिक रुपमा बेपत्ता भएका थिए।

सीतामढीको चाइल्ड केयरमा रहेको र भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइने कार्कीले जानकारी दिए। बालिकाहरु सिमराबाट माइक्रो चढेर बिरगंज, बिरगंजबाट रिक्सा चढेर रक्सौल पुगेका थिए। त्यहाँबाट ट्रेन चढेर भारतको सीतामढी पुगेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published.